दलित बस्तिका बासिन्दा भन्छन्- लालपूर्जा दिनेलाई भोट !

विभेद बिरुद्ध अभियान - (यज्ञराज थापा) मङ्सिर १८ - दैलेख ।  कच्ची सडकमा ओहोरदोहोर थियो, भोट माग्न गाउँ पसेका राजनीतिक दलका कार्यकर्ताको । उनीहरु भेटिएका सबैलाई हात जोड्दै थिए । एक दलको चुनावी सभास्थलबाट ५० मिटर दूरीमा डिलमाया नेपालीलाई वस्तुभाउ स्याहार्न भ्याइनभ्याइ थियो ।नारायण नगरपालिका-१ रातामाटेस्थित दलित बस्तीको दृष्य हो यो । उनलाई कुन नेताले के भाषण गर्छन् भन्ने चासो थिएन । भन्दै थिइन्, ‘चुनावले के गर्नु, हाम्रा कुरा सुन्छन् मात्र काम गर्दैनन्, लालपूर्जा दिए पो भोट दिनु ।’

२० घरपरिवारको बसोवास छ, उक्त बस्तिमा

उक्त दलित बस्ति सामुदायिक वनको क्षेत्रमा परेको छ । र, त्यहाँका बासिन्दाले अहिलेसम्म लालपूर्जा पाएका छैनन् । कुनै दलले धनीपूर्जा दिलाइदिने आशा नभएकैले दलित बस्तिका अधिकांशलाई चुनावसँग कुनै सरोकार नभएझैं लाग्छ ।

उक्त बस्तिका पुरुषहरु सदरमुकाम पुगेर ज्याला/मजदूरी गर्छन्, महिलाहरु घरधन्दामा व्यस्त रहन्छन् ।गाउँभन्दा एक घण्टा टाढा पुगेर पिउने पानी जोहो गर्नुपर्छ । केटाकेटीले आफ्ना आमाहरुलाई पानी ओसार्न मद्दत गर्छन् ।

वाम र लोकतान्त्रिक दुवै गठबन्धनले हरेक घरमा पोस्टर र पम्प्लेट टाँसिदिएका छन् । उनीहरुको दिनचर्यामा भने चुनावले प्रवेश पाएको छैन ।
स्थानीय लीला नेपालीले आँगनमा झुल्किएका दलका कार्यकर्ताहरुसँग भनिन्, ‘धेरैचोटी नेता आए तर हाम्रो कुरा सुनेनन् । लालपूर्जा दिन्छौ र भोट दिनु ?’

बस्तिका अगुवा लक्षिराम नेपाली भन्दै थिए, ‘कतिवेला उठिवास हुनुपर्ने हो भन्ने चिन्ता छ । भोटसँग खासै मतलव छैन ।’
२०२८ सालदेखि दलित समुदाय उक्त बस्तिमा बसोवास गर्दै आएको छ । लक्षीरामका अनुसार स्थानीय तह चुनावमा केही दलले त आफ्नो घोषणापत्रमै दलित बस्तिका बासिन्दालाई लालपूर्जा दिलाउने उल्लेख नै गरेका थिए । तर, कार्यान्वयनको पाटो शून्य छ ।

नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले रातामाटेको लालपूर्जाको समस्या छिट्टै नै समाधान हुने आश्वासन दोहोर्‍याए । स्थानीय तहलाई नै त्यसको अधिकार भएकाले छिट्टै पहल गरिने उनको आश्वासन छ ।
अनलाइन खबरबाट

No comments:

Post a Comment