डोम समुदायबाट देशभरिकै एक्ली उम्मेदवार हुन् धरानकी सुनिता मरिक

विभेद बिरुद्ध अभियान - विराटनगर - मङ्सिर १८ ,  मुलुक संघीयतामा गएपछि पहिलोपल्ट भएको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनमा डोम समुदायबाट देशभरिकै एक्ली उम्मेदवार हुन् सुनसरी धरानकी सुनिता मरिक । नयाँ शक्ति पार्टीकी केन्द्रिय सचिवालय सदस्य ३५ वर्षीया सुनितालाई नयाँ शक्तिले सुनसरीबाट समानुपातिक सूचीमा राखेको छ । उनी यति बेला आफु र आफ्नो पार्टीलाई मत माग्दै विराटनगरका विभिन्न बस्तीहरुमा पुगिरहेकी छिन् । आफु मरिक (डोम) समुदायको पहिलो उम्मेदवार भएको उनी बताउँछिन् ।
चुनाव जित्नेमा ढुक्क
अन्य कुनै पनि दलले डोमलाई उम्मेदवार नबनाएकाले आफ्नो जित सुनिश्चित भएको उनको दाबी छ । आफु सबैभन्दा पिछडिएको समुदायकी महिला भएको र मरिक समुदायको आवाजलाई संसदमा पु¥याउन सक्ने भएकाले देशैभरिका अधिकांश डोम समुदायले आफ्नो पार्टीलाई मतदान गर्ने मरिकले बताइन् ।
उनले भनिन्, नयाँ शक्ति पार्टीले मलाई समानुपातिक सूचीको पहिलो नम्बरमा राखेको छ । चुनाव जितेर सांसद बन्नेमा म ढुक्क छु । उनले आफू मरिक समुदायको भएकाले सबैभन्दा पहिला देशैभरिका मरिक मतदातासँग भेटघाट गरेर मत मागिरहेको बताइन् ।
स्नातकसम्मको अध्ययन
सुनसरीको धरानमा जन्मिएकी सुनिता स्वगीय ज्योतिष बेचन मरिककी छोरी हुन् । धरानमा सरसफाईको काम गर्दै पञ्चायत कालमा राष्ट्रिय पञ्चायतको स्वतन्त्र उम्मेदवार बनेका बेचन त्यतिबेला प्रसिद्ध ज्योतिषका रुपमा चिनिएका थिए । उनले आफना दुई छोरालाई पनि ज्योतिष पेसामा लगाएका छन् । तर, सुनिता र अर्की एक छोरीलाई भने उनले उच्च शिक्षा सम्म पढाए ।
स्नातकसम्म अध्यन गरेकी सुनिता केही वर्षअघिसम्म धरानमै कम्प्युटर इन्स्टिच्युट सञ्चालन गर्थिन् । सामाजिक संघसंस्था र पत्रकारितामा पनि जोडिएकी सुनिता नया शक्ति पार्टीमा स्थापनाकालदेखि नै आबद्ध भएकी हुन् । सुनिता दलित अधिकारमुखी पत्रिका ‘नेपाली मञ्च’की सम्पादकसमेत हुन् । मरिक समुदायले मात्र होइन, म प्रति सबै समुदायका मतदाताले सहानुभूति देखाउनु भएको छ । त्यसैले चुनावमा विजयी बन्नेमा आशावादी छु, उनले भनिन् 
 नयाँ पत्रिकाबाट

No comments:

Post a Comment