अन्तरजातीय विवाह गराइदिएको आरोपमा गाउँ निकाला शिक्षक रानाको घरमा आगो लगाउनेहरूले सफाई पाए

विभेद बिरुद्ध अभियान , फागुन ८ .शिवनाथ गाँउपालिका-६ कनालीका ३४ वर्षीय शिक्षक करन रानाको घरमा आगजनी गर्ने घटनाको फागुन ७ गते फैसला भएको छ ।



जिल्ला अदालत बैतडीका न्यायाधीस विष्णुप्रसाद गौतमको इजलासले आरोपित ६ जना (विस्थापित रानाले घरमा स्थानीय मणिलेक उमाविमा शिक्षण गर्दै आएका ४८ वर्षीय राजबहादुर चन्द, सोही विद्यालयमा शिक्षण गर्ने ४० वर्षीय चक्रबहादुर चन्द, श्री हीरापुर मावि बसेडीभ्वाँमा शिक्षण गर्दै आएका ५० वर्षीय जनकबहादुर चन्द, स्थानीय व्यापारी २४ वर्षीय दिपक बहादुर चन्द, स्थानीय व्यापारी ३८ वर्षीय रमेशबहादुर चन्द र स्थानीय ४५ वर्षीय गोकर्ण चन्द) लाई सफाई दिएको छ ।


अदालतले घटनामा संलग्न भएको आरोप प्रमाणित गर्दै १६ वर्षीया बालिकालाई दुई वर्षको कैद र आठ लाख रुपियाँ क्षतिपुर्तिको सजाय सुनाएको छ ।दलित समुदायका केटासँग पुजालाई भाग्न सहयोग गरेको भन्दै शिक्षक राना र ३० वर्षीया उनकी पत्नी शिक्षिका राजु रानालाई स्थानीयले गाँउबाट विस्थापित गरेका थिए ।

गाउँकै विद्यालयमा करार दरबन्दीमा काम गरिरहेका शिक्षक रानालाई गैरदलित परिवारकी छात्राको बिहे दलित केटासँग गराइदिएको आरोपमा ६ महिनाअघि स्थानीयले गाउँनिकाला गरेका थिए । गाउँमा आए मारिदिने धम्कीपछि विगत ६ महिनादेखि सदरमुकाममा बस्दै आएका रानाको घरमा आगजनी गरेको आरोपमा स्थानीय राजबहादुर चन्दसहति ६ जनाविरुद्ध ‘आगो लगाउने’ शीर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्दा दर्ता गरिएको थियो ।तीन वर्षअघि बनाएको एक तलाको २ कोठे भवन जलेर नष्ट भएको र घरमा रहेका अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको भन्दै ३० लाख ५३ हजार बिगोसमेत माग गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका मुद्दाफाँटका प्रहरी सहायक निरीक्षक करन धामीले बताए। ‘प्रहरी घटनास्थल पुग्दा घर जलेर पूर्ण रूपमा नष्ट भएको देखियो,’ उनले भने, ‘पीडित पक्षले किटानी जाहेरीमा ३० लाख ५३ हजार बिगो माग गरिएको थियो ।’


श्रीकृष्ण निमावि कनाली विद्यालय व्यवस्थापन समितिले शिक्षिका राजु रानालाई ०७३ चैत २५ गते निष्काशन गरेको थियो । यस्तै करन रानाले शिक्षण पेसा गर्दै आएको हीरापुर मावि बसेडीभ्वाँ विद्यालय व्यवस्थापन समितिले पनि रानालाई ०७४ भदौ ११ गते निष्काशन गरेको थियो ।गाँउबाट विस्थापित बनेदेखि नै न्यायको खोजीमा जिल्ला सदरमुकाम बस्दै आएका राना दम्पतिको पुरानो घरमा तोडफोड र नयाँ घरमा ०७४ असोज ५ गते आजगनी गरिएको थियो ।





आजगनीको खबर पाएपछि इन्सेकसँग स्थलगत रिपोर्टिङ गरी सत्यतथ्य बुझिदिन भन्दै पीडित करन राना दम्पतिले असोज ८ गते निवेदन दिएका थिए । इन्सेक नेतृत्वको मानव अधिकारको टोलीले घटनाको स्थलगत रिपोर्टिङ गरी प्रतिवेदन तयार पारेको थियो । इन्सेकले रानालाई आर्थिक सहयोग समेत प्रदान गरेको थियो ।


शिक्षक रानाले भने अदालतको फैसलाले आफू पूर्ण रूपमा सन्तुष्ट नभएको बताएका छन् । “जसको नाममा मैले उजुरी नै दिएको थिइनँ । उसलाई जेल सजाय भयो । जसले मेरो घरमा आगो लगाए उनीहरूले सफाई पाए ।”-रानाले भने-“मेरो ३२ लाख रुपियाँ बराबरको सम्पति जलायो तर अदालतले जम्मा ८ लाख रुपियाँ मात्रै क्षतिपुर्तिको सजाय सुनायो त्यसैले आफू पुनरावेदन जाने तयरीमा छु ।”पीडित रानाले घटना घटेदेखि न्याय माग्न दबाव सृजना गरिदिएको भन्दै इन्सेकलाई धन्यवाद समेत दिएका छन् ।

No comments:

Post a Comment