घर छोडेको दुई हप्तामा फर्कियो दिपेश सुनारको बाकसमा शव

विभेद बिरुद्ध अभियान, भदौ २३ - युएई, भदौ २२ – घर छोडेर परदेश हिंडेका युवा कहिले घर आँगनमा टेक्लान ? ६ महिना, एक वर्ष वा दुई वर्ष । तर रुपन्देहीका एक युवा युएई आएको दुई हप्तामै घर फर्किएका छन । तर उनी विदेशिदा बोकेका सपना पूरा गरेर भने घर फर्किएका होइनन् । घरबाट परदेश हिँडेको १४ दिनमै घरको आँगनमा शवको बाकस पुगेपछि अहिले रुपन्देहीको ढेकावार २ केरवानी चौराह चोक पूरै शोकमा डुबेको छ । उहाँको शव मंगलवार राती घर पुर्‍याइएको हो । 
पर्यटक भिसामा युएई आएका रुपन्देही केरवानीका दिपेश सुनारको यहाँ आएको ४ दिनमै ज्यान गएको थियो । गएको भदौ १० गते शुक्रबार विहान हृदयघातका कारण सुनारको ज्यान गएको हो । 
कामका लागि यसअघि उहाँ झण्डै दुई वर्ष रसिया बसेर फर्कनुभएको थियो । चार महिना अघि बुवाको निधन भएपछि उहाँ नेपाल फर्कनुभयो । २४ वर्षिय सुनार बाबुको काजकीरिया सकेर दुबईमै कार्यरत साथी हेम गुरुङको सहयोगमा एक लाख रुपैयाँ खर्च गरेर भिजिट भिसमा गएको भदौ ७ दुवई आउनुभएको थियो । उहाँ आफैंले रोजेको काम गर्ने र परिवारको गर्जो टार्ने सपना यहाँ आएको चार रातमै टुटेको छ । साढे तीन महिनाको गर्भवती श्रीमती, आमा र एक छोरा छोडेर परदेशिएका उहाँको ज्यान गएसँगै परिवारको विचल्ली भएको छ । कमाएर ल्याउने घरको एउटा छोरा त्यो पनि परदेश गएको चार दिनमा ज्यान गुमाएपछि परिवारको विचल्ली भएको स्थानीय सञ्चारकर्मी यम रानाले जानकारी दिनुभयो । 
 
१० दिनमा तीन लाख सहयोग जुटाएर शव नेपाल पठाइयो 
पर्यटकीय भिसामा रहँदा ज्यान गएकाले शव नेपाल पठाउन अप्ठेरो परेको थियो । त्यसबारे उज्यालो अनलाइनमा समाचार प्रकाशन भएपछि युएईमा सहयोग स्वरुप रकम संकलन अभियान चलाइएको थियो । सुनारको शव नेपाल लैजान दलित सञ्जाल र विश्वकर्मा समाज युएईले १० दिन लगाएर आर्थिक सहयोग जुटाएका हुन । 
दलित सञ्जालले झण्डै १० हजार दिहराम संकलन गरिसकेको छ । सोही रकम प्रयोग गरेर सुनारको शव नेपाल पठाएको सञ्जालका अध्यक्ष विनोद गोतामे विश्वकर्माले जानकारी दिनुभयो । शव नेपाल पठाउन कार्गो खर्चवापत ४२ सय दिहराम र युएईमा कार्यरत दिपेशका काका धनबहादुर सुनारको टिकट खर्च र एयरलाइन्सले शव लैजादा लिने अतिरिक्त खर्च ३ हजार ३ सय ३० दिहराम खर्च भएको उहाँले बताउनुभयो । त्यस्तै, पोस्टमार्टमलगायत अस्पतालको अन्य कामका लागि एक हजार ५ सय दिहराम खर्च भएको छ । 
विश्वकर्मा समाज युएईले पनि सुनारको शव नेपाल पठाउन आर्थिक सकंलन गरिरहेको जनाएको छ । हालसम्म समाजले सकंलन गरेको रकम सार्वजनिक भएको छैन । 

No comments:

Post a Comment