गरिबीको चपेटामा परेको मुसहर समुदायको दैनिकी चिसोले थप कष्टकर, दुईको ज्यान गयो

विभेद बिरुद्ध अभियान - किशोर बुढाथोकी / पुस १० विराटनगर : चिसोका कारण एक महिनाकी छोरी गुमाउनुपरेको पीडाले सुन्दरहरैंचा नगरपालिका–५ की १८ वर्षीया मनीषा ऋषिदेवलाई पिरोलिरहेको छ। साताअघि छोरीको मृत्यु भएको घटनाले उनको छाती भतभती पोलिरहेको छ।घरमा पुग्ने जो कोहीसँग उनी आँखाबाट आँसुका धारा बगाउँदै छोरी बचाउन नसकेको पीडा सुनाउन थाल्छिन्। ‘घरमा सन्तानको आगमन हुँदा परिवारमा जुन खुसी थियो तर शरीर ढाकिदिने न्यानो कपडा नभएर जीवित राख्न नसक्दा त्यो सबै सकिएको छ’, उनले भनिन्, ‘परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएका कारण समस्या भएको हो। यस्तो दुःखमा साथ दिने मनकारी कोही पनि भेटिएन।’मनीषाले चिसोका कारण पहिलो सन्तान बचाउन नसक्दा धेरै पीडा भइरहेको दुखेसो पोखिन्। उनले सुत्केरी भएपछि भरपेट खान र पोसिलो खानेकुरा पनि पाएकी छैनन्।

शिशुको ज्यान गए पनि स्थानीयको सहयोगमा परिवारका सदस्यले सुत्केरी आमालाई चाहिँ बल्लतल्ल बचाए। ‘चिसोले शिशुको मृत्यु भयो भन्ने सुनियो। गएर बुझ्दा हामीले आमालाई पनि समस्या भइरहेको पायौं’, स्थानीय लहरी ऋषिदेवले भनिन्, ‘न्यायो कपडा नहुँदा शिशुको मृत्यु भए पनि सुत्केरी अवस्थाकी आमालाई चाहिँ न्यानो कपडाको व्यवस्था गरेर बचाउन सक्यौं। न्यानो कपडा र खानेकुरा नहुँदा आमाको स्वास्थ्य अवस्थासमेत खस्किँदै गएको रहेछ।’४५ वर्षीय लतु ऋषिदेवको पनि चिसोले कठ्यांग्रिएर मंसिर अन्तिम साता मृत्यु भयो। लतुका भाइ बद्री ऋषिदेवले शरीर ढाक्ने न्यानो कपडाको अभाव हुँदा दाजुले मृत्युवरण गर्नुपरेको बताए। ‘हामीसँग जाडोमा लगाउने न्यानो कपडा पनि छैन। कपडा किन्ने पैसा पनि छैन’, बद्रीले भने, ‘मुसहर समुदायलाई बिहान–बेलुका छाक टार्न नै धौधौ परिरहेको हुन्छ। अरू कुराको व्यवस्था गर्न त सम्भव नै छैन।’

दिन–प्रतिदिन चिसो बढ्दै जाँदा सुन्दरहरैंचा ५ र ६ का मुसहर समुदायको दैनिकी कष्टकर बन्दै गएको छ। न्यानो कपडा नहुँदा परिवारका सदस्य गुमाउनुपरेको पीडाले समुदायलाई नै पिरोलिरहेको छ। यहाँ मुसहर समुदायका ३५ परिवारको बसोबास छ। टाटीले बारबेर गरेर बनाएका घरमा जाडोमा लगाउने कपडाको व्यवस्था छैन। समुदायको कमजोर आर्थिक अवस्थाका कारण छाक टार्न धौधौ छ।

यो बस्तीमा ८ कक्षाभन्दा बढी पढेका कोही छैनन्। गाउँमा सरकारी विद्यालय रहे पनि अध्ययनका लागि मुसहर समुदायका बालबालिका नआउने र आए पनि ८ कक्षाभन्दा माथि कसैले पनि नपढेको श्रीलाल आधारभूत विद्यालयका प्रधानाध्यापक टेकबहादुर मोक्तानले बताए। ‘यो समुदायमा जनचेतना र शिक्षाको पनि कमी छ’, उनले भने, ‘पढ्नका लागि विद्यालय आउने बालबालिका अक्षर चिन्ने भइसकेपछि भने मजदुरी गर्न जानुपर्ने बाध्यता छ।’ यो समुदायमा परिवारको आर्थिक अवस्था कमजोर हुनु, अशिक्षा, जनचेतनाको अभाव, जीविकोपार्जनमा समस्या मुख्य कारक बनेको उनले बताए।

स्थानीय रुदाइ ऋषिदेवले मजदुरी गरेर दिन काटे पनि चिसोमा रात काट्न समस्या हुने गरेको सुनाए। ‘न्यानो कपडा नहुँदा आच्छु–आच्छु गरेर रात काट्नुपर्छ। कसैले न्यानो कपडा दिए राहत हुन्थ्यो’, उनले भने। मजदुरीको कमाइले खानेकुराको जोहो मात्र गर्न सकेको उनले सुनाए।चिसोले बस्तीका बालबालिका र वृद्धवृद्धा बिरामी पर्न थालेका छन्। उनीहरूको अनुहार र शरीरका अंग सुनिन थालेका छन्। बिरामी पर्दा अस्पतालसम्म पुर्‍याउन पैसा नहुने र कतिपयले अकालमै ज्यान गुमाउनुपर्ने अवस्था रहेको रुदाइले बताए।

‘चिसो मौसम सुरु भएपछि हाम्रा दुःखका दिन सुरु हुन्छन्। धेरैसँग सहयोग मागिसके पनि कसैले वास्ता गर्दैनन्’, उनले भने, ‘पुस पहिलो साता बित्दा चिसोले दुई जनाको मृत्यु भइसकेको छ। यसपालिको जाडोमा कतिले ज्यान गुमाउनुपर्ने हो भन्ने टुंगो छैन।’चुनावका बेला वासस्थान, खाना र न्यानो कपडा दिने भन्दै आएका नेता त्यसपछि फर्किएर नआएको गुनासो गर्दै लहरीले भनिन्, ‘चिसोले गाउँमा दुई जनाको मृत्यु भइसक्दा पनि अहिलेसम्म फर्किएर आएका छैनन्।’ स्थानीय अर्काको ट्र्याक्टरमा मजदुरी गरेर कमाइ गर्छन्। दिनभर ट्र्याक्टरमा काम गरेर आएको पैसाले जीविका चलाउने गरेको उनले सुनाइन्।

सुन्दरहरैंचा–६ का वडाध्यक्ष जीवन राईले मुसहर समुदायको दैनिकी निकै कष्टकर बनेको सुनाए। भने, ‘गरिबीको चपेटामा परेको मुसहर समुदायको दैनिकी चिसोले थप कष्टकर बनेर गएको छ।’अन्नपूर्ण पोष्टमा समाचार छ ।

No comments:

Post a Comment