विभेद बिरुद्ध अभियान,लमजुङ, २२ भदौ – शिरमा ढाका टोपी । कम्मरमा कछाड । धर्के गन्जी । साथमा बेतको लौरी । तर खुट्टामा चप्पल भने छैन । यस्तै हुलियामा दुईपाखे आरनमा बस्दै हलोको फाली पिट्दै थिए, अर्चलबाटे—७ लामिछाने गाउँका ६५ वर्षीय भीमबहादुर विक । आरनमा उनी हँसिया, कोदालो, गाग्री, ताउली लगायतका फलामका थुप्रै सामग्री तयार गर्छन् । उनले फलामकै काम गरी पाँच छोरी र एक छोरालाई हुर्काए, पढाए र बढाए । उनका पाँच छोरीले पराई घर सम्हालेका छन् भने छोरा टिकाराम विक वैदेशिक रोजगारीमा छन् । उनले आरनको काम गरेरै तीन दशकभन्दा लामो समय बिताइसकेका छन् । ‘तीस वर्ष भइसक्यो आरनकै भरमा जिन्दगी गुजारेको पनि,’ भीमबहादुरले भने ।
लौरी नै सहारा
गौँडाको डाँडाथोकमा छँदा एकदिन बाटो हिँड्ने क्रममा उनी चिप्लिएर लडे । लड्दा जांँघ बजारियो । त्यसपछि, उनका दुवै खुट्टा सुक्दै गए । उपचारकै लागि उनले गोर्खास्थित आँपपीपल अस्पतालमा ८ महिना बिताए । तर ठीक हुन सकेन । ‘धेरै समय आँपपिपलमा बसे । उपचारका लागि आवश्यक पैसा पनि भएन,’ उनले भने, ‘त्यसपछि घर फर्किएँ । बाबुबाजेकै कामलाई निरन्तरता दिएँ’, उनी बताउँछन् । ३८ वर्षको उमेरमै उनको दुवै खुट्टा कमजोर भयो । ‘जाँघ दुखिरहन्छ । खुट्टा पनि अझै झमझमाइरहन्छ,’ निन्याउरो पारामा उनले थपे । अहिले हरदम उनको साथमा एउटा लौरी भइरहन्छ, बेतको । उनको सहारा नै बनेको छ लौरो । त्यही लौराको सहारामा हिँडडुल गर्छन् । उनी भन्छन्, ‘यही लौरो नै मेरो जीवनको सहारा बनेको छ ।’
पुख्र्यौली पेशाबाटै जीवन धान्दै
२०४६ सालमा भीमबहादुर डाँडाथोकबाट अर्चलबोट बसाइँ सरी आए । परिवारका सदस्य धेरै । हातमुख मात्रै लिएर अर्चलबोट आएका उनलाई घरव्यवहार चलाउन निकै असहज हुन थाल्यो । जीवन चलाउन गाह्रो भएपछि उनले सानैमा दाजुहरूबाट सिकेको फलामको कामलाई अगाडि बढाउने निधो गरे । ‘शरीर कमजोर, घामपानीमा काम गर्न नसक्ने,’ उनले भने, ‘परिवार त पाल्नैप—यो । त्यसपछि, मैले आरनको कामलाई अगाडि बढाएँ । आरनकै कामबाट जेनतेन घरव्यवहार राम्रैसँग चल्यो ।’ ‘फलामको हातहतियार, कृषि औजार बनाउनु विश्वकर्मा जातिको पुख्र्यौली पेशा पनि हो,’ उनले भने । बालीघरे प्रथामा नै काम गरेर उनले वार्षिक १८ मुरीभन्दा बढी धान घर भित्र्याउँछन् । साथमा मकै र कोदो पनि । उनको आरनमा फलामको काम लिएर भार्ते, ढोके लगायतका अन्य ठाउँका मानिस पुग्ने गर्दछन् । अर्चलबोटमा मात्रै उनले ६० घरबाट बाली उठाउँछन् ।
आरनको कामबाटै घर निर्माण
उनले वर्षभरि बालीघरका लागि आवश्यक औजारहरू निर्माण गर्नुका साथै मर्मत गरिदिन्छन् । र ती घरबाट दशैं तिहारमा बाली उठाउँछन् । ‘प्रत्येक बालीघरबाट वर्षमा १२ पाथी धान दिन्छन् । गाउँमा ६० घरभन्दा बढी बालीघर छन्,’ उनले भने, ‘यसबाट वार्षिक १८ मुरीभन्दा बढी धान घर भित्रिन्छ ।’ विष्टको घरबाट उनले दशैं तिहारमा चामल, मासु र केही नगद पनि पाउँछन् । साथै उनलाई असार÷साउनमा प्रत्येक बालीघरले एक थुन्से मकै बालीस्वरूप दिन्छन् । ‘यही आरनको भरमा छोराछोरी हुर्काएँ । घामपानी ओत्ने सानोठूलो भएपनि घर बनाएँ,’ उनले भने, ‘बेसाउनुपर्दैन । खानालाई दुःख छैन ।’ उनको ३ कोठासहितको एकतले घर छ जुन यही पेसाबाटै जोड्न सफल भएका हुन् ।
बालीघरे प्रथामा काम गर्न फाइदा
‘अहिले त बालीघरे प्रथा हराइसक्यो । युवाले आफ्नो जातीय पेशा छोड्दै पनि गए,’ उनले गुनासो गरे । उनका अनुसार पैसामा भन्दा बालीप्रथामै काम गर्न फाइदा हुन्छ । ‘पैसा आज छ, भोलि छैन । हातमा पैसा परेपछि मासिन्छ,’ उनले भने, ‘बालीमा काम गर्दा कमसेकम अन्नपात त घरमा हुन्छ । सन्चो बिसन्चोको बेला घरबाट निकालेर खाना पाइयो । मलाई त बालीमै काम गर्न फाइदा लाग्छ ।’ उनका छोरा टिकाराम विदेश छन् । ‘भएको एउटा छोरा विदेश छ । हाम्रा लागि धेरै दुःख गर्नुभयो । वुढेसकालमा यो काम छोड्नु भन्छ छोराले,’ झोलुङ्गोबाट २ वर्षीय नाति सबिनलाई निकाली काखमा राख्दै भने, ‘टिकारामले अब म छु नि बुवाको सहारा भन्छ ।’ उनलाई छोरीहरूले पनिं माया गर्छन् । साथ सहयोग पनि दिन्छन् । श्रीमती नेप्टी विकले पनि भीमबहादुरलाई उत्तिकै साथ दिन्छिन् । ‘आरनमा फलाम पिट्दा श्रीमतीले सघाउँछिन् । र गोल पोल्दा पनि,’ उनले भने, ‘बुढीको सहयोगविना त म के काम गर्न सक्थें र नि ।’
सीप भए पैसा यहीँ छ
पछिल्लो समय दलित समुदायका युवा पुस्ताहरू जातीय पेशाबाट टाढा बन्दै गएका छन् । उनीहरू यसप्रति रुचि पनि राख्दैनन् । जसले गर्दा पनि ती परम्परागत पेशाहरू धाराशायी बन्दै गएका छन् । भीमबहादुर भन्छन्, ‘अहिलेका मान्छे यो काम सिक्नै मान्दैनन् । आफ्नो जातीय पेशा सिकी व्यावसायिक हुन सके राम्रो आम्दानी गर्न सकिन्छ । विदेश जानुपर्दैन ।’ उनका अनुसार आरनको कामबाट पनि सजिलै जीवन धान्न सकिन्छ । ‘सीप सिकेर व्यवहारमा उतार्न सके पैसा यहीँ छ,’ उनले भने । उनले यही पेशालाई निरन्तरता दिने बताए । ‘लामो समय यही काम गरियो । बुढेसकालमा बसिबियाँलो पनि भएको छ । शरीर सन्चो भएको बेला आरनमैै अल्झिन्छु । यसलाई नै निरन्तरता दिन्छु,’ उनले भने, ‘बुढेसकालमा कमजोर शरीरले अरू त के पो गर्न सक्थें र ? आगोको रापमा बसेर काम गर्नुपरेपनि मलाई यही काम प्यारो लाग्छ ।’
श्यामशीत्तल परियार/लोकान्तर
No comments:
Post a Comment