जातीय विभेद हटाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र

विभेद बिरुद्ध अभियान - (नरी बडु) बैतडी, असोज २४ – मेलौली नगरपालिका-९ का स्थानीयले लैङ्गिक र जातीय विभेद हटाउन माग गर्दै असोज २४ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।स्थानीय क्षेत्रमा तिहारको समयमा लैङ्गिक र जातीय विभेद हुने गरेको भन्दै स्थानीय ६९ जनाको हस्ताक्षरसहित मेलौली नगरपालिका-९ का वडा सदस्य भिमदत्त भट्टले प्रमुख जिल्ला अधिकारी शिद्धराज जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् ।

उक्त क्षेत्रमा वर्षभरिमा छोरा जन्मएका अभिभावकले तिहार अन्तर्गत औँसीको दिन एउटा खसी स्थानीयलाई दिनुपर्ने बाध्यात्मक संस्कार रहिआएको छ । गाँउमा रहेका दलितहरूलाई पनि छिटो (पानी छर्किने) चलन रहेको वडा सदस्य भट्टले बताए ।“छोरा जन्मेपछि जस्तोसुकै आर्थिक अवस्था भएपनि एउटा खसी दिनुपर्ने चलन छ । मासु सबैको भाग लागाइन्छ । उक्त भोज सभामा सहभागी दलित समुदायका व्यक्तिहरूलाई पनि छिटो हाल्ने (पानी छर्किने) सम्मको कूसंस्कार छ ।”-स्थानीय जनकराज भट्टले भने ।

करिब ३ सय गैरदलित र ४० दलित परिवार रहेको उक्त वडामा वर्षेनी ३० देखि ५० ओटा खसीहरू काट्ने गरिएको स्थानीय केशव भट्टले बताए ।यो कार्यले ०७३ सालको तिहारमा दलित समुदायका व्यक्ति र गैरदलित समुदायका व्यक्तिहरूबिच भनाभन् समेत भएको भट्टको भनाई छ । छोरा भएपछि मात्रै खसी दिने चलनले छोरीप्रति विभेदपूर्ण व्यवहार भएको स्थानीयको गुनासो छ ।

यदि कुनै छोरा हुने परिवारले गाँउलेहरूलाई खसी नदिएमा सामाजिक रूपमा हेला गर्ने गरेको स्थानीय व्यक्तिहरूको आरोप छ । उक्त प्रथाको समर्थनमा बढी व्यक्तिहरू भएकाले समस्या सृजना भएको स्थानीय हजारी भट्टको भनाई छ ।उनीहरूले जिल्ला प्रहरी, जिल्ला प्रशासनलगायतलाई ज्ञापनपत्रमार्फत उक्त कूसंस्कार हटाउन माग गरेका छन् ।

No comments:

Post a Comment