दलित बस्तीमा चिसोको कहर, पराल ताप्दै, परालमै सुत्दै !

विभेद बिरुद्ध अभियान, पुस १२   - शीतलहरले तराई–मधेसको जनजीवन प्रभावित भएको छ । आर्थिक अवस्था कमजोर भएका विपन्न समुदाय सकसमा छन् । न्यायो लुगाको अभावमा सुकुम्बासी र दलित समुदाय साँझ–बिहान परालको घुर ताप्छन् । राति परालकै ओछ्यान बनाएर सुत्न बाध्य छन् ।
सुत्ने ठाउँ अभावमा सिरहा धनगढी माई ११, मुसहर बस्तीकी गौरी सदायको ४ जनाको परिवार झुपडीमै रात काट्न बाध्य छन् । ज्याला मजदुरीबाट गुजारा चलाउँदै आएको उनको परिवारलाई शीतलहरले पिरोलेको छ । ‘जाडो महिनामा मजदुरीमा पनि जान सकिँदैन,’उनले भनिन्, ‘२ महिना साहुबाट ऋण लिएरै गुजारा चलाउँछौं ।’
भदैया बासाजोडीका भुरे सदाय परिवार पनि झुपडीमै रात काट्छन् । बाटोछेउको ६ धुर ऐलानीमा बनेको झुपडीमा ३ छोराबुहारी र नातिनातिनासहित १३ जना कोचिएर सुत्छन् । भुरेको परिवार ‘परालकै ओछ्यान र परालकै घुर’ बालेर रात काट्न बाध्य छन् । दलित बस्तीका अधिकांशको जाडो काट्ने मेलो भनेकै पराल र घुरको सहारा लिनु हो । गर्मीमा खुला ठाउँमासुतेर रात कटाए पनि जाडोमा रात कटाउन सकस बेहोर्नुपर्छ । लहान बहुमुखी क्याम्पसका मनोविज्ञान विभागका उपप्राध्यापक कन्हैया भट्ट अशिक्षा र गरिबीको पराकाष्ठा, घरको बनावट र प्रकृतिलाई आफ्नो पहुँचमा राख्न नसक्दा दलित समुदाय प्रताडित भएको बताउँछन् ।
दलित अधिकारकर्मी उमेश विसुन्के नाजुक आर्थिक अवस्थाकै कारण चिसोमा गरिब, सुकुम्बासी परिवार बढी प्रभावित हुने बताउँछन् । ‘जाडोबाट अन्य समुदाय र सर्वसाधारण पनि प्रभावित हुन्छन्, तीमध्ये पनि विशेषगरी निमुखा, सुकुम्बासी परिवार बढी समस्यामा पर्छन्,’ उनले भने ।
कतिपय सर्वसाधारणले चिसोकै कारण अकालमा ज्यान गुमाउनुपर्ने बाध्यता छ । सिरहाका स्थानीय अस्पतालमा चिसोजन्य रोगका कारण दैनिक ४५ भन्दा बढी बिरामी उपचारका लागि आउने गरेको चिकित्सकले बताए ।
अर्का अधिकारकर्मी राजकुमार राउत कुर्मी तराईमा शीतलहरका बेला केही गरिब बस्तीमा पुगेर सीमितलाई कम्बललगायत राहत वितरण गरेर मात्र नहुने बताउँछन् । ‘यसका लागि दीर्घकालीन योजना चाहिन्छ,’ उनले भने, ‘तत्कालको राहत क्षणिक मात्र हुन्छ ।’ उनले शीतलहरबाट बच्ने उपायबारे सरकारले नै गरिब, दलित, सुकुम्बासी बस्तीमा जनचेतना अभियान सञ्चालन गर्नुपर्ने र न्यानो कपडा खरिदका लागि सहयोग गर्नुपर्ने सुझाव दिए ।
 शीतलहरबाट बच्न सतर्कता
सिरहाका गरिब तथा विपन्न वर्गलाई शीतलहरबाट जोगाउन जिल्ला प्रशासन कार्यालयले विशेष सतर्कता अभियान थालेको छ । चिसोबाट गरिब तथा विपन्न समुदाय प्रभावित हुन थालेपछि कार्यालयले सरोकारवाला निकायको सहयोगमा न्यून आय भएका त्यस्ता परिवारका लागि २ हजार थान कम्बल तथा न्यानो कपडा वितरणको तयारी थालेको छ । केही दिनदेखि बढ्दै गएको शीतलहरले जनजीवन प्रभावित हुन थालेपछि प्रजिअ श्रीकृष्ण श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साताभित्रै राहत प्याकेज वितरणको योजना बनाएको छ । जिल्ला वन कार्यालयले मुख्य बजार क्षेत्रमा दाउरा वितरण थालेको छ ।
 ‘गरिबलाई काल’
सर्लाहीका विपन्न मुसहर समुदायका लागि चिसो मौसम निकै कष्टकर हुन्छ । ओढ्ने र न्यानो कपडा अभावमा ती बस्तीमा जाडो प्रकोप बनेर आउँछ । चन्द्रनगर गाउँपालिकाको अति विपन्न मुसहर बस्तीमा झुप्रो घरभित्र परालमा सुतेर रात कटाउने धेरै छन् । साँझबिहान पराल बालेर आगो ताप्ने र राति परालकै बिछ्यौनामा सुतेर जाडो छल्ने दिनचर्या जस्तै बनेको छ ।
चन्द्रनगर ३ का श्याम माझी तराईको पोल्ने घामको तुलनामा चिसो मौसम ज्यादै कष्टकर हुने गरेको बताउँछन् । ‘गाउँपालिकाभरिमा ५ सयबढी घरधुरी मुसहर छन्,’ उनले भने, ‘जाडो काट्न सबैलाई उस्तै समस्या छ ।’ झुप्रोमा बाख्रापाठा र मानिस सँगै सुत्नुपर्छ । चिसो छेक्ने प्रमुख अस्त्र भनेकै पराल हो । परालको ओछ्यानमा सुत्ने र त्यसैको गुन्द्री, चटाई ओढ्नु उनीहरूको बाध्यता हो । सम्पत्तिको नाममा पशुबस्तु मात्र छन् । चोरिने डरले भित्रै बाँध्छन् ।
दैनिक मजदुरी गरेको न्यून ज्यालाले खानै ठिक्क हुन्छ । जाडोमा कपडा किन्ने पैसा नै नभएपछि परालकै भरमा रात कटाउनुपर्ने अवस्था रहेको माझीले बताए । ‘कुनै पनि कपडा एउटा सिजनभन्दा बढी टिक्दैन,’ उनले भने, ‘कपडा र सिरक राख्ने ठाउँ नभएर हरेक वर्ष नयाँकिन्नुपर्ने हुन्छ । मजदुरी गरेको पैसाले किन्न सक्ने अवस्था छैन ।’
अधिकांश ऐलानी जग्गामा बसोबास गर्छन् । बिहानबेलुका पराल बालेर राति अबेरसम्म ताप्छन् । र, त्यही परालमा सुतेर जसोतसो रात कटाउँछन् । मुसहर समुदायका अगुवा पाचु माझीले चेतना र धन अभावले गरिब बस्तीमा जाडो दैवी विपत्तिकै रूपमा आउने गरेको बताए ।
गर्मी महिनाको टन्टलापुर घाममा काम गर्न सजिलो मान्ने मुसहर समुदायलाई जाडोले भने सताउने गरेको उनी बताउँछन् । ‘शीतलहरचलेका बेला काममा समेत जान नसक्ने अवस्था हुन्छ,’ उनले भने, ‘दिनभर आगो तापेर जीउ तताउनुपर्छ । न्यानो ओढ्ने नभएर रातभरि जीउ नतातेपछि भोलिपल्ट काम गर्न सक्दैनन् । रोगव्याधि नलाग्ने भने पनि पोसिलो खाना र न्यानो कपडा अभावमा मुसहर समुदाय भने जाडोकै बेला बढी बिरामी पर्छन् ।’
न घर न ओछ्यान
वीरगन्ज महानगर १७ अलौंकी ७० वर्षीया एकल महिला घोघरी देवी चमइन सोमबार साँझ घाँस काँटेर आउँदै थिइन् । घरमा पशुबस्तु नपालेकी उनले छिमेकीका लागि घास काटेर ल्याएको बताइन् । ‘के गर्नु म एक्ली विधवा,’ उनले भनिन्, ‘छिमेकीलाई यति घाँस दिए बेलुकाको छाक टर्छ । रातभरि चिसोले ठिहिरिए पनि सुत्न भोको पेटले कहाँ सकिन्छ र ?’
घोघरीकै जस्तो पीडा टोलकी अर्की वृद्धा रामपति देवी रामले पनि सुनाइन् । ‘घरमा चार जना छौं,’ ७२ वर्षीया रामपतिले भनिन्, ‘हाम्रो पनि सिरक र डस्ना त पराल नै हो नि बाबु । कहाँबाट ल्याउनु कम्बल, सिरक र डस्ना ।’
भmन्डै सय परिवार बसोबास गर्ने चमारटोलका अधिकांश घरधुरीको यही पीडा छ । पश्चिमबाट चल्ने चिसो सिरेटोको कहर न उनीहरूको फुसको घरको छानो र भित्ताले रोक्न सक्छ, न परालको सिरक र डस्नाले नै । मजदुरी गरेर जीविका चलाउने टोलवासी बिहान घाम नछिप्पिउन्जेलसम्म परालको घुरको सहारामा हुन्छन् । जाडो छल्न अधिकांश टोलवासीको आङमा स्वेटर, ज्याकेट त परेकै छैन । अधिकांश पुराना थोत्रा र पातला कपडाको भरमा जीवन गुजारिरहेका छन् ।
तराईमा बर्सेनि आउने शीतलहर र जाडोले सर्वाधिक पीडा दिने यहाँका कथित दलित समुदायलाई नै हो । उनीहरूसँग न त जाडोमा टाउको लुकाउन पक्की घर नै हुन्छ । न रातमा तातो ओछ्यान । जाडो आफूहरूका लागि बर्सेनि कहर बनेर आउने स्थानीय जलिल पवरियाले बताए । ‘हामी गरिब असहायका लागि त गर्मी मौसम नै राम्रो, जहाँ सुते पनि हुन्छ, आङ नाङ्गोभए पनि हुन्छ,’ उनले भने, ‘जाडोमा सिरक डस्ना र स्वेटर–ज्याकेट हामीले कहाँ पाउनु ।’
यस्तो जाडोमा आफूहरूको जीवन कष्टकर बन्दा पनि सरकार त के गाउँका नेता र अगुवाहरूले पनि पीडा नबुझिदिने गरेको गुनासो उनले सुनाए । ‘अरू त परै जाऊन्,’ जलिलले भने, ‘३ महिनामा २ पटक हाम्रो दैलोमा भोट माग्न आउने नेताहरू अहिले कता हराए पत्तै छैन ।’

कान्तिपुर दैनिकमा प्रकासित सिरहाबाट भरत जर्घामगर, सर्लाहीबाट अमन कोइराला र पर्साबाट शंकर आचार्यको रिपोर्ट

No comments:

Post a Comment