पानी छोएको आरोपमा कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी

विभेद बिरुद्ध अभियान -  वैशाख २१ गते -वर्दिवास नपा-४ माईस्थान भब्सी हवल्दार टोलकी ३२ वर्षीया बुद्धमाया विश्वकर्मा र उनकी १६ वर्षीया छोरी मनिषा विश्वकर्मालाई धारामा पानी छोएको निहुँमा सोही ठाउँका ३३ वर्षीया कमला गिरी र उनकी १७ वर्षीया छोरी दिपिका गिरीले कुटपिट गरेको भन्दै पीडित पक्षले वैशाख २० गते बर्दिवास नगरपालिकाको न्यायिक समितिमा उजुरी दिएकी छन् ।

पीडित मनिषाका अनुसार वैशाख १५ गते साँझ सार्वजनिक धारामा पानी भर्न जाँदा दीपिकाले पानी भरिरहेकी थिइन् र सोही समय आफू पनि धारामा पानी लिन गाग्री बोकेर पुग्दा दिपिकाले ‘देवतलाई चढाउन र खान भरेको चोखोपानी’ किन छोएको भन्दै गाली गर्दै कुटपिट गरेकी हुन् ।

मनिषाकी आमा घटना भएको भोलिपल्ट वैशाख १६ गते आफ्नो छोरीलाई पानी छोएको निहुँमा कुटाई खानुपरेको भन्दै गाउँका भद्रभलादमी, अगुवाहरूबाट न्यायको लागि गुहार माग्न गएकी थिइन् । त्यति नै बेला कमला गिरीले बुद्धमायालाई पनि जगल्टा समातेर कुटपिट गरेको पीडितले आरोप लगाइन् ।

घटना वैशाख १५ र १६ गतेको भएपनि वैशाख २० गते न्यायिक समितिमा दिएको मौखिक उजुरीका आधारमा घटना बुझ्न बर्दिवास नगरपालिकाका सदस्य सूर्य विश्वकर्मा, न्यायिक समितिका सदस्य चन्द्रबहादुर विश्वकर्मा, सोही नपा-४ का वडा अध्यक्ष दिपबहादुर कार्की र दलित अधिकारकर्मीले पीडितको घरमा गएपछि मात्र घटना सार्वजनिक भएको हो ।

वडा अध्यक्ष कार्कीले घटनाबारे बुझेर, छानबिन पश्चात कारबाही प्रकृया अघि बढाउने बताए । उनले नगरपालिकाको न्यायिक समितिमा छानबिन पश्चात दोषीलाई आवश्यक कारबाही गरिने बताए ।

पानीको अभाव रहेको उक्त टोलमा सार्वजनिक धारामा गैरदलितले पानी भर्ने र दलितले पानी भर्ने समय छुट्टाछुट्टै निर्धारण गरिएको संयुक्त दलित सञ्जाल वर्दिवासका सदस्य विष्णु रसाइलीले बताए ।

रसाइलीले भने- ‘माईस्थानमा गैरदलितले पानी भर्दा दलितले भर्न पाउँदैनन् र दलितले पानी भर्दा गैरदलितहरूले पालो मिचेर गाईबस्तुलाई खुवाउने भनेर पानी भरेर समस्या खडा गर्छन् ।’

No comments:

Post a Comment