पर्साका दलित भन्छन्, ‘नेताहरु भोट त माग्छन्, तर हाम्रोमा पानी पिउँदैनन्’

विभेद बिरुद्ध अभियान - वीरगंज ,१८   मंसिर-  पर्साका दलित तथा अल्पसंख्यक समुदायले राजीतिक दलका नेताहरुको विकास नारा र व्यवहारबाट आजित भइसकेको बताएका छन्।
नेताहरुको भनाई र गराई फरक हुने गरेकाले आफूहरुले नेताको आश्वासनमा विश्वास गर्न छोडेको उनीहरुले बताएका छन्। पर्सामा करिब ८० हजार हाराहारीमा डोम, चमार, मुसहर, मलाह लगायतका अल्पसख्यक समुदायको बसोबास छ।

संविधानमा समाजिक कुरीति छुवाछुत भेदभाव हटे पनि पर्सामा यस्तो सामाजिक कुरीति अझै रहनु दु:खद कुरा भएको उनीहरुको भनाई छ।पर्सामा भर्खरै गठन भएको ‘नेपाल दलित अल्पसंख्यक कल्याण संस्थाका’ अध्यक्ष धर्मराज पासवानका अनुसार पर्साका सहरदेखि ग्रामिण भेगमा उच्च कथित जातिले दलित अल्पसंख्यकलाई हेपेर राखेका छन्।

‘पर्साको गाउँमा दलित बस्तीमा एउटा धारा पनि छैन, कसको कमजोरी हो? बस्न र खानु त टाढाको कुरा हो। सार्वजनिक धारामा पानी भर्न दिँदैनन्,’उनले भने,‘चुनावमा हिड्ने दलका उम्मेदवारहरु मात्र भोट माग्न मुख देखाउँछन्। कसैले दलितको घरमा पानी पिउन चाहँदैनन्, कसरी विश्वास गर्ने?’खेतीपातीको काममा मजदूरी गर्ने समुदाय त्यही दलित र विपन्न हुन्। उनीहरुले बाली भित्र्याएर दिएको अन्नमा छुवाछुत हुँदैन तर गाउँमा बसोवास गर्ने बेला छुवाछुत भयो रे, उनले भने।

उनले दलितलाई प्राचीन समयदेखि उपयोग मात्र गरिदै आएको बताए। उनको प्रश्न थियो,‘दैनिक तीन किलो धानमा ८ घण्टा काममा खटाइन्छ, चुनावमा दारु मासु खुवाएर भोट खसाल्न लगाइन्छ, आजसम्म अरु के नै गरिन्छ दलितलाई?’समाजिक काम र धार्मिक कार्यमा पनि दलितसँग गैरनागरिक सरहको व्यवहार गर्ने गरेको संस्थाका उपाध्यक्ष सुनिल पासवान बताउँछन्।वीरगंजमा विज्ञान विषय लिइ स्नातक गरिहेका पासवानले तराईका जिल्लामै यस्तो हविगत देखिने गरेको बताए। आसन्न चुनावमा आफूहरुका लागि नेताहरुको ठोस प्रतिबद्धतासमेत नआएको उनले बताए।

पर्साका दलित अल्पसंख्यकमध्ये आफूहरुको सम्पर्कम ३२ हजार परिवार आइसकेका र अब आफना हकअधिकारको लागि अरुमा निर्भर पर्नुको साथै आफै संगठित भएर अघि बढेको उनले बताए।

No comments:

Post a Comment