अन्तरजातीय विवाह गरेको आरोपमा कुटिएका बिक परिवारलाई इन्सेकद्वारा सहयोग

विभेद बिरुद्ध अभियान -  सुर्खेत-असोज २६ गते,अन्तरजातीय विवाह गरेको आरोपमा केटी पक्षबाट कुटपिट गरिएका बराहताल गाँउपालिका-८ का २५ वर्षीय बलबहादुर बिक, ५७ वर्षीय बुवा भक्तबहादुर बिक र ४८ वर्षीया आमा अमृता बिकको परिवारलाई इन्सेकले असोज २६ गते आर्थिक सहयोग उपलब्ध गराएको छ ।कुटपिट बाट घाइते बिक परिवारलाइ औषधि खर्च बापत इन्सेक जिल्ला प्रतिनिधि दुर्गा थापाले बिक परिवारलाई ५ हजार रुपियाँ प्रदान गरेका हुन् । सहयोग प्रदान कार्यक्रममा साविक कुनाथरी गाविसका पूर्व अध्यक्ष ताराकेशर गौतमलगायतको उपस्थिति रहेको थियो । दैलेखको दुल्लु नपा-१३ की २७ वर्षीया रम्मा शाहीसँग बलबहादुरले असार २४ गते अन्तरजातीय विवाह गरेको आरोपमा शाहीका आफन्तले गत भदौ २४ गते राति बिकका परिवारलाई घरैमा गएर कुटपिट गरेका थिए ।

पीडित परिवारले जातीय भेदभाव तथा छुवाछुत (कसुर र सजाय) ऐन २०६८ अन्तर्गत असोज २ गते रम्माका आफन्त २८ वर्षीय धर्म शाही, २२ वर्षीय मोहन शाही र नन्दा शाहीविरुद्ध उजुरी दिएपनि घटनामा संलग्न व्यक्तिको खोजी कार्यमा प्रहरीले ढिलासुस्ती गरिरहेको भक्तबहादुरले आरोप लगाए ।

जिल्ला प्रहरी कार्यालयका एसपी मोहन आचार्यले आरोपितको खोजी कार्य भइरहेको प्रतिक्रिया दिएका छन् । भक्तबहादुरले तत्काल आरोपितलाई गिरफ्तार गरी कारबाहीको दायरामा ल्याउनका लागि पहल गरिदिन अधिकारकर्मी र सञ्चारकर्मीलाई आग्रह गरेका छन् । कुटपिटको घटनापछि बलबहादुर र उनकी पत्नी रम्मा असुरक्षित भएको भन्दै एक महिनादेखि गाउँघरमा लुकेर बस्दै आएका छन् ।

No comments:

Post a Comment