‘तिमेरु कामी, दमाई पढेको पनि मन पर्दैन ,तिमेरुलाई हामी पढाउन पनि सक्दैनौ

विभेद बिरुद्ध अभियान- असोज १२ गते -विराटनगर– निमोनियाका दीर्घरोगी विद्यार्थीलाई प्रधानाध्यापकले तल्लोस्तरका गालीगलौज गर्दै आफ्नै कार्यकक्षमा आत्महत्या गर्न दबाब दिएको खुलासा भएको छ ।
मधुमल्ला–३ मोरङको नुनसरी निम्नमाध्यमिक विद्यालय प्रधानाध्यापक हेमचन्द्र श्रेष्ठले कक्षा आठमा अध्ययनरत १४ वर्षीय सुमन परियार (रणपहेली) लाई गयल भएको विषयमा आफ्नै कार्यकक्षमा गालीगलौज गर्दै आत्महत्या गर्न दबाब दिएको खुलासा भएको हो ।

२० दिन विद्यालय जान नसकेका परियार उपचारपछि स्वास्थ्यमा सुधार आएसँगै असोज पहिलो सातादेखि विद्यालय जान थालेका थिए । प्रधानाध्यापक श्रेष्ठले किन विद्यालय नआएको भनेर गालीगलौज गरेपछि सुमनले आफू बिरामी परेको जवाफ दिएका थिए । तर, विद्यार्थीको वास्तविकता ख्याल नगरी प्रधानाध्यापक श्रेष्ठले ‘तिमेरु कामी, दमाई पढ्नै चाहँदैनौ, मलाई तिमेरु पढेको पनि मन पर्दैन । तिमेरुलाई हामी पढाउन सक्दैनौ । अरु पनि स्कुल आउँदैनन्, कोही पनि मेरो स्कुल आउनुपर्दैन’ भन्दै अपमानजक तरिकाले गालीगलौज गरेका थिए ।

पीडित विद्यार्थी, उनका बाबु कुमार परियार र आमा मैना परियारका अनुसार साथीहरुकै सामु प्रधानाध्यापकबाटै अपमानजनक व्यवहार गरेपछि सुमनले पढ्दै गरेको विद्यालय जान इन्कार गरेका थिए । बिरामीबाट तंग्रिएको छोराले विद्यालय जान नमानेपछि बाबुआमाले कारण सोधिखोजी गरेका थिए । विगत बिर्सेर विद्यालय जान बाबुआमाले सम्झाउँदा पनि उनले नमानेपछि विद्यालय स्थानान्तरण गराउने निधो भएको थियो । बाबुआमाले उनलाई उपचार गराउने र मामाहरुसँगै राखेर काठमाडौँमा पढाउने निर्णय गरेका थिए ।

परिवारको निर्णयअनुसार सुमनका बाबु कुमार छोरा सुमनलाई लिएर विद्यालय स्थानान्तरण प्रमाणपत्र लिन असोज पहिलो साता विद्यालय पुगेका थिए । स्थानान्तरणपत्र माग्दा प्रधानाध्यापकले अपमानपूर्ण व्यवहार गर्दै कुनै पनि हालतमा प्रमाणपत्र नदिने दाबी गरे । प्रधानाध्यापकको कुरा सुनेपछि कुमार परियारले ‘छोराले बरू मर्छु तर त्यो स्कुलमा पढ्दिनँ’ भनेका छन् भोलि कुनै अनिष्ट भए विद्यालयलाई नै क्षति पुग्ने बताउँदै विद्यालय स्थानान्तरणपत्र मागेका थिए । कुमारको आग्रह सुनेपछि आक्रोशित प्रधानाध्यापक श्रेष्ठले आक्रोशित हुँदै ‘छात्राले खेल्ने स्पिरिङको डोरी ल्याएर सुमनको गलामा बेरेर के रे यो मर्छ अरे लु तुरून्त मरेर देखाओस् भन्दै आत्महत्या गरेर देखाउन आफ्नै कार्यकक्षमा दबाब दिएका थिए । विद्यार्थीको गलामा पासो लगाएर आत्महत्या गरेर देखाउन दबाब दिएपछि सुमनले गलाको डोरी फुकाउने प्रयास गर्दा प्रधानाध्यापकले लठ्ठीले घोच्दै चाँडो मर्न आदेशमात्रै दिएनन् यातनासमेत दिए । स्थानान्तरण प्रमाणपत्र लिन गएका बाबुछोरा प्रधानाध्यापकको अभद्र व्यवहार सहेर लुरुलुरु घर फर्कन बाध्य भए । आर्थिक अवस्था कमजोर भएका उनीहरुले प्रधानाध्यापकले दुव्र्यवहार गरे पनि बाहिर ल्याएनन् । प्रहरी र गाउँ–समाजमा उजुर गरे उल्टै झन्झट सहनुपर्ने डरले उनीहरु चुपचाप बसे । तर, सुमनका साथी र आफन्तले उक्त घटना थाहा पाएपछि चर्चामा ल्याएका थिए ।

सुमनका बुवा दसँैअगाडि नै वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाले मुद्दा–मामिला परे बाधा आइपर्ने त्रासमा थिए । सुमनकी आमा मैनाले भनिन्, ‘झमेलामा नपरौँ भन्ने लागेको थियो । तर, जति सहन खोज्यो उति घाउ दुख्न थालेको छ । न्याय दिलाइदिनेको आसमा छाँै ।’

घटनाबारे स्थानीय अधिकारकर्मीले थाहा पाएपछि प्रधानाध्यापक र पीडित परिवारलाई प्रहरीमा उजुर नगरी विद्यालयमै छलफल गरेर मिलाउने योजनामा थिए । उनीहरुले छलफलका लागि सोमवार (असोज ११ गते) पीडित परिवार र दलित अधिकारकर्मीलाई विद्यालयमा बोलाएका थिए । घटना अत्यन्तै दुव्र्यवहारपूर्ण भएकाले दलित अधिकारकर्मी र पीडित परिवारले मात्रनभएर समाजका अगुवाले समेत मिलापत्र गराउन दिएनन् । प्रधानाध्यापकले आफूबाट गल्ती भएको र लिखित रुपमा माफी माग्न तयार रहेको बताउँदै आए पनि सिंगो समुदायलाई नै अपमान गरेर दुव्र्यवहार गरेकाले उनलाई कानुनअनुसार सजाय दिन माग गरिएको अधिकारकर्मी गोपाल नेपालीले बताए । कतिपयले प्रधानाध्यापकले राजीनामा दिएमात्रै माफी दिन सकिने अडान लिएका छन् ।

प्रधानाध्यापक हेमचन्द्र श्रेष्ठले सुमन लामो समय विद्यालय नआएकाले सामान्य हप्काएको तर अन्य दुव्र्यवहार नगरेको बताए । प्रधानाध्यापक श्रेष्ठले भने, ‘मैले सुमनालाई पासो लगाएर मर्न भनेको छैन । तल्लोस्तरको गालीगलौज पनि गरेको थिइनँ

No comments:

Post a Comment