अंशु नेपालीलाई अपाङ्ग भन्दै विद्यालयले भर्ना लिन मानेन

विभेद बिरुद्ध अभियान - २५ पौष - कपिलवस्तु– जिल्ला शिक्षा कार्यालय कपिलवस्तुको बेवास्ताले गर्दा कपिलवस्तुमा अपाङ्गता भएका बालबालिका शिक्षा लिनबाट वञ्चित भएका छन् ।विशेषगरी बहिरा तथा सुस्तश्रवण भएका बालबालिका आधारभूत शिक्षाबाट समेत वञ्चित भएका हुन् । जिल्ला शिक्षा कार्यालयमा अपाङ्गता भएका बालबालिकलाई सहज र सुलभ शिक्षा दिनका लागि कपिलवस्तुमा नौवटा विद्यालयमार्फत विशेष शिक्षा दिने उल्लेख गरेको छ । तर सो सहज र सुलभ शिक्षा कागजमै सीमित रहेको छ ।

कपिलवस्तुको शिवराज नगरपालिका–११ मा बसोबास गर्दै आएकी सुनिता नेपालीले आफ्नो छोरा अंशु नेपालीलाई विद्यालय उमेर पुगे पनि छोरालाई घर नजिकै रहेको बाल शिक्षा निमाविमा भर्ना नलिएको गुनासो गरिन् ।छोराको पढ्ने उमेर पुगिसकेको अवास्थामा विद्यालयले भर्ना नलिएको उनले गुनासो गरिन् । बौद्धिक अपाङ्ग भएको कारणले उनको छोरालाई कुनै पनि सरकारी तथा बोर्डिङ स्कुलले भर्ना नलिएको नेपालीले गुनासो गरिन् ।

अंशुजस्तै कपिलवस्तुका सयौँ बालबालिका शिक्षाबाट वञ्चित रहेको अपाङ्ग महासङ्घले जानकारी दिएको छ । उनीहरुका लागि विशेष शिक्षा दिनुपर्ने अपाङ्ग अधिकारकर्मीले माग गरेका छन् । अपाङ्गता वर्गीकरणअनुसार नीलो ख वर्गको परिचयपत्र लिएपनि छोराले पढ्न नपाउँदै नेपाली परिवार अंशुको भविष्यप्रति चिन्तित बनेको छ ।

बहादुरगन्ज गाविसमा रहेको राम गोरखा उच्च माविले ६ वर्षअघि विद्यालयले उक्त कक्षा सञ्चालन गर्न नसक्ने बारे जिल्ला शिक्षा कार्यालयलाई लिखित जानकारी गराएको थियो । स्रोत कक्षा सञ्चालनका लागि बनाइएको भवनसमेत प्रयोगविहीन बनेको स्थानीय मनिष गुप्ताले बताए ।

अपाङ्गता भएका व्यक्तिको हकहितका लागि काम गर्दै आइरहेको संस्था अपाङ्ग उत्थान समाजले पटकपटक यस विषयमा जिल्ला शिक्षा अधिकारी हरिप्रसाद गौतमलाई अवगत गराए पनि बेवास्ता गरेको अपाङ्ग अधिकारकर्मी तथा अपाङ्ग महासङ्घका केन्द्रीय उपाध्यक्ष देवीबहादुर पोख्रेलले बताए ।विशेष शिक्षा नीतिले अपाङ्गता भएका बालबालिकालाई दिने शिक्षालाई सबैका लागि शिक्षाको प्रमुख अङ्ग बनाउने विद्यालयलाई भौतिकरूपमा अपाङ्गमैत्री बनाउने आवश्यकताअनुसार विशेष विद्यालयको व्यवस्था गरेको र अपाङ्गता भएका बालबालिकालाई सबै तहमा निःशुल्क शिक्षा दिने छात्रवृत्ति दिने नीति अगाडि बढाए पनि कागजमा नै सीमित भएको छ ।

No comments:

Post a Comment