दलित विद्यार्थी भर्ना नगर्ने गरुकूलविरुद्धको आन्दोलन शान्तिपूर्ण बनाइने

विभेद बिरुद्ध अभियान - जेष्ठ १४ -झापाका मानवअधिकारकर्मी तथा पेसाकर्मीहरुले दलित बालकलाई भद्रपुरस्थित गुरुकूलले भर्ना नलिएको विषयप्रति स्थानीय प्रशासन र सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
गुरुकूलमा भएको घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरित रहेको निष्कर्षसहित उनीहरुले पीडितलाई न्याय र वार्ताबाटै समस्या समाधानमा जोड दिएका छन् ।झापाको भद्रपुर–६ स्थित श्री कृष्ण द्वैपायन गुरुकूल वेद विद्याश्रममा इलाम बरबोटे–५ का आठ वर्षीय अनाथ विकास कार्कीढोलीलाई आवासीय भर्ना लिन इन्कार गरेपछि दलित अधिकारकर्मीहरु आन्दोलित भएका हुन् । समस्या समाधानका लागि संवाद् समूह झापाको संयोजनमा  सोमबार बिर्तामोडमा छलफलमा सहभागीले अब सबैखाले विभेदको अन्त्य झापाबाटै शुरु गर्नुपर्नेमा जोड दिए ।
गुरुकुलले गरेको उक्त विभेदविरुद्ध झापाका दतिल अधिकारकर्मीले पाँच सय ५१ सदस्य गुरुकुल जातीय विभेद संयुक्त संघर्ष समिति र २१ सदस्यीय सचिवालय बनाएर संघर्ष गरिरहेका छन् । संघर्ष समितिका संयोजक तथा नेपाल उत्पीडित विद्यार्थी संगठनका केन्द्रीय अध्यक्ष टीकाराम मग्रान्तीसहित संघर्षरत् पक्षले घटनाबारे अधिकारकर्मीलाई जानकारी गराएका थिए ।
प्रदेश नं. १ कि प्रदेश सभा सदस्य जसमाया गजमेर, वरिष्ठ अधिवक्ता तथा झापा बारका पूर्व अध्यक्ष टंक उप्रेती, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, पूर्वाञ्चल मानव अधिकार रक्षक परिषद्का सहसंयोजक एवम् मानव अधिकार सञ्जाल झापाका सचिवालय प्रमुख विष्णु खरेल, राष्ट्रिय मानवअधिकार प्रतिष्ठान झापाका उपाध्यक्ष राम मैनालीले ती बालकलाई गुरुकुलमा भर्ना नलिएको घटना अपराध भएको बताए ।
छलफलपछि संघर्षरत् पक्षले आन्दोलनका कार्यक्रमलाई शान्तिपूर्ण बनाउने, सरोकारवालाहरुबीच संवाद र छलफलबाटै समस्याको उचित निकास खोज्ने, उक्त घटना संविधान र सामाजिक न्यायको सिद्धान्त विपरीत रहेको ठहर गर्दै पीडितलाई न्याय र झापामा विभेदमुक्त समाज निर्माणको अभियानमा अग्रसर हुने प्रतिबद्धता जनाइएको छ ।
२०७२ सालमा जारी नेपालको संविधानले प्रत्याभूत गरेको मौलिक हक अन्तर्गत बिना कुनै भेदभाव शिक्षा लिन पाउने हक हुने उल्लेख छ ।
दलित अधिकारकर्मीहरुले सबै गुरुकुलमा बिना भेदभाव दलित विद्यार्थीले पढ्न पाउनुपर्ने आवाज उठाएका छन् । उनीहरुले आफ्नो संघर्षलाई शान्तिपूर्ण रुपमा अघि बढाउँदै सामाजिक सद्भावको पक्षमा रहेको समेत प्रतिबद्धता जनाएका छन् ।
दलितको घरमा ब्राह्मण जातिका पुरोहितले कर्मकाण्ड गर्न नमान्ने भएकाले आफ्नै समुदायबाट पुरोहित तयार गर्न गुरुकुलमा पठनपाठनको अनुकूल वातावरण बनाइनुपर्ने उनीहरुको भनाइ छ । छलफलको सहजीकरण संवाद समूह सचिवालयका सहजकर्ताद्वय पत्रकार महासंघ झापाका उपाध्यक्ष एकराज गिरी र अधिवक्ता खगेन्द्र खरेलले गरेका थिए ।

No comments:

Post a Comment