विभेद बिरुद्ध अभियान - जेष्ठ १४ -दलित विवाह गरेकै कारण बाबुको काजकिरिया गर्न पथरी शनिश्चरे मोरङमा एक युवकले समाजको असहयोग र असहिष्णु व्यवहारको शिकार हुनुपर्याे । राज्यद्वारा संरक्षित एक गुरुकुलमा एक दलित विद्यार्थीलाई भर्ना लिन आनेकाने गरिदैंछ । एक्काइसौं शताब्दीमा हामी कस्तो समाजिक भेदभाव गर्दा रहेछौं झापा र मोरङको हालैको यी दुई घटनाले केही कुरा सोच्न समाजलाई बाध्य बनाएको छ । के यो मानव अधिकारको विषय हैन? के यो मानव धर्मको विषय हैन ? के हिन्दूधर्मको सार छुवाछुत हो त? अझ यो राज्यले कानूनी रुपमा यस अघिका सरकारले छुवाछुत अन्त्य गरेको अवस्थामा कम्युनिष्ट सरकारले शासन गरेको बेलामा पनि कानूनको धज्जी उडाउनु के यो चानचुने कुरा हो? हामीले समाज परिवर्तनका खोक्रा नारा घोक्रो सुक्ने गरि कराएर के भो जब समाजका सांस्कृतिक धब्बाहरु हटाउने काममा भने खालो सारिएन भने ।
हिजो युद्धमा पराजित समुदायका मान्छेहरु छानिछानिकन बुढाबुढी केटाकेटी मारिन्थ्यो, काम गर्न सक्ने उमेरकालाई दासदासी र दलित बनाइन्थ्यो । हिन्दू वर्णाश्रम व्यवस्थाले मानिसको श्रमको आधारमा गरिएको वर्गिकरणलाई राज्यका शासकहरुले टाढाबाठा ब्राम्हणहरुको सहकार्यमा आफू अनुकूल धर्मग्रन्थ तयार गर्न लगाई वैदिक हिन्दू परम्पराबाट दूर छुवाछूत प्रथालाई प्रश्रय हुनेगरि वन्दोवस्त गरे । समाजलाई विभाजन गर र राज गर भन्ने सिद्धान्तमा चलेको शासन प्रणालीको सिकार दलित भए । यसले यतिसम्म विकृति ल्यायो कि मान्छेलाई भेडावाख्राझैं किनबेच गर्न पनि हाम्रो समाज पछि परेन ।
हाम्रो देशमा १९८२ मंसिर १४ अघिसम्म यस्ता दासदासी र तिनीहरुका छोराछोरी खुट्टा लागे पछि बेचबिखन पनि गरिन्थे । त्यस्तो अविवेकी समाज थियो हाम्रो । पाश्चात्य इतिहास हेर्दा यदि राजा मर्यो भने त्यसका भारदार पनि सति जानु पर्दथ्यो । हाम्रोतिर वि.स.१९७७ सालभन्दा अघिसम्म पति मर्दा पत्नि सति जानु पर्दथ्यो । यस्तो निष्ठुरी समाज थियो हाम्रो । चन्द्रसमशेरले समाजमा क्रान्तिकारी पहलकदमी उठाएको कुराको इतिहास साक्षी छ । यी सवालहरुले समाजका सबै जाति र वर्गलाई समेटेको हुँदा यसमा फल छिटै देख्न पाइयो । र हामीलाई ती कुराहरु सुन्दा पत्याउँ कि नपत्याउँ हुन्छ ।
तर आर्थिक र साँस्कृतिक रुपले अत्यन्त निम्न तहमा पारिएका दलित समुदायप्रति समाजले गर्ने व्यवहारमा कानूनी अट्चन नभए पनि साँस्कृतिक व्यवधानले रोकेको अवस्था छ । यो सास्कृतिक परिवर्तन ल्याउन आज संचार जगतले राम्रो भूमिका खेलेको छ । झापाका पर्वत पोर्तेल र मोरङका गणेश लम्साल लगायतले दलितसम्बन्धी सवालमा आवाज बुलन्द पारेका छन् । मंत्री दलितको घरमा गएर बास बसेर वा एक छाक खाएर मात्र भएन ।
समाजले स्वीकार गर्ने वातावरण बनाउन अन्य सामाजिक पहलको पनि जरुरी छ । जनचेतना फैलाउन धर्मगुरु, पंडितहरुलाई नै हिन्दू धर्मको मर्म अनुरुप सामाजिक भेदभाव छुवाछुत हटाउन अघि नसारेसम्म अरुले मात्र गरेर बल पुग्दैन । हो यसमा वौद्धिक वर्ग, प्राज्ञिक जगतले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्छन् । सकारात्मक दृष्टिकोण भएका हिन्दु पंडितहरुलाई प्रशिक्षक प्रशिक्षण गरेर राज्यले नै अगुवाई गरिदिए दलितको उद्धार हुने थियो । दलितको सांस्कृतिक भेदभाव अन्त्य गर्न आर्थिक स्थितिमा सुधारको पनि आवश्यकता पर्ने भएकाले यसमा बहुपक्षीय पहलकदमीको आवश्यकता महसुस हुन्छ ।
No comments:
Post a Comment