शव उठाउने पैसा नहुँदा, ३ दिन पछी चन्दा उठाएर गरियो दाहसंस्कार

विभेद बिरुद्ध अभियान - (प्रेम सुनार) जेष्ठ ३ - गुल्मीको शान्तिपुरमा मजदुरी गर्दै आई रहेकै क्रममा बैशाख २९ गते विहान मृत्यु भएका एक मजदुरको शव आर्थिक अभावका कारण तिन दिनपछि आज सोमवार सदरमुकाम तम्घासमा चन्दा उठाएर अन्यन्यष्टिका लागि पठाईको छ ।चन्द्रकोट गाउँपालिकाको केन्द्र शान्तिपुर वजारमा आफ्नो घर सुर्खेत बताउँदै निर्माणको क्षेत्रमा मजदुरी गर्दै आएका ं४२ वर्षिय सुरज शर्माको शव यसरी चन्दा उठाएर अन्त्यष्टि गर्नु परेको हो ।

उनले गुल्मीको कालिगण्डकी गाउँपािलका वडा नम्वर ४ , पुर्तिघाट निवासी २८ वर्षिया पवित्रा सार्कीसंग तिन वर्ष अघि विवाह गरी शान्तिपुर वजारमा मजदुरी गर्दै आई रहेका थिए । जिल्ला प्रहरी कार्यालयका अनुसार उनकी श्रीमतिसंग उनले जिवित छँदा आफ्नो घर सुर्खेत हो भन्ने भन्दा वाहेक अन्य कुरा अज्ञात राखेका थिए ।“चार वर्ष अघि उहाँले शान्तिपुरमा पुल बनाउँदा आउँदा चिनजान भएको थियो”, मृतककी श्रीमती पवित्राले भनिन्, “त्यसपछि विवाह भयो, मैले उनको अरु घर ठेगाना माग्दा पनि दिनु भएन र घर जाउँ भन्दा पनि मान्नु भएन ।”
उनका अनुसार शर्मा एक वर्ष अघि देखि जन्डिसको विमारले थला पर्दै आई रहेका थिए । समयमा उपचार गर्न नसक्दा थला परेका उनलाई श्रीमती पवित्राले शान्तिपुरको होटलमा जुठा भाँडा माझेर आफु र श्रीमानको पालन पोषण गर्दै आई रहेकी थिईन् ।

चरम आर्थिक संकट वेहोर्दै आएका बेला श्रीमानको मृत्यु हुने दिन पवित्रासंग एक पैसा पनि साथमा थिएन । कोठामै मृत्यु भएकोले प्रहरीले पोष्ट मार्टम गराउनु पर्ने भएपछि उसै दिन जिल्ला अस्पताल तम्घास ल्याउनु परेको थियो ।सार्कीसँग पैसा नभए पछि चन्द्रकोट गाउँपालिकाले ९ हजार रुपैयाँ गाडी भाडा तिरेर शव सदरमुकाम पठाएको थियो । हिजो दोश्रो दिन श्रीमतीलाई झिकाए पछि पवित्राले एक छिमेकी दिदीको सहयोगमा ५ सय रुपैयाँ सापटी मागेर तम्घास आएकी थिईन् ।

हिजो देखि तम्घासमा ओठ मुख सुकाउँदै बसेकी पवित्राको दयानिय अबस्था देखेपछि प्रहरी शव उठाएर अन्त्यष्टि गराउनका लागि स्थानिय संघ संस्थासंग सहयोगका लागि अपिल गरी रहेको थियो । यहि क्रममा अपरान्ह सम्म कतैबाट सहयोग नजुटे पछि जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरिक्षक डाक्टरप्रसाद चौधरीले यसै समाचारदातालाई कार्यालयमा बोलाएर आग्रह गरेका थिए ।

सोही अनुरुप सामाजिक सञ्चालमा यस समाचारदाताले सहयोगको अपिल गर्न साथ गुल्मी केयर विश्व सञ्जालले तत्कालका लागि ५ हजार उपलव्ध गराएको थियो । लगत्तै तम्घासका सामाज सेवी नन्दराम भुसालले १ हजार, गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले संस्थाको तर्फबाट १ हजार सहयोग उपलव्ध गराएको गुल्मी न्युजमा खबर छ  ।

त्यस्तै रेसुङ्गा नगरपालिकाले ३ हजार , तम्घास पुतली बजारको भगवान सप्लायर्शले ५ सय र सन्ध्या शिरक डसनाकी प्रोपराईटर निर्मला केसीले ५ हजार सहित कुल ११ हजार रुपैयाँ संकलन गरी अहिले साँझ प्रहरीले सदरमुकाम नजिकै छल्दी खोलामा उनको अन्त्यष्टि गर्न लगेको छ ।रेसुङ्गा नगरपालिकाको मिनी ट्रिपरमा राखेर उनलाई लगिएको हो । मृतकको परिवारजनको पत्तो नलागेकोले उनलाई वेवरिसे शवका रुपमा प्रहरीले श्रीमतिको रोहवरमा अन्त्यष्टि गर्नु परेको बताएको छ ।

श्रीमानको मृत्यु पछि अहिले अलपत्र परेकी उनलाई किरिया क्रम गर्ने ठाउँ समेत नभए पछि चन्द्रकोट गाउँपालिकाले कुनै स्थान उपलव्ध गराई दिने बचन दिएको पवित्राले बताईन् । उनको माईती घरमा दाजु भाई कसैले पनि हेर विचार गर्दैनन् ।

आमा वुवा नभएको र दाजुले वहिनीको श्रीमान मृत्यु भएको खवर पाउँदा आफु खुशी गएकी हो , हामीलाई के खाँचो भन्दै टर्रो बचन दिएको पवित्राले बताईन् । किरिया खर्चका लागि चन्द्रकोटवासीले सवै संग सहयोगको अपिल गरेका छन् ।

पतिवियोगमा परेकी पवित्राले पनि गहभरी आँशु पार्दै भनिन–‘ अव म कहाँ जाउँ, माईतीले हेर्लान भन्नु पनि छैन, श्रीमानको घर जाउँ भनु भने घर ठेगना केहि थाह छैन, सवैले सहयोग गर्न आग्रह गर्दछु । ’उनको विचल्लीको खवर थाह पाउन साथ जिवन नेपाली अर्याल नाम बताउने विदेशबाट एक व्यक्तिले टेलिफोन मार्फत शव उठाउनका लागि आफुले पुरै दश हजार पठाउने उद्घोष गरेका छन् । उनले भोली पठाउने बताएका छन् । तिन वर्ष अघि विवाह भए पनि उनका सन्तान जन्मेका छैनन् ।

No comments:

Post a Comment