बिक्दैन दलितको दूध ,डेरीले लिन नमानेपछि किसानलाई मर्का

विभेद बिरुद्ध अभियान - आश्विन ३१ , २०७४-गीता बम्रेलका बारीभरि फलेका तरकारी र फलफूल कहिल्यै खेर जाँदैनन् । किनकि उनी तिनलाई सजिलै नजिकैको ग्रामीण बजार पुर्‍याएर बेच्न सक्छिन् । आयआर्जनको राम्रै माध्यम बनेको छ तरकारी खेती । यसभन्दा बढी आम्दानी दिन सक्ने अर्को व्यवसायको सम्भावना पनि छ उनीसँग, दूध उत्पादन र बिक्री वितरण । उनले भैंसी पालेकी छन् । तर, दलित भएकै कारण यो व्यवसाय अघि बढाउन पाएकी छैनन् । आफ्नै गाउँमा दूध बेच्न पाउँदिनन् बम्रेलले । ‘मेलापात, तरकारी बेचबिखन सबै चल्छ यहाँ तर दूध चल्दैन,’ उनी भन्छिन्, ‘हाम्रा भैंसीले दिएको दूध अछूत हुन्छ रे ।’
तानसेन नगरपालिका–१४, अर्गलीको दलित समुदाय अझै पनि जातीय विभेद खेप्दै छ । यहाँ झन्डै ७० परिवार दलित छन् । उनीहरू सबैको मुख्य पेसा कृषि हो । नजिकैको ग्रामीण बजार देउरालीमा दूध डेरी खोलिएको छ । और्व दूध उत्पादक समूहले सञ्चालन गरेको उक्त डेरीमा दलित समुदायबाहेक सबैले उत्पादन गरेको दूध संकलन हुन्छ । दलित कृषकले पनि डेरीमा आफूहरूले उत्पादन गरेको दूध संकलन गराउन प्रयत्न नगरेका होइनन् । ‘तर, अनेक बहाना देखाएर पन्छाउँछन्,’ गीताले भनिन् ।
देउराली बस्ने इन्दिरा शाही समुन्द्री पनि भैंसीको दूध बेचेर घर खर्च चलाउन चाहन्छिन् । डेरीले नलिएपछि दूध खेर जाने गरेको उनले बताइन् । ‘एक्लै छु, कति मात्रै खानु ?’, उनी भन्छिन्, ‘दलित भनेर लिनै मान्दैनन्, त्यत्तिकै खेर जान्छ ।’
कृष्ण दर्जी नेपालीलाई पनि आफैं दूध व्यवसाय सञ्चालन गरेर आत्मनिर्भर बन्ने चाहना थियो । प्रयास पनि नगरेकी होइनन् । तर, डेरीले दूध लिने छाँट नदेखेपछि भैंसी पाल्ने सोचै त्यागिन् । अहिले उनी गाउँकै तरकारी किनेर बजारमा बेच्छिन् । ‘हाम्रो श्रम मात्रै बिक्छ, न दूध बिक्छ न घिउ,’ उनी भन्छिन्, ‘अचेल दूधेलो भैंसी पाल्ने जाँगर मरिसक्यो ।’
तानपा–१४ अर्गली दलित समन्वय समितिका अध्यक्ष प्रेम शाही समुन्द्रीले कागजी रूपमा विभेदमुक्त भनिए पनि आफ्नै गाउँमा व्यापक विभेद भइरहेको गुनासो गरे । दलित समुदायको दूध नियतवश डेरीमा संकलन गर्न नदिइएको उनको आरोप छ । ‘अध्यक्षसँग दलित समुदायले उत्पादन गरेको दूध किन लिनुहुन्न भनेर धेरैपटक अनुरोध गरें,’ उनले भने, ‘विचार गर्छु भन्दै कुरा टार्ने प्रवृत्ति छ ।’ और्व दूध उत्पादक समूहका अध्यक्ष राधाकृष्ण भट्टराई डेरीमा दलित समुदायको दूध संकलन गर्दा व्यापार घाटामा जाने हाकाहाकी बताउँछन् । ‘दलितको दूध आए हाम्रो बिक्दैन,’ उनले भने, ‘यहाँ ठूला पदमा बस्नेहरू पनि दलितले दिएको दूध खान इच्छुक छैनन्, हामीले के गर्ने ?’
तानपा १४ वडाध्यक्ष कमल रानाले जातीय आधारमा विभेद गर्नु कानुनी अपराध रहेको स्विकार्दै छिट्टै समस्या सुल्झाउन आफू प्रयत्नशील रहेको बताए । ‘गाउँका हरेक हिस्सामा हरेक समुदायको उत्तिकै हक छ,’ उनले भने, ‘दलित समुदायले सम्मानपूर्वक व्यवसाय चलाउन पाउनुपर्छ ।’
नगरका मेयर अशोक शाही भने आफ्नै वडामा भइरहेको विभेदबारे अनभिज्ञ छन् । यद्यपि उनले जुनसुकै प्रकारको विभेदलाई अपराध भन्दै छिट्टै यसबारे खोजीनीति गर्ने बताए । ‘नगरपालिकालाई सम्पूर्ण रूपले विकसित बनाउने हाम्रो योजना छ,’ शाही भन्छन्, ‘मानवीय विभेदजस्तो कुसंस्कार नहटाएसम्म त्यो सम्भव छैन ।’-मधु शाही /कान्तिपुर बाट

No comments:

Post a Comment