‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले बनाएको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ समुदायलाई हस्तान्तरण

विभेद बिरुद्ध अभियान - माघ २४ -चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका–८ सन्तपुरमा ‘धुर्मुस सुन्तली फाउन्डेसन’ ले बनाएको ‘एकीकृत नमुना सन्तपुर बस्ती’ समुदायलाई हस्तान्तरण गरिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले एक भव्य समारोहमा नमुना बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझीलाई बस्तीको साँचो हस्तान्तरण गरिन् । 

असोज २८ गतेदेखि निर्माण सुरु भएको बस्तीको काम सम्पन्न भएर बस्ती ११४ दिनमा हस्तान्तरण भएको छ । निर्माणमा ५ करोड ९५ लाख रुपैयाँ खर्च भएको जनाइएको छ । बस्तीमा ४७ वटा घर, एक बालविकास विद्यालय, एक बालउद्यान, सार्वजनिक शौचालय, मन्दिर, भ्यु टावर, दुईवटा प्रतिक्षालय छन् ।

अझै ७० लाख अपुग

बस्ती निर्माण पूरा भए पनि अझै ७० लाख रुपैयाँ अपुग भएको फाउन्डेसनले जनाएको छ । गत साउनमा बाढीपीडितको सहयोगका लागि व्यक्ति तथा संघसंस्थाबाट संकलित २ करोड २६ लाख ७५ हजार रुपैयाँमध्ये राहत बाँडेर बचेको १ करोड २३ लाख ८१ हजारबाट निमार्ण सुरु गरेको र ३ करोड ५० लाख ८३ हजार रकम संकलन भएको जनाइएको छ । 

नमुना नेपाल बस्ती निर्माणका लागि उठेको रकममध्येबाट ५० लाख रुपैयाँ सन्तपुर बस्तीमा खर्च भएको जनाइएको छ । ‘हाम्रा हरेक योजनामा देशविदेशमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनीले दिल खोलेर सहयोग गरिरहनुभएको छ,’ सीतारामले भने, ‘यसमा पनि गर्नु हुनेछ, कुनै विकल्प ननिस्किए आफ्नै घरखेत बेचेर भए पनि उधारो तिर्नेछु ।’

‘एकीकृत नमुना सन्तपुर बस्ती’ धुर्मस सुन्तली फाउन्डेसनको चौथो आयोजना हो । यसअघि काभ्रेमा पहरी बस्तीमा, सिन्धुपाल्चोकको गिरानचौरमा, महोत्तरीको बर्दिबासमा बस्ती निर्माण गरी हस्तान्तरण भएको थियो ।  हालसम्म चारवटा बस्तीमा कुल १८० वटा घर हस्तान्तरण भएका छन् । 

अनुकरणीय काम ः राष्ट्रपति

उद्घाटन समारोहमा बोल्दै राष्ट्रपति भण्डारीले धुर्मुस सुन्तली फाउन्डेसनले बस्ती निर्माण गरेर अनुकरणीय काम गरेको बताइन् । उनले कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को प्रयासको सराहना गरिन् । राष्ट्रपतिले सामाजिक आर्थिक विकाससहित समृद्ध नेपाल बनाउन सबै लाग्नुपर्ने र सबै एकजुट भएमा नेपालको विकास छिटो हुने बताइन् । 

राष्ट्रपतिले सबै नागरिकले न्यायपूर्ण र समानताका साथ बाँच्न पाउने अधिकारको सुनिश्चिता हुनुपर्नेमा जोड दिइन् । ‘सामुदायिक हितका लागि हुने यस्ता कार्यक्रममा सरकारको पनि साझेदारी हुनुपर्दछ,’ उनले भनिन्, ‘सरकार समुदायमैत्री बन्नु पर्दछ भन्ने मलाई लाग्दछ ।’ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गरेका बस्तीमा सरकारले सभ्य र समृद्ध जीवनको सुनिश्चितता गर्नुपर्ने राष्ट्रपतिको भनाइ थियो । आगलागी, बाढी, सर्पदंशको चपेटामा पर्ने फुसका घरलाई क्रमशः विस्थापित गर्दै सबैलाई न्यूनतम सुविधायुक्त आधारभूत पूर्वाधारसहितको आवास व्यवस्थामा सरकार लाग्नुपर्ने राष्ट्रपतिले बताइन् । 

फाउन्डेसनका अध्यक्ष कलाकार सीताराम कट्टेलले आफूहरूले राज्यलाई चुनौती दिन बस्ती निर्माण गरेको नभई डुबानमा परेका दलित मुसहर समुदायको  पुनस्र्थापन र बसोबासका लागि काम गरेको बताए । देशविदेशमा रहेका नेपालीको सहयोगबाट निर्धारित अवधिमै बस्ती हस्तान्तरण गर्न सफल भएकोमा खुसी व्यक्त गर्दै उनले सबै सहयोगीलाई धन्यवाद दिए । उनले अब फाउन्डेसन पूर्वघोषित नमुना नेपाल बस्ती निर्माणमा केन्द्रित गर्ने जानकारी दिए । 

सीताराम बस्ती निर्माणमा खटिएका मजदुरहरूले रातदिन नभनी काम गरेको भन्दै कृतज्ञतासमेत प्रकट गरे । उनले भने, ‘हाम्रो मात्र पहलले यो बस्ती निर्माण हुन सक्दैनथ्यो, हामीले दिनरात नभनी अहोरात्र खटिनुभएका सन्तपुरका बासिन्दालाई विशेष धन्यवाद दिन चाहन्छौं । साथै हाम्रा परियोजनामा देश तथा विदेशबाट आर्थिक सहयोग गर्नुहुने सम्पूर्णप्रति पनि आभार ।’ 

फाउन्डेसनकी कोषाध्यक्ष रहेकी कलाकार कुञ्जना घिमिरेले बस्ती निर्माण गरेर हस्तान्तरण गर्न पाउँदा निकै खुशी लागेको बताइन् । उनले बस्ती निर्माणसँगै चेतनाको स्तर अभिवृद्धिमा पनि मद्दत पुगेको बताइन् । 

वरिष्ठ हास्य कलाकारद्वय मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यले पनि मन्तव्य प्रकट गरेका थिए । राज्यको नीति निर्माण तहमा बसेकाहरूले सीताराम र कुञ्जनाबाट पाठ सिक्नुपर्ने उनीहरूको भनाइ थियो । 

गत साउन अन्तिममा आएको बाढीले डुबानमा परेका विपन्न परिवार नयाँ आधुनिक घर पाएपछि खुशी भएका छन् । नयाँ दुईतले पक्की घर पाएर  सबै खुशी भएको बस्ती निर्माण समितिका अध्यक्ष सत्यनारायण माझी मुसहरले बताए । 

No comments:

Post a Comment