जङ्गलमा बस्दै आएका वीरबहादुर विकको उपचार सुरु

विभेद बिरुद्ध अभियान- जाजरकोट, भदौ २८ गते । अर्थाभावका कारण कुष्ठरोगबाट पीडित भई जङ्गलमा बस्दै आएका नायकवाडा– ८ ताँसीका वीरबहादुर विकको उद्धार गरिएको छ । अहिले उहाँको सुर्खेतमा उपचार भइरहेको छ ।
राससबाट भदौ ११ गते सम्प्रेषित ’अर्थाभावले उपचारमा समस्या’ भन्ने समाचार प्रकाशित भएपछि ‘आइएनएफ’ सुर्खेतले उद्धार लगत्तै भदौ १६ गतेदेखि उपचार सुरु गरेको हो ।
ताँसीका वीरबहादुर कुष्ठरोग लागेपछि ५ वर्षदेखि जङ्गलमा बस्न वाध्य थिए । पचास वर्षीय वीरवहादुरसँग सम्पत्तिको नाममा दुई वटा कुखुरा मात्र थियो । जिल्ला स्वास्थ्य कार्यालय जाजरकोटका महामारीजन्य रोगका सम्पर्क व्यक्ति कृष्णबहादुर खत्री र स्थानीय पत्रकार तीर्थराज बोहराको सहयोगमा उहाँलाई जिल्ला सदरमुकामसम्म डोकोमा बोकेर ल्याइएको हो । बिरामी वीरबहादुरको यातायात, बिरामी हेरदेख सबै खर्च आइएनएफ सुर्खेतले बेहोरिरहेको सम्पर्क व्यक्ति खत्रीले जानकारी दिनुभयो ।यातायातको पहुँच नभएका कारण वीरबहादुर अब मेरो जीवन यतिकै जङ्गलमै जान्छ भनेर दिनरात रुँदै बाँचिरहेका थिए । कुष्ठरोगले गर्दा ठूल्ठूला घाउ शरीर भरि रहेपनि उपचारसँगै अहिले विस्तार सुक्दै गएको छ ।

No comments:

Post a Comment