प्रतिनिधिसभा र प्रदेशसभामा ७ दलित विजयी

विभेद बिरुद्ध अभियान - मंसिर २८, २०७४-प्रतिनिधिसभा र प्रदेशसभामा वाम र लोकतान्त्रिक गठबन्धनबाट उम्मेदवारी दिएका १० मध्ये ७ दलित उम्मेदवार विजयी भएका छन् । प्रतिनिधिसभामा ३ र प्रदेशसभामा ४ सांसद सबै वाम गठबन्धनबाट विजयी भएका हुन् ।वाम गठबन्धनबाट तीन जनाले चुनाव जिते । कांग्रेसले प्रतिनिधिसभामा एक जना पनि दलित उम्मेदवार उठाएको थिएन । प्रदेशसभामा भने देशभर गरी एक जनालाई टिकट दिएको थियो । कास्की–१ को प्रदेशसभा (क) मा टिकट पाएका कांग्रेस केन्द्रीय सदस्य जीवन परियार माओवादी केन्द्रका दीपक कोइरालासँग पराजित भए ।

प्रतिनिधिसभामा रूपन्देही–१ बाट एमालेका स्थायी कमिटी सदस्य छविलाल विश्वकर्माले चुनाव जिते । उनले बहालवाला खानेपानी राज्यमन्त्रीसमेत रहेका लोकतान्त्रिक गठबन्धनका उम्मेदवार अब्दुल रज्जकलाई पराजित गरेका थिए । पूर्वकृषि तथा सहकारी मन्त्री भइसकेका विश्वकर्माको स्थायी घर बुटवल हो । उनी २०७० को निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए । 

एमालेकै पोलिटब्युरो सदस्य जगतबहादुर विश्वकर्मा कास्की–३ बाट प्रतिनिधिसभामा निर्वाचित भए । उनले कांग्रेसका पुराना नेता शुक्रराज शर्मालाई हराएका थिए । प्रतिनिधिसभामा निर्वाचित हुनेमा बाँकेका महेश्वर गहतराज (अथक) पनि हुन् । माओवादी केन्द्रबाट बाँके–१ मा उठेका उनले कांग्रेसका माधवराम खत्रीलाई पराजित गरे । सप्तरी–१ बाट उम्मेदवारी दिएका माओवादी केन्द्रकै अशोककुमार मण्डल भने संघीय समाजवादी फोरमका डा. सूर्यनारायण यादवसँग पराजित भए ।

प्रदेशसभामा वाम गठबन्धनबाट उम्मेदवार बनाइएका ५ मध्ये ४ ले चुनाव जितेका छन् । बारा–४ को प्रदेशसभा (क) मा एमालेका सुन्दरकुमार विश्वकर्मा विजयी बने । उनले कांग्रेसका ओमकृष्ण कार्कीलाई हराए । मुगु–१ को प्रदेशसभा (क) मा एमालेकै दानसिंह परियार चुनिए । उनले कांग्रेसका तिलकबहादुर मल्ललाई पछाडि पारेका थिए ।

रुकुम पश्चिमको प्रदेशसभा (क) मा माओवादी केन्द्रका रातो कामीसँग कांग्रेसका कृष्णबहादुर रोकायाले पराजय भोगे । दलित उम्मेदवारमध्ये सबैभन्दा धेरै मतान्तरले जित्ने उनै हुन् । कामीले १६ हजार ८ सय १० मत ल्याउँदा रोकायाले ८ हजार ५ सय ७७ मत पाए । माओवादी केन्द्रका मानबहादुर सुनार कञ्चनपुर–३ को प्रदेशसभा (ख) बाट विजयी भए । उनले कांग्रेसका बेलबहादुर रानालाई हराएका थिए । काठमाडौं–३ को प्रदेशसभा (क) मा माओवादीबाट उठेका रुद्र बराइलीले पराजय बेहोर्नुपर्‍यो । उनी कांग्रेसका छिरिङदोर्जे लामासँग १ हजार १ सय १३ मतान्तरले पराजित भए । प्रतिनिधिसभामा देशभर १ हजार ९ सय ४४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा थिए । ३ सय ३० प्रदेशसभाका लागि ३ हजार २ सय ३८ उम्मेदवार चुनावी मैदानमा थिए । वाम र लोकतान्त्रिक गठबन्धनले दलित उम्मेदवारलाई प्राथमिकता नदिँदा दलित सांसदको संख्या कम भएको हो । प्रदेश १ मा ठूला दलबाट दलित उम्मेदवार नै थिएनन् । साना दलबाट भने थुप्रै दलित उम्मेदवारले चुनावमा प्रतिस्पर्धा गरेका थिए ।

मुगुमा चरम जातीय भेदभाव ब्यहोर्दै आएका दलित समुदायका एक युवा प्रदेशसभामा निर्वाचित भएका छन् । मुगु–१ को प्रदेशसभा ‘क’ बाट एमाले उम्मेदवार दानसिंह परियार विजयी भएका हुन् । छायानाथ रारा नगरपालिका–१ श्रीनगरका ३२ वर्षीय परियारले ५ हजार ६ सय ५३ मतसहित प्रदेशसभाको ढोका खोले । उनले कांग्रेसका तिलकबहादुर मल्ललाई ३ सय ५४ मतान्तरले हराएका थिए । १३ वर्षकै उमेरमा महाकाली उच्च माविबाट विद्यार्थी राजनीति सुरु गरेका थिए, परियारले । ०६५ मा अनेरास्ववियुको केन्द्रीय सदस्य बने । ०६७ मा अनेरास्ववियुको सचिवालय सदस्य र ०७४ मा पार्टीको सचिवालय सदस्य भएका उनी शिक्षाशास्त्र र कानुनमा स्नातक हुन् । 

जनआन्दोलनका बेला तीन दिन जेल परेका उनले दलित समुदायको हकहितका लागि आफू क्रियाशील रहने बताए । पार्टीमा लामो संर्घषपछि प्रदेशसभामा प्रतिनिधित्व गर्ने अवसर पाएको उनको भनाइ छ । ‘एकातिर वाम गठबन्धन र अर्कोतिर दलित समुदायको व्यक्ति भएकाले मलाई चुनाव जित्न सहज भयो,’ उनले भने ।
साभार :- दिपक परियार /कान्तिपुर 

No comments:

Post a Comment