डोल्पाका एक दलित दम्पती छोराको उपचारका लागि चन्दा संकलन गर्दै

विभेद बिरुद्ध अभियान -२३ माघ २०७४- सरोज थापा / डोल्पा - डोल्पाका एक दलित दम्पती छोराको उपचारका लागि चन्दा संकलन गरिरहेका छन् । ठूलीभेरी नगरपालिका–९ मोतीपुरका मनराज नेपालीका १५ वर्षीय छोरा धनराज नेपालीको खुट्टाको उपचारका लागि उनका आमाबाबु चन्दा संकलनमा लागेका हुन् ।

धनराजको खुट्टामा समान्य समस्या देखियो उपचार गर्दा गर्दै झनै ठूलो समस्या उत्पन्न भएको नेपाली दम्पत्तीले बताए । उनीहरूका अनुसार जिल्ला अस्पताल डोल्पामा उपचारका लागि ल्याएका बालकको स्वास्थ्य परीक्षणपछि बायाँ खुट्टामा संक्रमण भएको जिल्ला अस्पतालले जनाएको छ ।

अस्पतालले सामान्य उपचारले नहुने बताएपछि थप उपचारका लागि सुविधाजनक अस्पतालमा लैजान सुझाव दिएको पीडितका बुबा मनराज नेपालीले बताए ।‘आफूसँग रुपैयाँ छैन, सबैलाई सहयोग मागेर छोराको उपचार गर्न पाए ढुक्कसँग मर्ने थिएँ,’ नेपालीले भने ।धनराजको तत्कालै राम्रोसँग उपचार गर्नुपर्ने र जिल्ला अस्पताल डोल्पामा सो उपचार सम्भव नहुने जिल्ला अस्पताल डोल्पाका डा. हिमविक्रम शाहीले बताए ।

उनका अनुसार तत्काल ठूला अस्पतालमा लगेर धनराजको बाँया खुट्टाको हड्डीको शल्यक्रिया नगरे झनै ठूलो समस्या आउने बताए । खुट्टामा संक्रमण बढ्दै गएकाले धनराजको बायाँ खुट्टाबाट रगत र पिप बग्ने गरेको    छ ।

बिहान बेलुकाको छाक टार्ने कठिन नेपाली दम्पती छोराको उपचारमा धेरै पैसा खर्च लाग्ने हुँदा चिन्तित छन् । धनराजको उपचारका लागि लाखौ रुपैयाँ लाग्ने भएकाले रातदिन लागेर चन्दा मागेर भए पनि सास रहुन्जेलसम्म उपचारका लागि आस नमार्ने नेपाली दम्पतीले बताए ।

‘छोराको घाउ झनै गहिरो हुँदैछ तर खर्च जुटाउन सकेका छैनौं, सबैले सहयोग गरिदिए छोरो बचाउन सक्थ्यौं,’ सदरमुकाम दुनैका घरघर र कार्यालयहरूमा गुहार मागिरहेका उनले भने । दलित भएकै कारण पनि सहजता छैन राज्यको कुनै निकायले हाम्रो दुःख देख्दैन, धनराजले निराश मुद्रामा भने ।

निर्वाचनको बेलामा घरमा आएर ठूलाठूला सपना देखाउने जनप्रतिनिधिले अहिले आफूलाई दुःख पर्दा फर्केर पनि नहेरेको उनको गुनासो छ । स्थानीय तहको सरकारबाट केही पहल भए छोराको उपचारमा केही राहत पुग्ने आस गरेको भए पनि कसैले आफना दुःख नसुनिदिएको उनले बताए ।

No comments:

Post a Comment