काका नरिसाउ है ? - सुरेन्द्र महत

विभेद बिरुद्ध अभियान- भदौ २५ 
काका नरिसाउ है ?
मैले तिम्रो लागि मिसिन चलाउन छाडिसके 
लबेदा सिउने मन नै छैन 
मन छैन मलाई तिम्रो छोराको बिहेमा नेगियर फेटा बाध्न 
मिसिनको सियोले हात खिएको कहिले देखेनौ 
तिमीले ठुला कुरा गर्न कहिले छोडेनौ 
नरसिंहा फुक्दा दुखेको ओठ आझै सिधा भएको छैन 
माघको लगनमा बारीको डिल मै बाजाको हिफाजत गर्दा 
लागेको चिसोले अझै रुघा मार्की लागिरको छ 
तिमि र तिम्रा आफन्तहरु घुमी घुमी नाचेको नौमतीको मूल्य कहिले सोधेनौ 
अनि म कसरि सक्छु त काका अझै पनि तिमीलाई खुशी बनाउन 
एता बुढी भन्दै थी सक्दिन बालि उठाउन जान 
एक मीठी चामलको लागि तेत्रो पहाड चढेर 
दिन भरि हिडेर पनि वचन  र गालि गर्दै दिन्छौ रे ?
होइन ? तिमीले कुन अधिकारले अंस र बंस बाट मेरो बुवालाई अछुत भन्यौ हँ ?
र अहिले मलाई आफ्नै घरमा पर बस भन्दै छु हँ ?
काका अब यसरि चल्दैन |
जाउ अब पानि चल्नेकै हात बाट लबेदा सिलाउन लगाउनु 
संगै बसेर खान मिल्नेलाई बाजा बजाउन लगाउ 
म चाहि लागे अब मुग्लान तिर 
कम्तिमा चुहिएको छाना त छाउन सक्छु होला 
केहि नभए पनि छोरालाई स्कुल सम्म पठाउन सक्छु कि 
बुबाको पिपल डाँडामा चौतारा बनाउने सपना पुरा गर्न सक्छु कि ?
अनि आफै खेत किनेर हात पाखुरा खियाउ छु   
जति आउछ मान मुठी तेतीमै मन बुझाउला 
तर तिमीलाई हजुर भनेर 
हजुर बनाई राख्न सक्दिन म
तिमीले यति चाहि बुझ कि ?
मैले तिम्रो छिमेकी भएर काका भन्न छोडे भने 
तल्लो गाउको रीठे साईला 
माथिलो गाउको ठुलाघरे माईला ले तिमीलाई बसिखान दिने छैनन् 
अब जे भयो,भयो काका 
नरिसाउ है मैले चाही छोडी सके तिमिलाई हजुर भन्न 
नरिसाउ है काका |||

स्वर्गीय गाउघरे जेठा 
सुरेन्द्र  महत

No comments:

Post a Comment