दलित मुक्ति आन्दोलनमा एउटा आयाम कविता संग्रह आफर

विभेद बिरुद्ध अभियान-काठमाडौं,४  भाद्र lउन्मुक्त पुस्ताको कविता संग्रह आफर  साेमबार राजधानीमा विमोचन गरिएको छ ।  शिल्पी थिएटर वत्तिसपुतलीमा आयोजित कार्यक्रममा शिल्पी नाटकघरका कलाकारले अभिनय मार्फत कविता मञ्चन गरेर पुस्तकको विमोचन गरेका हुन् ।
उन्मुक्त पुस्ताका तर्फवाट केवल बिनाबी, केशरी अम्गाइ,केशव सिलवाल, प्रकाश गुरागाइ, माधव घिमिरे अटल, मुक्तान थेवा, राजु स्याङ्गतान र हरिशरण परियारका प्रतिनिधी ३३ कविताहरु संग्रहित आफरलाइ समता फाउन्डेसनले प्रकाशन गरेको हो ।
आफर बिमोचन कार्यक्रममा कवि तथा समालोचक भुपाल राइ र साहित्यकार आहुतीले कविता संग्रहको वारेमा टिप्पणी गरेका थिए । समाजको सवैभन्दा पीँधमा पारिएको र हज्जारौं वर्षसम्म उत्पिडनमा परेको दलित समूदायको वारेमा यसरी एउटा एजेण्डा नै उठाएर कविता संग्रह प्रकाशन गर्नु आफैमा उदाहरणिय काम भएको टिप्पणी बक्ता द्धयले गरेका थिए ।
यसरी उन्मुक्त पुस्ताका कविता सुन्न आफुले ३५ वर्ष कुर्नु परेको कवि राइको टिप्पणी थियो । जातीय मुक्ति आन्दोलनका एजेन्डालाई माक्र्सवादीकरण कसरी गर्ने र कसरी लेख्ने होइन के लेख्ने भन्ने बहश उठान गर्नु आजका लेखकहरुको सिर्जनशील कार्य हुनेछ — राइले भनेका छन् ।
त्यसैगरी कवि तथा साहित्यकार आहुतीले उन्मुक्त पुस्ताले एउटा अभियानको थालनी गरेको टिप्पणी गरे । समाजमा हज्जारौं बर्षदेखी थिचोमिचोमा परेका सिमान्तकृतहरुको पीडालाइ कवितामा उनेर दलित मुक्ति आन्दोलनमा एउटा आयाम थपेकामा उनले श्रष्टाहरुलाइ बधाइ दिएका थिए ।
चित्रकारले आठ कविका आठ कवितामा क्यानभाष उतारेका थिए । देवेन्द्र थुम्केली, लालकाजी लामा, अजित कुमार शाह, नारदमणी हार्तम्छाली, केशवराज खनाल, भानु भट्टराइ, मनिष हरिजन, राजेश नेपाली लगायतका चित्रकारहरुले कविताको भावलाइ क्यानभाषमा उतारेका थिए ।
नेपाली साहित्यको इतिहासमा दलित सौन्दर्यशास्त्रमा आधारित भएर केही न केही त लेखिएको छ । तर संगठित रुपमा लेख्न नसक्दा तिनले समाजमा हस्तक्षेपकारी भुमिका खेल्न नसकेकोमा आफर मार्फत उन्मुक्त पुस्ताले विभेदविरुद्ध संगठित लेखन आरम्भ गरेको उन्मुक्त पुस्ताले बताएको छ ।

No comments:

Post a Comment