अज्ञात रोगका कारण झापाको टेक्रास्थित मुसहर बस्तीमा दुई जनाको मृत्यु ,७ जना सिकिस्त

विभेद बिरुद्ध अभियान -असोज १५ ।  -पहिचान हुन नसकेको रोगका कारण झापाको कनकाई नगरपालिका ४ टेक्रामा दुई जनाको मृत्यु भएको छ । अन्य ७ जना सिकिस्त बिरामी परेको कनकाई नगर प्रमुख राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार मृत्यु हुनेमा टेक्रास्थित मुसहर बस्तीका २४ वर्षीय बसन्ती ऋषिदेव र २३ वर्षीय नारायण ऋषिदेव रहेका छन् । नगर प्रमुख पोखरेलका अनुसार बसन्तीको शनिबार राति तथा नारायणको सप्तमीको राती मृत्यु भएको हो ।

उनीहरु दुवैलाई टाउको दुख्ने, ज्वरो आउने, हातखुट्टा लुलिने र रगतसहितको वान्ता भएको थियो । ४ दिनमा दुई जनाको मृत्यु भएको तथा अन्य गाउँले बिरामी हुँदा मुसहर बस्ती त्रसित बनेको छ । रोगका कारण ३० वर्षीय दुर्गा ऋषिदेव, २४ वर्षीय मेनुका ऋषिदेव, २२ वर्षीया राधा ऋषिदेव, मृत्यु भएकी बसन्तीकी १० वर्षीय छोरा सागर, ४४ वर्षीय सुरेन्द्र ऋषिदेव, २४ वर्षीय जीवन ऋषिदेव र ३० वर्षीया ललिता ऋषिदेव सिकिस्त बिरामी परेका हुन । उनीहरुलाई घरमै धामी झाक्री लगाई झारफुक गरिएको थियो । रोग फैलिएकोबारे थाहा पाएपछि आइतबार नगरपालिकाका प्रमुख पोखरेलसहितको स्थानीयको टोलीले बिरामी सबैलाई उपचारका लागि भद्रपुरस्थित मेची अञ्चल अस्पताल लगिएको छ ।

उनीहरुले आफ्ना कुलदेवता बिग्रिएकोले यस्तो रोग लागेको भन्दै बिरामीलाई झारफुक गर्दै बसेका थिए । रोग लाग्ना साथ उपचार नपाएकाले बिरामी सबैको अवस्था गम्भीर बनेको नगर प्रमुख पोखरेलले बताउनुभयो । जिल्ला जनस्वास्थ्य कार्यालयका महामरी रोगका फोकल पर्सन कुलबहादुर पौडेलले रोग फैलिएकोबारे जानकारी लिने काम भइरहेको बताउनुभयो । उहाँले बिरामीहरुमा देखिएको लक्षणका आधारमा तत्कालै यही रोग लागेको हो भनेर यकिन गर्न नसकिएको बताउनुभयो । घटनाबारे अनुसन्धानका लागि तत्काललाई कनकाई प्राथमिक स्वास्थ्य केन्द्रका अहेब इन्द्र भट्टराई र नगरपालिकाका हेल्थ असिष्टेण्ड राजिव विष्टलाई खटाइएको जानकारी दिनुभयो । आफूहरुसहितको स्वास्थ्य टोली सोमबार घटनास्थलमा पुग्ने पौडेलले जानकारी दिनुभयो ।

No comments:

Post a Comment