तुलसी चन्द्र स्मृति पुरस्कारबाट साहित्यकार गोविन्द नेपाली सम्मानित


विभेद बिरुद्ध अभियान  -काठमाडौँ, पुस २२ गते । साहित्यकार गोविन्द नेपाली (दिनदुःखी)लाई तुलसी चन्द्र स्मृति पुरस्कारबाट सम्मानित गरिएको छ । तुलसी चन्द्र स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा शताब्दी पुरुष सत्यमोहन जोशी र राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले संयुक्त रुपमा उहाँलाई सो पुरस्कार प्रदान गर्नुभयो । पुरस्कारको राशी रु. १५ हजार रहेको छ । नेपालीलाई ‘पचहत्तरकै चिनारी’ नामक कविता सङ्ग्रह गरे वापत सो पुरस्कार प्रदान गरिएको हो । 

साहित्यकार हेमराज पाण्डेद्वारा प्राप्त गरेको लेखकीय पारिश्रमिक, पुरस्कार र पुस्तक बिक्रीबाट प्राप्त गरेको रकमबाट आफ्ना हजुरबुबा तुलसीराम पाण्डे र हजुरआमा चन्द्रकला पाण्डेको स्मृतिमा पहिलोपटक उक्त पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । सो अवसरमा शताब्दी पुरुष जोशीले साहित्यका नेपालीले ७५ वटै जिल्लाको परिचयात्मक विवरणलाई फूलको मालामा उनेर कवितामार्फत जनतामाझ पु¥याउनु नयाँ कीर्तिमान भएको विचार व्यक्त गर्नुभयो । 

उहाँले नेपाली राष्ट्रियता झल्कने खालको खोजमूलक पुस्तकको आवश्यकता भएको बताउँदै केही मात्रामा प्रकाशित भए तापनि त्यो पूर्ण नभएको टिप्पणी गर्नुभयो । त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष शर्माले प्रत्येक जात जाति, भाषा संस्कृतिको इतिहास खोज्नुपर्ने भनाइ व्यक्त गर्नुभयो । त्यसैगरी सम्मानित साहित्यकार नेपालीले यस किसिमको सम्मानले आफूलाई हौसला प्राप्त गर्नुका साथै थप कृति प्रकाशन गर्न उत्प्रेरणा मिल्ने विचार व्यक्त गर्नुभयो । 

जुम्लामा जन्मिएका नेपालीले ‘पचहत्तरकै चिनारी’ कविता सङ्ग्रहमा ७५ जिल्लाका इतिहास, भूगोल, किंवदन्ती, स्रोत सम्पदा, संस्कृति रहन–सहनलाई कवितामार्फत प्रस्तुत गर्नुभएको छ । उहाँले हालसम्म चौधवटा कृति प्रकाशित गर्नुभएको छ ।

No comments:

Post a Comment