लक्ष्मी हत्याका आरोपितमध्ये तीन जना पूर्पक्षका लागि थुनामा

बिभेद बिरुद्ध अभियान , २१ पुस । सानो वाङ्थली गाविस-७ पौवाडाँडाकी ३२ वर्षीया लक्ष्मी नेपालीलाई गत मङ्सिर २४ गते बिहान उनकै ३४ वर्षीय पति मिलन परियारलगायतले कुटपिट गरेका कारण मृत्यु भएको कर्तव्य ज्यान मुद्दाका आरोपितमध्ये तीन जनालाई जिल्ला अदालत काभ्रेको पुस २१ गतेको आदेशमा पूर्पक्षका लागि थुनामा पठाइएको छ ।
मृतकलाई पोलमा बाँध्न डोरी दिएको भनी आरोप लागेकी २८ वर्षीया निरमाया तामाङलाई भने पच्चिस हजार धरौटी लिएर तारेखमा छाड्नको लागि जिल्ला अदालतले आदेश गरेको छ ।
न्यायाधीश लेखनाथ ढकालले दिएको आदेशमा ‘आरोपितहरूलाई थुनामा राखी पूर्पक्ष गर्नुपर्ने देखिएकाले अदालती बन्दोबस्त १२१ बमोजिम पूर्र्जी दिएर जिल्ला कारागारमा पठाइदिनु’ भनिएको छ । यस्तै ‘निरमाया तामाङको हकमा निजले मृतकलाई मलमूत्र खुवाउन र मार्नमा सहयोग गरेको देखिन नआएका कारण २५ हजार जमानत लिएर तारेखमा राख्न आदेश’ दिइएको छ ।
बहसका क्रममा सरकारी न्यायधिवक्ता राजन हमाल र जाहेरवालाको तर्फबाट अधिवक्ता प्रकाश नेपाली र रामबहादुर मिजारले मृत्युको कारण कर्तव्य भएको जिकिर गरेका थिए । यस्तै, अधिवक्ता रमेशकुमार मैनाली, राजुप्रसाद धिमाल र रामबहादुर मिजार, मिलन परियारका तर्फबाट मोहन साशङ्कर र श्यामकुमार विश्वकर्माले बहसमा भाग लिएका थिए ।
मृतकको शव फेला परेको दिन बिहान पत्नीलाई लौराले हानेको आरोपमा उनका पति मिलन परियार, मृतकलाई सूर्योदय माविको प्राङ्गणमा मङ्सिर २० गते ‘बोक्सी’ भन्दै अभक्ष खुवाएको आरोपमा सानो वाङ्थली गाविस-७ गोदामचौरका २५ वर्षीय शिक्षक हिरा लामा, उनकी आमा ५६ वर्षीया काइली लामा र पोलमा बाँध्नका लागि डोरी दिएको भनी छिमेकी २८ वर्षीया निरमाया तामाङलाई मङ्सिर २४ गते प्रहरीले गिरफ्तार गरी हिरासतमा लिएको थियो ।
‘बोक्सी’को आरोप र कर्तव्य ज्यान शीर्षकमा मृतकका भाइ लोकबहादुर परियारले मङ्सिर २६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा उजुरी दिएका थिए ।
उजुरीमा उनले ‘मङ्सिर २० गते प्रतिवादी हिरा लामा, उनकी आमा काली तामाङ र निरमाया तामाङले मिलेर कुटपिट गर्दा लागेको घाउ चोटपटक हो या मङ्सिर २४ गते प्रतिवादी मिलन परियारले लठ्ठी प्रहार गर्दा लागेको चोटपटकले गम्भीर घाइते भएर मृत्यु भएको हो ? त्यो विषय थाहा भएन तर प्रकरण नम्बर ३ मा लेखिएका प्रतिवादीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान र कानुन बमोजिम कारबाहीका लागि अनुरोध गर्दछु’ भनेका थिए ।
मृतकको शवको पुस ३ गते शिक्षण अस्पताल काठमाडौँमा परीक्षण गरिएको प्रहरीले जनाएको छ । डा. हरिहर वस्ती र डा. गोपालकुमार चौधरीले शव परीक्षण गरी दिएको प्रतिवेदन (FM 073-1087) मा लासको अनुहार, चिउँडो, नाक, घाँटी र शरीरमा निलडाम र काटिएको पाइएको र कुटपिटबाटै लक्ष्मी नेपालीको मृत्यु भएको उल्लेख छ ।
प्रहरीले पुस ७ गते आरोपित चार जनाको पोलिग्राफ परीक्षण गरेको थियो । पोलिग्राफ परीक्षणमा ‘आफूलाई गाली बेइज्जती गरी परपुरुषसँग अनैतिक सम्बन्ध राखेको भनी बोलेका कारण सहन नसकी गाईबस्तुलाई खान राखिएको कुँडो चाउचाउको खोलमा ल्याएर मुखमा दलिदिएको’ काइली तामाङले बताएको प्रहरीले जनाएको छ ।
मृतकका पतिलाई तपाईँले पत्नीलाई कुट्नु भएको हो ? लगायतका प्रश्नहरूमा होइन भन्ने झुटो उत्तर दिएको प्रहरी प्रधान कार्यालयको पोलिग्राफ विभागले दिएको प्रतिवेदन (073-09-08JB)  मा उल्लेख छ ।
यस मुद्दामा जिल्ला सरकारी वकिल कार्यालयले पुस १९ गते जिल्ला अदालत काभ्रेमा अभियोग दर्ता गराएको थियो । सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा बुझाएको अभियोग-पत्रमा घटना मुचुल्कामा बच्चाको कपडामा रगत लागेको, घरको भूँइमा आलो रगत देखिएको, मृतकको नाकबाट रगत बगेको, मृतकको पतिले लौरो मच्चाएर हानेको देख्ने छिरिङ तामाङको बयान, बच्चाहरूलाई गाई किन्ने मानिस खोज्न पठाएर कुटपिट गरिएको, पोलिग्राफ प्रतिवेदनबाट लक्ष्मी नेपालीलाई बिहानको समयमा मृतकका पति मिलनले आफ्नै घरमा कुटपिट गरेको पाइएको उल्लेख छ ।
सरकारी वकिल कार्यालयले प्रस्तुत गरेको अभियोग पत्रमा मृतक लक्ष्मी नेपालीलाई अमानवीय कार्य गरी कुटपिटसमेत गरिएको हुँदा ‘बोक्सी’ आरोप कसुर र सजाय ऐन-२०७२ को दफा ३ को उपदफा १ को खण्ड-छ बमोजिमको कसुर गरेको उल्लेख गरिएको छ ।
शिक्षकजस्तो जिम्मेवार पदमा रहेर उक्त कार्य गर्ने हिरा लामालाई ऐनको दफा ११ (४) बमोजिम थप सजाय गर्न, हिराको आमा काइली लामालाई ऐनको दफा ११ को उपदफा १ (ङ) बमोजिम र निरमाया तामाङले बाँध्नका लागि नाम्लो दिएकाले ऐनको दफा ११ (१) (छ) बमोजिम कारबाहीको माग गरिएको छ ।
कुटपिटबाट लक्ष्मीको मृत्यु भएको सन्दर्भमा मृतकका पतिलगायत तीन जनालाई ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम सजाय गर्न र नाम्लो दिने निरमाया तामाङलाई १७ (३) बमोजिम कारबाहीको माग दावी छ । अभियोग-पत्रमा ५३ प्रकारका कागजातहरू संलग्न गरिएको छ ।
यस घटनाका विषयमा पुस ५ गते राष्ट्रिय मानव अधिकार आयोगले एक विज्ञप्ति निकाल्दै लक्ष्मी नेपालीको मृत्युको घटनालाई दुखद भनेको छ । आयोगले मृतकमाथि भएको दुर्व्यवहारका सम्बन्धमा काभ्रेपलाञ्चोक जिल्लाको प्रहरी कार्यालयमा निवेदन तथा उजुरी नपरेको हुँदा प्रहरी ऐन अनुरुप घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीलाई निर्देशन गरेको थियो ।
-भोजराज तिमल्सिना /इन्सेक बाट साभार 

1 comment:

  1. काभ्रेको लक्ष्मी परियारको मुद्दाको थुन छेक बहसमा थुन छेक आदेशमा जाहेवालाको तर्फबाट म अधिवक्ता राम बहादुर मिजारले बहस पैरवी गरेको हो । विपक्षीको तर्फबाट मैल बहस पैरवी गर्न मिल्दैन र गरेको पनि होईन । यो आदेश लेख्नमा त्रृटी भएको हो । विपक्षीको तर्फबाट अधिवक्ता प्रेम बहादुर ठोकरले बहस गर्नु भएको छ । यो समाचार सच्याईयोस ।

    ReplyDelete