अजित मिजारको मृत्युको घटनाको अध्ययन गर्न संसदको कार्यदल धादिङमा

विभेद बिरुद्ध अभियान- भदौ २६ - काभ्रे जिल्ला पाँचखाल नपा-६ होक्सेका १७ वर्षीय अजित मिजार ढकालको ‘रहस्यमय मृत्यु’ भएको घटनाको सम्बन्धमा छानबिन गर्न संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिद्वारा गठित अध्ययन कार्यदलले भदौ २३ गते धादिङमा नागरिक समाज र जिल्लाका सरोकारवालासँग छलफल गरेको छ ।
कार्यदलका संयोजक कमला दोङको नेतृत्वमा धादिङ आएका सांसदहरू खड्गबहादुर बस्याल, उषा यादव, दुलारी हरिजन, नरमान कामी, बसुन्धरा रोकायालयागतको टोलीले नागरिक समाज र सरोकारवाला निकायका प्रतिनिधिसँग छलफल गरेको हो ।कार्यदलले मिजारको लास भेटिएको स्थल, प्रहरीले लास गाडेको स्थलको स्थलगत अध्ययन गरी प्रहरी, प्राथमिक स्वास्थ्य केन्द्र, घटनाका सरोकारवाला पक्षहरूसँग बेग्लाबेग्लै छलफल गरेको जनाएको छ ।
गत असार २९ गते बेलुका घरमा फोन सम्पर्क भएपछि हराएका मिजारको लास असार ३० गते बिहान धादिङको मलेखुस्थित यात्रु प्रतिक्षालयमा त्रिपालले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएको थियो ।
मृत भेटिएकोले अपहरणपछि उनको हत्या भएको परिवारको किटानी जाहेरीका आधारमा प्रहरीले भदौ १२ गते आरोपित मध्येका काभ्रे जिल्ला पाँचखालका भोजबहादुर पराजुली, उनका छोरा विनोद भनिने टेकबहादुर पराजुली र एक जना महिलालाई गिरफ्तार गरी अनुसन्धानको लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय गजुरीले घटनाको प्रभावकारी अनुसन्धान नगरेको, परिवारका सदस्यहरू घटनाको बारेमा बुझन आउँदा दुर्व्यवहार गरेको, पोष्टमार्टम गर्न डाक्टरलाई दबाब दिएर लगाएको र परिवार सम्पर्कमा आउन लाग्दा खाडल खनेर लास गाडेको, त्यसपछि सो स्थानमा खटिएका प्रहरीलाई सरुवा गरी घटनालाई लुकाएको सरोकारवालाहरूले आरोप लगाउँदै आएका छन् ।
घटनाको अध्ययन अनुसन्धान गर्न आएको संसदीय कार्यदललाई समेत घटना लुकाउने कोसिस गरेको र सूचना दिन समेत आनाकानी गरेको टोलीले जनाएको छ ।कार्यक्रमममा दलित भएकै कारण मिजारको ‘हत्या’ भएकोले यस घटनाको छानबिनले  दलितहरूको पक्षमा राज्यले लागु गरेको अग्राधिकारको नीति अनुसारको कामको प्रारम्भ हुने संसद खड्गबहादुर बस्यालले बताए ।

No comments:

Post a Comment