दलितले पकाएको दिवा खाजा नखाने भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरे

विभेद बिरुद्ध अभियान - अमर सुनार/दैलेख, माघ २५ – चामुण्डाको हिमालय आधारभूत विद्यालय तीजडाँडामा दलितले पकाएको दिवा खाजा नखाने भन्दै विद्यार्थीले विद्यालयको क्यान्टिनमा तालाबन्दी गरेका छन् । ‘दलितले पकाएको खाए दाँत झर्छन्’ भन्दै अभिभावकले भनेका कारण विद्यार्थीहरुले खाजा खान मानेका छैनन् ।
बिहीबार दिउँसो खाजा बनाउने तयारी गर्ने बेला ६ र ७ कक्षाका गैरदलित बालबालिकाले दलितले पकाएको खाजा नखाने भन्दै भान्सा कोठामा एक्कासि ताला लगाएको क्यान्टिनमा काम गर्ने नीर्मला नेपालीले बताउनुभयो । विद्यालय व्यवस्थापनको निर्णयबाट २ महिना अघि प्रति महिना २ हजार पाउने गरी नियुक्त गरिएकी निर्मलाले दिवा खाजा पकाउन सुरु गरेदेखि तल्लो जातले पकाएको नखाने भन्दै ६ र ७ कक्षाका गैरदलित विद्यार्थीले खाजा खाएका थिएनन् ।
विद्यालयका कार्यालय सहयोगी दण्डपाणी रिजालले विद्यार्थीको लागि दिवा खाजा पकाउन सक्दिन भनेपछि विद्यालयको आन्तरिक श्रोतबाट व्यहोर्ने गरी विद्यालय व्यवस्थापनको निर्णयबाट निर्मलालाई नियुक्त गरिएको थियो । ‘केही बालबालिकाले पहिलेदेखि नै खाँदैनथे बिहीबार म बैठकमा चामुण्डा श्रोत केन्द्रमा गएको मौकामा ताला लगाएछन्’ विद्यालयका प्रधानाध्यापक पूर्ण कँडेलले भन्नुभयो ।
विद्यार्थीलाई नै उक्साएर शिक्षकहरुले विद्यालयमै विभेद गराएको भन्ने स्थानीय दलित अगुवाहरुको आरोप छ । यसबारे ध्यानाकर्षण गराउँदा प्रधानाध्यापक कँडेलले टिप्पणी गर्नुभयो ‘घरपरिवारको शिक्षाका कारण विद्यार्थीले कट्टरता देखाएका हुन सक्छन् ।’ विद्यालय जाने विद्यार्थीलाई नै अभिभावकले विभेद गर्न सिकाएपछि त्यसले समाजमा नकारात्मक असर पुग्ने सामाजिक अभियन्ताहरुको विचार छ ।
दिवा खाजाले विद्यालयमा विभेद गराएको जनगुनासो बारे शिक्षाका लागि खाद्य कार्यक्रम इकाई दैलेखका निमित्त कार्यालय प्रमुख उमेश शर्माले आफूहरुलाई पनि यसबारे जानकारी आएको र समस्या समाधानका लागि पहल गरिएको बताउनुभयो । उब्जाउका हिसावले खाद्यान्नको बढी समस्या भएको दैलेखमा विश्व खाद्य कार्यक्रमको सहयोगमा साविकका २५ गाविसका २ सय ८६ वटा आधारभूत विद्यालयमा दिवा खाजा दिदैं आएको छ ।
विश्व खाद्य कार्यक्रम सहयोगमा अहिले ११ जिल्लामा सञ्चालित दिवा खाजा दिइँदै आएको छ । दिवा खाजामा प्रति विद्यार्थीलाई हरेक दिन ८० ग्राम चामल, २० ग्राम दाल, १० ग्राम तेल र २ ग्राम नुन पुग्ने गरी वितरण गरिंदै आएको कार्यक्रममा यो वर्ष दैलेखमा २३ हजार ७ सय बालबालिकालाई दिवा खाजा पु¥याउने कार्यक्रमको लक्ष्य रहेको छ । उज्यालोमा खबर छ |

No comments:

Post a Comment