जिन्दगी : एउटा अवसर - अधिकारी रवीन्द्र

विभेद बिरुद्ध अभियान, पुस २७-  जिन्दगी एउटा अवसर हो, यहाँ जे–जे भेटिन्छन् परिस्थितिअनुकूल उपयोग गर्नुपर्छ, जे–जस्तो आइपर्छ सामना गर्नुपर्छ र जो–जो भेटिन्छन् संगत गर्नुपर्छ । मूर्ति सरहको स्थुल जिन्दगीभन्दा त्रुटिपूर्ण चलायमान नै जाती । त्रुटि महागुरु हो अनि जिन्दगी जति चलायो त्यति अनुभव हो । मृत्युको नजिक पुग्दा प्राप्ति अनुभव शिवाय केही होइन र जति ठूलो जिन्दगीको गति थियो त्यति ठूलो अनुभव अनि जति ठूलो अनुभव त्यति नै ठूलो ख्याति । 
जसरी क्यारमको खेलमा गोटीहरू एक–अर्कासँग तथा बोर्डको विरुद्ध ठोकिन्छन्, त्यसरी नै जिन्दगी पनि ठोक्काइ हो । ठोक्काइबिना न क्यारमको खेल बन्छ र न जिन्दगी नै सार्थक हुन्छ । खेललाई आफ्नो पक्षमा पार्न सही–सही गोटीमा मात्र ठोक्काउनुपर्छ र प्रतिद्वन्दीभन्दा पहिले नै केही निश्चित निशाना (पकेट) सोच्नुपर्छ । ठीक त्यसै गरी जिन्दगीलाई बढी सार्थक बनाउन यसलाई सही–सही व्यक्ति, समय, ठाउँ र परिघटनाहरूसँग ठोक्काउन सक्नुपर्छ । 
०००
सानामा हाम्रो घरमा पनि दमाईं (अन्यथा नलिइयोस) लगाइन्थ्यो । कलाँतीको नातिबाउ दसैं आउनुभन्दा एक–दुई साताअगाडि नै लुगाफाटा सिउन भनेर परिवारसहित हाम्रो घरमा आउँथे । हाम्रो गाउँको लुगा सिउने काम भ्याउन उनीहरूलाई करिब एक हप्ता जति नै लाग्थ्यो । कोजाग्रत पूर्णिमातिर उनीहरू आफ्नो नाममा राखिदिएको खसीको पुच्छर बटुल्दै हिँड्थे । प्राय: चाडपर्व आउनुभन्दा अघि पर्व भाग लिन दमिनी आमैहरू आउनुहुन्थ्यो । जुनसुकै अवसरमा आमा वा भाउजूको पछि लाग्दै इष्टकहाँ आउँथे कान्छा दमाईं, उमेरले मभन्दा जेठा उनी हँसमुख थिए । मीठो बोल्ने, फरासिला र आधुनिक कान्छा दमाईंलाई कान्छो भनेर बोलाइन्थ्यो । लुगा सिउन्जेल आँगनमा ओछ्याइएको सुकुलमा कान्छो भए पनि सुकुलबाहिर पुगेपछि ऊ दमाईं भैहाल्थ्यो । छि:छि: र दूरदूरको चपेटामा परिहाल्थ्यो । 
गाउँका अरू साथीहरू उनीसँग छोइडुम खेलेझै जिस्क्याउँथे । मलाई उनी, घरमा होस् वा बाटामा, सुकुलमा होस् वा पिंढीमा, मन्दिरमा होस् वा होटलमा, सधैं कान्छो दाइ नै लाग्थे, एक चिम्टी पनि न दायाँ न बायाँ । एकपटक उसले जुठो हालेर कचौरामा बाँकी राखेको दही पिउँदा झन्डै ममीको कुटाइ खाएका थिएँ । दही खानुअघि र पछि म मै थिए, ममा कुनै परिवर्तन थिएन । तर पनि किन मलाई छि:छि: र दुरदुर गरे ? त्यो घटनाले त्यसपछि त्यस्तो काम गर्नुअघि मलाई सोच्न बाध्य बनायो । 
हामी अबोध केटाबेटी थियौं तर त्यतिबेला सबैजसोलाई सामाजिक संस्कार सिकाइन्थ्यो : दमाइ र कामीले छोएको खानु हुन्न । हामी कल्पनासमेत पनि गर्न सक्दैनथ्यौं, किन भनेर प्रश्न सोध्ने त परै जाओस् । रहँदा–बस्दा त्यो चलनप्रति हामीलाई यति अभ्यस्त बनाइन्छ कि उनीहरूलाई छुन नमिल्नुको कुनै कारणबिना नै हामी छुवाछूत मान्न थाल्यौं । त्यो प्रश्नले, जसको जवाफ हुन्न, सोधिने मौका पनि कहिल्यै पाउँदैन । अनि सायद हिजोआज खुब भन्ने गरिएको बाहुनवाद त्यहीँबाट सुरु हुँदो हो । 
०००
तर मैले देखेको जात यस्तो छ । भगवान् केवल विश्वास हो, यदि छन् नै भने पनि प्रकृतिभन्दा ठूलो भगवान् को नै हुन् र ? विज्ञानले बोल्यो, पृथ्वी साढे ४ अर्ब वर्ष पुरानो खगोलिय भौतिक पिण्ड हो । एक कोषीय जीवदेखि जीवनको सुरुवात भएको यो संसारमा आजसम्म आउँदा मानिस नै सर्वश्रेष्ठ प्राणी मानिन्छ । कारण उनीहरूसँग तीक्ष्ण दिमाग छ, दिमागको उपयोगले ज्ञान, ज्ञानले प्रविधि हासिल गर्यो अनि त्यही ज्ञान र प्रविधिले संसार जित्यो । 
उनीहरूको अनपेक्षित सफलतासँगै अराजकता बढ्न थाल्यो, जसका लागि नियमको आवश्यकता थियो । हो, नियम बनेर धर्म जन्मियो अनि डरको अनुशासन कायम गर्न भगवान्लाई अस्तित्वमा ल्याइयो । भगवान्लाई हरेक धर्मको मुटुका रूपमा प्रस्तुत गरिएको छ, विधिलाई कार्यान्वयन गर्ने कर्ताका रूपमा । धर्मको खाका कोर्न निकै बुद्धिहरू धेरै शताब्दीसम्म डटेर लागे । ग्रन्थीहरू अनि, लेख–टिपोट, शिलालेख, ताम्रपत्रहरू प्रमाण बनाएर जुटाइयो अनि धर्म र भगवान् एउटा अकाट्य सत्य बन्यो । आज हामी धर्म र भगवान्बिना जिन्दगीको कल्पनासमेत पनि गर्न असमर्थ छांै । प्राय: सबै समाजमा मानिसलाई नियमन गर्न तह र तप्का तोकिएकै हुन्छ । धर्मले कहिल्यै मानिसलाई रंग र जातका आधारमा वर्गीकरण गर्दैन । सामाजिक परम्पराले हो त्यस्तो विभेद सिर्जना गर्ने । 
भौगोलिक अवस्थिति र रहनसहनका दृष्टिले सामाजिक संरचना केही फरक भए पनि आखिर विभेदपूर्ण नै छन् । कहीँ जात भनेर तिनै हाड–छालाका मानिसमध्ये कसैलाई श्रेष्ठ कसैलाई नीच बनाइएको हुन्छ, कहीँ धनी र गरिबका आधारमा, कतै रंगका आधारमा त कतै धर्मका आधारमा । कालान्तरसम्म परम्परा नै बनेर रह्यो । ठूलोले सानालाई पेल्छ, बाठोले सोझोलाई चुस्छ अनी बलियाले निर्धालाई हेप्छ । मान्नुस्–नमान्नुस् चेतना र कानुनबिनाको समाजको दृष्टान्त यही हो, तर अब समयले कोल्टे फेर्‍यो । हिजोको सत्य आज झूट साबित हुँदै आएका कुरा नौला होइनन्, यो क्रम ब्रह्मान्ड रहुन्जेल चलिरहने प्रक्रिया हो ।
०००
समय बलवान् छ र जिन्दगीको दौड अनवरत । आज रेसकोर्समा म हुँला, भोलि अरू कोही, दौडमा सरिक हुन्छन् र आ–आफ्नो भाग लिएर पाखा लाग्छन् । आफ्नो क्षमताअनुसार सानो–ठूलो भाग पाउँछन् । कसैले स्वर्णपदक पाउँछन्, कसैले सान्त्वना । यो रीत हो । ब्रह्मान्ड खुला प्रतिस्पर्धाको खेल मैदान हो, यो मैदानमा आज कान्छो दमाईंले थोर–बहुत इनाम जितेको छ । जुन इष्टले उसलाई काममा लगाइदिएको हो त्यही इष्टलाई उसले आज आफ्नै नक्कली गहना पसलमा काम लगाउँछ । इमिटेसन ज्वेलरीको सुरुको मार्केटमा ऊ खुब जम्यो । छोटो समयमै धेरै पैसा कमाएर पसल मात्र देशभरि १२ वटा खोलेको छ । जातले बाहुन सानाबाबु महिनामा एकपटक गाउँ आउने कान्छो दमाईं कुरेर बस्छन् नमस्कार ठोक्न जसले गर्दा उसले २ सय रूपैयाँ दाम देओस् ।
जसरी ढुङ्गा सबैका लागि उस्तैगरी लडिरहेको हुन्छ, खोला पनि सबैका लागि उही गतिमा बगिरहेको हुन्छ । यो संसारमा अवसर पनि सबैका लागि त्यसै गरी पर्खिरहेको हुन्छ । जसरी कुनै अवसर सानाबाबुका लागि थियो त्यही अवसर कान्छो दमाईंका लागि पनि थियो । कसले के पायो भन्दा पनि जो जति दौडेको थियो उसले त्यति पायो । उनीहरूभन्दा बढी दौडिनेले अझ धेरै पाए । जो आफू समयको गतिसँग दौडिन सफल भयो, समयको गतिलाई नै आफ्नो अनुकूलतामा ढाल्यो र आफ्नो इसारामा अरू धेरैलाई आफ्नो पछाडि आफ्नै अनुकुलतामा दौडाउन सफल भयो, उसले कुम्ल्याउनु कुम्ल्यायो । उसले धनदौलत त थुपार्‍यो नै, थप प्रसिद्धि कुम्ल्यायो । पूरै इतिहास रच्यो । ऊ एक कालखण्डको द्रष्टा नै बन्यो । कान्छो दमाईंले ती सबै त्यति धेरै नपाए पनि वस्तुस्थिति हेर्दा धेरै पायो । लगन र जाँगर नभै पाएको चाहिँ पक्कै पनि होइन ।
साप्ताहिक बाट
ravinems@iom.edu.np
Twitter@ravinems 

No comments:

Post a Comment