हाम्रो सोच कहिले परिवर्तन गर्ने ? - गोपाल सिवा

विभेद बिरुद्ध अभियान, माघ २- देशमा आवश्यक रोजगारीको ब्यवस्था नहुनु, लामो समयदेखीको राजनितिक द्वन्द तथा अस्थिरता, सामाजीक असुरक्षा लगायतका यावत समस्याहरुका कारण बिदेसिने नेपालीहरुको संख्या पछिल्लो दिनमा अत्याधिक रुपमा बढिरहेको छ । बैदेशिक रोजगार,अध्ययन ,अध्यापन तथा ब्यापार व्यवसायको लागि संसार भरी नेपालीहरु कति संख्यामा बिदेशिएका अर्थात छरिएर रहेका छौ होला त ? बिभिन्न माध्यम भएर बिदेशिने नेपालीको अहिलेसम्म कसैसँग उपयुक्त तथ्यांक नभएपनि  अहिले सम्म ७१ देशमा करिब ४० लाख नेपालीहरु रहेको अनुमान गरिएको छ ।

हाम्रो पहिचानमा गर्व गर्ने हामीले नै हो । त्यसैले, यसको संरक्षण गर्ने जिम्मेवारी पनि हामी सबैको हो । सम्भवत यहि आत्मबोध भएर होला एका तिर विश्वभर छरिएर रहेका नेपालीहरुले संस्थागतरुपमा एकत्रित भै नेपाली भाषा, कला तथा संस्कृतिको संरक्षण एवं सम्बर्धन तथा नेपाली समुदायहरुका हितका लगि कार्य गर्ने उद्देश्यले संस्था खोलेर लागि परेका छन्  । हामी नेपाली भएको नै हाम्रो छुट्टै कला, संस्कृती, संगीत, भाषा-साहित्य लगायतका पहिचानले नै हो र यदि यस्ता पहिचानहरुको संरक्षण समयमै भएन भने र हामि जस्ता युवा पुस्ताले गरिएन भने यस्ता पहिचानहरु लोप भएर जाने छन ।बास्तवमै प्रवासमा रहेका नेपालीहरु जहा जहा रहे पनि  संगठीत हुदै , कला, संस्कृती, संगीत, भाषा-साहित्य, नेपाली समुदायको हितमा लाग्नु र देशको हितका लागि संगठीत हुने कुरा पक्कै पनि देश र देशबासीका लागि सकारात्मक हो ।

त्यस्तै गरि अर्को कुरा विश्वको कुनाकुनामा छरिएर रहेका प्रवासी नेपालीहरुले बिदेशबाट ३ बर्ष ,५ बर्ष वा दश बर्ष काम गरी फर्किएर आउँदा ल्याएको सीप, जाँगर र पूँजीबाट नेपालमै व्यवसाय गरिरहेका पौरखीहरुको धेरै कथाहरु छन । देखे र भोगेका अनुभवहरु स्वदेशका लागि उपयोगी केहि हद सम्म सावित भएका छन । तर बिडम्बना मुलुकप्रति थप जिम्मेवार बन्न सक्ने प्रवासमा रहेका नेपालीहरुले विदेशमा सिकेको सीप, आर्जेको अनुभवको त् प्रयोग गर्छन तर समता मुलक समाजको ब्यबहारिक रुपमा लागु गर्न भने सक्दैनन्  ।समयसँगै विगत र आगतमा समाज द्रुत गतिले परिवर्तन भइरहेको छ । यो राम्रो पक्ष हो, तर त्यही सामाजिक परिवर्तनसँगै नेपाली समाजमा अनेक किसिमका विकृति र विसंगति पनि प्रवेश भइराखेका छन् ।बिदेशमा सवै जात समुदाय मिलेर बसेका हुन्छन  तर नेपाल फर्के पछी धेरैमा जातीय विभेद र छुवाछुतको सोच देखिन्छ ।  यो तीतो यथार्थ हाम्रो समाजसँग छ ।

एउटै गाउँमा वसोवास गर्ने भएपनि अहिले सम्म पनि दलित र गैरदलितका लागि फरकफरक पानीका धारा पर्योग गर्दै आएका , कहिलेकाही एकै गाउ ठाउका पानी भर्ने बेलामा पानीको छिटा पर्‍यो र छोइयो भने सुनपानी छर्किंदै ‘डुम’ले छोइदियो भन्दै गाली गर्ने कथित ठुला जात र साना जात अर्थात पीडक र पिडितहरु धेरै जना प्रवासमा आएर एकै भान्सा , एकै कोठा एकै काम गरेर बसेका छन् । बिस्टको छोरोछोरी र बालीघरे कामि दमाइ सार्कीको छोराछोरीहरु प्रवासमा बस्दा समाजमा व्याप्त जातीय भेदभावपूर्ण व्यवहारले प्रचलित कानुनलाइ समेत चुनौती दिदै आधुनिक सामाजिक संरचनालाइ आफैले असभ्य बनाएको र मानवीय पक्षलाई खिल्ली उडाएको हिजोको संक्रिण र अमानवीय जातीय भेदभावको पर्खाल आफै भत्काएको प्रतित हुन्छ  । जे जस्तो अवस्थामा हामी नेपाली बिदेशीएको भएता पनि विदेशमा हुदा सबै नेपालीको सम्पर्क हुने , सवै नेपालीले समता मुलक समाज बनेर बस्ने र एक अर्काको सम्मान गर्ने स्वाभिमानी सस्कार स्थापित भएको छ ।तर जब प्रवास बाट फर्किएर स्वदेश पुग्छन अनि आफुले निर्माण गरेको समतामुलक बाताबरण र सस्कारको खिल्ली उडाउदै बिदेशमा जे भए पनि यो हाम्रो समाज हो बुढाबुढी वा बावु आमाले मान्दैनन् र बिस्तारै परिवर्तन हुँदै जान्छ भनेर चोखो बन्छन । सार्वजनिक रुपमा विभेद कायम गर्छन  । विदेशमा हुदा आफूले सिकेका सीप, जाँगर र पूँजीका कुरा घरमा आमाबुबालाई सिकाउन सक्नेले समाजमा बुझेर वा नबुझेर, प्रत्यक्ष वा अप्रत्यक्षरुपमा परापूर्वकालदेखि दलित समुदाय माथि सार्वजनिक  हिंसा र शोषण निरन्तररुपमा गर्ने आफ्नो परिवारको  पुरानो सोचलाई आफु उदाहरणीय बनेर सिकाउँन  चाहदैनन   ।  

केहि समय अघि साउदीमा घिमिरे थरका साथि संगै एकै कोठामा भान्सा खाने बस्ने काम गर्ने दैलेखका सार्की थरका मित्र नेपाल जादा घिमिरे  मित्रको चकलेट , घडी , बदाम पारसल लिएर गएका रहेछन । साथीको सामान पुराउन पुगेका  सार्की थरको मित्रको  परिचय थाहा पाईसकेपछि घिमिरेका परिवारले तँपाई हजुर बाट एक्कासि तिमि भन्न थालेको अनुभव सुनाए । पछी मित्रलाइ घर बाट फर्केर बताउदा  गाउका दमै कामीले जधौ भन्दै हिडने गरेको र आफ्नो घरमा चिया खाँदासमेत गिलास माझेर जाने गरेको कुरा भाका हाली हाली सुनाएछन ।जातीय विभेदको अन्तय गर्नका लागि राज्यको कानुन अनुकूल मात्र हैन  तपाई हाम्रो सामाजिक सोचमा परिवर्तन आवश्यक छ । तर बिडम्बनाका साथ् भन्नु पर्छ डण्डहीनताले पराकाष्ठा नाघेको नेपालमा जातीय भेदभाव तथा छुवाछुत प्रथा जस्ता अमानविय भेदभाव तथा समाजिक कुसंस्कार र संस्कृति एव कथित दलित समुदाय प्रति गरिने हिंसा र ज्यादती एउटा ठूलो समस्याको रुपमा आइराखेको छ । यसले हाम्रो समाजलाई निकै भयावह बनाउँदैछ ।  नया नेपाल बनाउन मिलेर जाउ सवै भन्दै अघि लम्केको नेपाली समाज जति नयाँ युगमा प्रवेश गर्दैछ, त्यति नै अजित मिझार , लक्ष्मी परियार संग भएका आपराधिक घटनाका प्रकृतिहरु पनि क्रूर, अमानवीय तथा भयंकर किसिमका देखिंदैछन् । नेपालमा घटेका यी सबै आपराधिक घटनाहरुका प्रकृतिलाई हेर्ने हो भने मानवीय संवेदना, सदाचार, संस्कार, व्यवहार हाम्रो समाजमा योभन्दा क्षतविक्षत हुने कुनै ठाउँ छैन । समाजमा व्याप्त रहेको जातीय विभेद र छुवाछुत  अन्त्य गर्न म बाट केही योगदान पुग्छ भने, किन नगर्ने भनेर सहभागी हामी किन हुन् सक्दैनौ ? म बिदेशमा समता मुलक समाज देखेको आफैले भोगेर आएको छु र मेरो समाजमा रहेको जातीय विभेद र छुवाछुत एव जातिका आधारमा गरिने भेदभाव, सानो वा ठूलो भन्ने जुन प्रवृत्ति छ त्यो अन्त्य गर्नु मेरो पनि कर्तब्य र समाज विकास को लागि अपरिहार्य हो भनेर हामी किन लाग्न सक्दैनौ ?हामीले आफ्नो अनुभव अरुसंग साट्ने र मान्छेको सोचमा परिवर्तन ल्याउन इमान्दार कोशिश किन गर्दैनौ ?

बर्षे देखि हाम्रो समाजमा आर्थिक सामाजिक राजनीतक धार्मिक र जातीय रुपमा पछाडी राखिएको कथित दलित समुदाय सामजिक न्याय, समानता र आत्मसम्मानका लागि संघर्षरत छ। यो समुदाय माथि गरिने हिंसा कथित दलित समुदायलाई मात्र गरिएको हिंसा होइन, सम्पूर्ण नेपाली समाज र सभ्यतामाथि भइरहेको अपराध र हिंसा हो, सबै मानव जातिमाथिको हिंसा हो, यसको अन्त्यका निमित्त  सबैको मौनता तोडिनुपर्छ र यो  तोडिने कार्यको थालनी बिदेशमा हुदा रास्ट्रियता , एकता , भाइचाराको कुरा गर्ने तिनै ४० लाख नेपालीहरु बाट अब सुरु गरिनु पर्छ । जसले दलित माथि हिंसा गर्छ, त्यही अब सुध्रिन जरुरी छ । हामी जहाँ रहे, भए पनि दलित माथि हुने कुनै पनि खालको अपराध र हिंसाको विरुद्धमा एकजुट हुनु अत्यावश्यक छ । 

केहि बर्ष अघि नेपालमा नाम कमाएका एक जना नायकले अमेरिका बसाइ बाट फर्किदा अमेरिकामा हुदा छुने नहुने छोएको, खाने नखाने कुरा खाएको भन्दै आफु भित्रको व्याप्त अन्धविश्वासहरू बाट चोखिन  तथा मुक्त हुन् पशुपतिमा नुहाएर घर आएको भन्दै अभिव्यक्ति दिए ।  बिदेशमा  हुदा त्यहाको बिकास , समाजको सस्कार , सभ्यता देखेर कहिले होला हाम्रो नेपालमा यस्तो भन्दै कलपना  गरि देशमा फर्केर आफै विभेद गर्ने , समाजमा पुरातन सोचलाई हावी बनाउने हाम्रो सोच कहिले परिवर्तन गर्ने ?  मुलुकप्रति थप जिम्मेवार अनुशरण गर्न सकेमा राष्ट्रप्रतिको आफ्नो जिम्मेवारीलाई केही रुपमा भए पनि पुरा गर्न मद्दत पुग्ने छ र हामीले विदेश बाट सिकेर आएको सीप, जाँगर , पूँजी र सस्कार लागु भै समुनत नेपाल बने कुरामा दुइमत छैन ।

No comments:

Post a Comment