मुल्य चुकाउदै बित्यो हाम्रो तिन दशक - गोपाल शिवा

विभेद बिरुद्ध अभियान - बैसाख २९ गते - आज एकजना गोरखा तिरका दाईं संग भेंट भयों । ५ बर्ष क़तार , ४ बर्ष साउदी र ५ बर्ष कुवेत बसेर फर्किन लागेका रैछन दाईं ।  परिवारको भरणपोषणका लागि संघर्ष, दुःख, शोषण  र परिवारसँगको विछोडका पीडा ले मनभरि उकुस-मुकुस भएर सहेर यसरी १४ बर्ष विदेश बसेका दाइँ पछिल्लो केहि समय देखि श्रीमती संगको सम्बन्धमा स्खलन आएका कारण सम्बन्धबिच्छेद गर्न भनेर जान लागेका रैछन। जसको  खुसि र समृद्दीको लागि भनेर आए तिनैले म देखि एक्लिएर बस्छु भन्न थाले ...बोल्दा बोल्दा दाइँ भावुक भए । त्यसो त २ बर्ष अघि कुबेत बाट स्वदेश फर्किएपछि नै श्रीमान् श्रीमतीको चित्त नमिलेको रहेछ । थामथुम पार्ने लाखौ प्रयासहरु निरथक भए पछि हार मानेर श्रीमतीले नै सम्बन्ध बिच्छेद गर्न आउ कि आउ भनेर अड्डी गरेकाले दुखी मन लुकाउँदै जान लागेका रैछन दाइ ।१४ बर्षको वैदेशिक रोजगारीले आफुले व्यहोर्न लागेको क्षतिको आत्मसमीक्षा गर्दै दाइ घर फर्किदै रहेछन....कस्तो बिडम्बना ।!

त्यसो त यी दाइ नेपाली समाजको एउटा प्रतिनिधि घटनाको पात्र मात्र हुन् | वैदेशिक रोजगारीले गर्दा मुलुकले, समाजले व्यक्तिले चुकाउनुपरेको यस्ता कयौ घटनाहरु छन् । केहि अघि रोल्पामा बैदेशिक रोजगार बाट श्रीमान आउने बेलामा भएभरको सम्पति कुम्ल्याएर साना साना बालबच्चाको परवाहै नगरी अर्कैसँग श्रीमती टाप कसेको  समाचार लेखे ।  अनि श्रीमती बालबच्चाहरुलाइ नसम्झी खर्च बर्च नपठाइ सम्पर्कविहीन बनिदिने एव आफूले कमाएको सबै पैसा अरु रक्सी र तरुनीहरुलाई खुवाएर बिल्लीबाठ हुने  धेरै श्रीमानहरुका उदाहरणहरु पनि प्रसस्त देखे  । त्यति मात्र हैन यो तिन दशकमा बैदेशिक रोजगारीले कति बाटा त बने तर सँगसँगै कति सम्बन्ध र घरवार भत्किएका छन् , कति पारपाचुके भएका छन्, कति महिला विधवा भएका छन्, कति बच्चा अनाथ भएका छन्, आमाबाबुको मायाबाट कति कलिला बालबच्चा बञ्चित भएका छन्, कति विदेशको जेलमा छन्, कति वृद्ध बुबाआमाले तन्नेरी युवाको दाहसंस्कार गर्नुपरेको छ , कति कलिला युवा जेलमा परेका छन्, कति हाडनाता करणीको जञ्जालमा परेका छन्, कतिको बेचबिखन भएको छ  ,शारिरीक अथवा मानसिक श्रमको भरिया बन्दा कतिको गुमाऊनु परेको ज्यान बाक्समा फ़र्कीएको छ भन्ने कुराको तथ्यांक घाम जस्तै छर्लंग भैसकेको छ।  

त्यसो त नेपाल सरकारले वि.सं. २०४२ सालमा वैदेशिक रोजगारी ऐन जारी भएपछि मात्रै शुरु भएको  थियो रोजगारीका लागि बाहिर जाने चलन । तर सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको तथ्यांक संकलन भने २०५० सालबाट मात्र राख्न सुरु गरेको थियो । ३  दशकदेखि विशेष रूपमा चर्चामा आएको वैदेशिक रोजगारको विषय नेपालमा दिन दुना रात चौगुना भएर फैलिएको छ ।यो तिन दशकमा ५० लाखभन्दा बढी नेपालीहरू वैदेशिक रोजगारीका लागि विदेशिएका छन् ।यो क्रम अहिले पनि जारि छ  ।अहिले पनि दिनहु १ हजार भन्दा बढी नेपाली दाजुभाइ, दिदीबहिनीहरु घर, परिवार तथा मुलुक छोडेर वैदेशिक रोजगारमा गईरहेका छन् जसको लागि झन्डै ३ दर्जन भन्दा बढी स्वदेशी विदेशी ध्वजावाहक जहाजलाई भ्याइ-नभ्यााइ छ, नेपाली युवालाई अन्तर्राष्ट्रिय श्रमबजारमा पुर्‍याउन । फलस्वरूप  नेपालका  झन्डै ६०  प्रतिशत घरपरिवारमा विदेशबाट रेमिटेन्स भित्रिएको छ । जीडीपीसँगको अनुपातमा तुलना गर्ने हो भने नेपाल विश्वमा बढी रेमिटेन्स भित्र्याउने मुलुकमा टप फाइभमा  नम्बरमा आउँछ ।वैदेशिक रोजगारले एकातिर मुलुकमा विप्रेषण भित्र्याएको छ भने अर्कोतिर यसले गर्दा घर परिवार खास गरि श्रीमान् श्रीमतीबीचको सम्बन्धलाई प्रभावित गरेको छ । सामाजिक बिकृति संगै आज नेपाल तिनै परदेशिएका नेपालीहरुको विप्रेषण अर्थात् रेमिट्यान्सको भरमा चलिरहेको अवस्था छ । नेपालको अर्थतन्त्र तिनै बिदेसिएका नेपाली दाजुभाइ, दिदीबहिनीहरुले थामिरहेको अवस्था छ । 

वैदेशिक रोजगारीले केही समृद्धि ल्याए पनि यसले समाजमा ल्याएका नकारात्मक असर धेरै छन्। समग्रमा भनु पर्दा वैदेशिक रोजगारका कारण समाजले महंगो मुल्य चुकाएको छ । यसरी नै मुल्य चुकाउदै बित्यो हाम्रो पछिलो तिन दशक । स्थानीय स्रोत र साधनको सदुपयोग गर्दै रोजगारीको अवसर सिर्जना गरी बिदेसिएका सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनीहरुको जमातलाई स्वदेशमा नै परिचालन  गर्न सक्ने दिन कहिले आउला  या नआउला तर यसरी बेरोज़गारी , गरिवी र समश्याका द्विविधा र दुःसाहसको कारण ५/१० बर्ष खाड़ीमा बैस  ,श्रम र सिप बेचेर र्फकंदै गर्दा प्रत्येक नेपालीले एउटा विश्वास लिएर फर्कियोस्, एउटा उच्च मनोबल र ऊर्जा लिएर फर्कियोस् । विचार, संस्कार र आर्थिकका दृष्टिले सही ठाउँमा उभिन सकने भएर फ़र्कियोस ।तर यसरि प्रवासका हरेक पिडा लुकाएर श्रीमान र पिता हुनुको कर्तब्य निर्वाह गर्नुमा, परिवारको खुशीको लागि १४ बर्ष बनबास बस्न नि आनन्द अनुभूत भईरह्ने मनहरु एक्लिएर शखालित नहोस ।वैदेशिक रोजगारीले आफुले व्यहोर्न लागेको क्षतिको आत्मसमीक्षा गर्दै , साक्षि बन्ने गरि कोहि कसैले पनि फर्किन नपरोस ।

No comments:

Post a Comment