लक्ष्मी परियारका छोरालाई अष्ट्रेलियाबासी नेपालीहरुको आर्थिक सहयोग

विभेद बिरुद्ध अभियान -पुस २३ – सिड्नी । बोक्सीको आरोपमा अमानवीय ढंगबाट हत्या गरिएकी काभ्रेकी लक्ष्मी परियारका छोराहरुलाई अष्ट्रेलियाबासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।शुक्रबार मध्यान्ह राष्ट्रिय दलित आयोगको कार्यालय ललितपुरमा एक कार्यक्रम आयोजना गरी प्रवासमा संकलित एक लाख ११ हजार एक सय ११ रुपैयाँ लक्ष्मी परियारका छोराहरुलाई बुझाइएको हो । अष्ट्रेलियाको उत्तर सिड्नीस्थित हन्स वेमा आफ्ना बाबुआमासँग बसिरहेका १४ वर्षीय सुवाष परियारले राष्ट्रिय दलित आयोगको कार्यकक्षमा उक्त रकम लक्ष्मी परियारका छोराहरुलाई हस्तान्तरण गरेका हुन् ।काभ्रेमा त्यस्तो अमानवीय घटना भएको आम सञ्चार माध्यमहरुमा आएपछि निकै मर्माहत भएकी सुवाष परियारकी आमा रिता परियारले केही रकम पठाउने सोचाइ बनाएकी थिइन् । उनले आफ्ना साथीहरुलाई पनि आफ्नो योजनाबारे जानकारी गराइन् । फेसबुक ग्रुपबाट समन्वय गर्न सुवाषले सघाए ।
यसबाट जम्मा भएको रकम हाल स्कुल विदामा नेपाल गएका बेला सुवाषले हस्तान्तरण गरेका हुन् ।यहाँको कुरिङगार्ड क्रियटिभ आर्ट स्कुलमा वबिन हेड रोडमा हालै कक्षा आठ पास गरेका सुवाषको चित्रकला र नृत्यमा विशेष रुचि छ । गोर्खा जौबारीमा घर र मनकामना मावली भएका सुवास लक्ष्मी परियारको हत्याको खबर र छोराहरुको अवस्था देखेर निकै दुःखी भएका छन् ।काठमाडौंबाट उनले शुक्रबार आफ्नी आमा रितालाई टेलिफोनमा भने, ‘आमा यहाँ निकै दुःख रहेछ । म फर्किएपछि यी भाइहरु (लक्ष्मी परियारका छोराहरू)का लागि मेरो स्कुलका साथीहरुसँग पनि सहयोग जुटाउँछु र पठाउँछु ।’
उनी स्कुलमा प्रथम हुने भएकाले शिक्षक र विद्यार्थीहरुबाट सहयोग जुट्नेमा आशावादी छन् ।उनका बुवा मित्र परियारले हालै मक्वारी विश्वविद्यालयबाट विद्यावारिधी गरेका छन् ।

No comments:

Post a Comment