अनाथ बालबालिकालाई फेसबुक ग्रुपबाट सहयोग गर्दै ‘प्रिन्स सुनार प्रिन्सेस सुनारनी’

३१ भदौ -विभेद बिरुद अभियान – आजकल फेसबुक चलाउने प्राय युवा ‘च्याट’ गरेरै समय बिताउँछन् । अधिकांश युवा ‘च्याट’ मा समय खेर फालिरहँदा केहीले भने ग्रुप बनाएर सामाजिक काम गरिरहेका छन् । फेसबुक ग्रुप मार्फत सदस्यबाट आर्थिक संकलन गरेर समाज सेवा गर्ने मध्येमा पर्छ ‘प्रिन्स सुनार प्रिन्सेस सुनारनी’ ।यो ग्रुपले सदस्यहरुलाई आर्थिक सहयोगको आह्वान गरेर अनाथ बालबालिकालाई सहयोग गरेको छ । गोरखा र स्याङ्जामा सहयोग गरिसकेको यो समूहले शुक्रबार बागलुङमा सहयोग गर्दै छ । बुटवलका अमित रसाइली, नवलपरासीकी रजनी रामदाम र रामेछापका जीवन घतानी यो ग्रुपका एडमिन हुन् । ग्रुपमा ९ हजार सदस्य कटिसकेका छन् ।
ग्रुपका सदस्यको एक समूहले बुधबार गोरखाको पालुङटार पुगेर भूकम्पपीडित बालबालिकाहरुलाई कलम, कापी, झोला र आर्थिक सहयोग गरेको छ । बाल दिवसको दिन समूहले पालुङटार नगरपालिकाको बाह्रपिर्केमा कार्यक्रमको आयोजना गरी ७ विद्यालयका ५२ जना दलित विद्यार्थीलाई उक्त सामग्री वितरण गरेको हो ।ती ७ विद्यालयलाई खेलकुद सामग्री पनि समूहले हस्तान्तरण ग¥यो । कार्यक्रममा पालुङटार नगरपालिकाका निमित्त कार्यकारी अधिकृत रामचन्द्र मरहठ्ठा, इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर बद्रि पौडेल, दलित एकता सञ्जाल गोरखाका अध्यक्ष किसन गान्धारी, कास्कीकी सचिव कमला गहतराजले सहयोग हस्तान्तरण गरे । फेसबुकबाटै अनाथ एवं दलित बालबालिकालाई सहयोग गर्ने योजना बनेको हो ।
एडमिनद्वय रजनी रामदाम र जीवन घतानी सहित समूहमा ८ जना सहभागी छन् । उनीहरु सामाजिक कामकै लागि पहिलोपटक भेट भएका हुन् । उक्त समूहले बिहीबार स्याङ्जाको तीनदोबाटे पुगेर २० जना विद्यार्थीलाई झोला र स्टेसनरीका सामान वितरण गरेको छ । समूहले शुक्रबार बागलुङमा २० जना विद्यार्थीलाई उक्त सामग्री वितरण गर्दै छ ।ग्रुपका एडमिन जीवन घतानीले युवाले सामाजिक सञ्जाललाई दुरुपयोग गरिरहेका बेला दलित युवालाई संगठित गर्न ग्रुप बनाएको बताए । उनले ग्रुपका सदस्यले खाजा खर्च कटाएर आर्थिक संकलन गरेको जानकारी दिए ।
अर्की एडमिन रजनी रामदामले दलित बालबालिकाको शिक्षाका लागि देशैभर अभियान सञ्चालन गर्ने ग्रुपको लक्ष्य रहेको बताइन् । ग्रुपको अभियानलाई देशविदेशमा रहेका ३३–३४ जनाले आर्थिक सहयोग गरेका छन् । पहिलो चरणमा संकलन भएको १ लाख ७५ हजार रुपैयाँबाट सहयोग हस्तान्तरण गरेको रजनीले जानकारी दिइन् ।ग्रुपको अभियानलाई ८ वर्षका दुई बालबालिकाले पनि सहयोग गरेका छन् । अभियानलाई स्थानीय तहमा सम्बन्धित जिल्लाको दलित एकता सञ्जालले सहयोग गरेको छ ।

No comments:

Post a Comment