अन्तरजातीय विहेले मान्यता नपाउने भएपछि एउटै डोरीमा झुण्डिएर आत्महत्या

सुरेन्द्र भण्डारी-विभेद बिरुद्ध अभियान-माघ ७, २०७३- समाजले अन्तरजातीय विवाहको मान्यता नदिने भएपछि  यहाँका एक जोडीले एउटै डोरीमा झुण्डिएर आत्महत्या गरेका छन् ।

यसरी आत्महत्या गर्नेमा झापाको कनकाई नगरपालिका–६ निवासी अस्मिता तोलामी (सार्की) र सोही ठाउँका ईश्वर भट्टराई रहेका छन् ।

कनकाई नगरपालिका–७ स्थित विरिङ खोला नजिकै २३ वर्षीया तोलामी र उनकै छिमेकी २५ वर्षीय भट्टराईले सिसौको रुखको हाँगामा एउटै डोरीको पासो लगाएर आत्महत्या गरेका हुन् । 


इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले दिएको जानकारी अनुसार बिहान ५ वजे घरबाट निस्किएका उनीहरुले प्लास्टिकको डोरीको प्रयोग गरेर आत्महत्या गरेका छन् । आत्महत्या गरेका उनीहरु अङ्गालोमा बाँधिएर झुण्डिएको देख्दा पनि प्रेम सम्बन्धका कारण यस्तो कठोर निर्णय गरेको हुनुपर्छ, प्रहरी नायब उपरीक्षक थेवेले भने । 

माघ २४ गते केटीको विवाह हुने निश्चित भएको र उनको फूलमाला पनि भइसकेको पारिवारिक स्रोतले जनाएको छ । अस्मिताको विवाह विराटनगर निवासी एक व्यक्तिसँग निश्चित भएर फूलमाला भएको बताइएको छ । भट्टराई भने चालकको काम गर्दै आएका र उनले ट्याक्टर चलाउँदै आएको स्थानीयवासीले बताएका छन् । 

No comments:

Post a Comment