प्रदेश ७ को मुख्यमन्त्रीमा मानबहादुर सुनारको दाबी

विभेद बिरुद्ध अभियान, पुस ११  - ।मोहन विष्ट/कञ्चनपुर, ८ पुस । मानबहादुर सुनार दलित समुदायबाट प्रदेश ७ का एक मात्र सांसद बनेका छन् । सुनार कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका हुन् ।
निर्वाचन आयोगले प्रत्यक्षतर्फ सार्वजनिक गरेको प्रतिवेदनअनुसार दलित समुदायबाट उनले मात्र निर्वाचन जितेका छन् । वाम गठबन्धनका तर्फबाट प्रदेश सभा सदस्य बनेका सुनार माओवादी केन्द्रका नेता हुन् ।
०३२ देखि राजनीतिक जीवनयात्रा सुरु गरेका उनी ०४९ मा तत्कालीन दोधारा गाविस अध्यक्ष भएका थिए । ०५१ मा संसदीय चुनाव लडेका सुनार त्यतिवेला पराजित भए । कांग्रेसबाट बागी उम्मेदवार सुनारका कारण एमाले उम्मेदवार उर्वादत्त पन्त विजयी भएका थिए । पछि माओवादीमा प्रवेश गरेका उनी ०७४ मा सम्पन्न भएको प्रदेश सभा सदस्यमा निर्वाचित भए ।
उम्मेदवार छनोट गर्दा राजनीतिक दलमा दलित, महिला र थारू समुदाय खासै प्राथमिकतामा पर्दैनन् । तर, माओवादीले कञ्चनपुरमा सन्तुलित उम्मेदवार अघि सारेको थियो । यस प्रदेशमा दलित समुदायबाट सुनार निर्वाचित भएपछि यहाँका दलित समुदाय हर्षित भएका छन् । आफ्नो समुदायको समेत प्रदेश सभामा प्रतिनिधित्व भएको भन्दै उनीहरू हर्षित भएका हुन् ।
कञ्चनपुरका रवि सार्कीले नीति–नियम बनाउने तहमा दलित समुदायको समेत प्रतिनिधित्व हुँदा आफ्नो समुदायलाई लाभ हुने बताए । दलित समुदाय आर्थिक, समाजिक रूपमा पिछडिएको बताउँदै उनीहरूको उत्थानका लागि ऐन–नियम बनाउने ठाउँमा यस समुदायको प्रतिनिधित्व हुनुपर्ने उनको भनाइ छ ।
मुख्यमन्त्रीमा दाबी
निर्वाचित भएपछि प्रदेश सभा सदस्य सुनारले प्रदेश ७ को मुख्यमन्त्रीमा आफ्नो पनि दाबी रहेको बताए । बिहीबार महेन्द्रनगरमा उनको सचिवालयले गरेको पत्रकार सम्मेलनमा सुनारले मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार रहेको बताए । ‘मलाई पार्टीले जिम्मेवारी दिए, म पनि मुख्यमन्त्रीको जिम्मा लिन तयार छु,’ उनले भने, ‘मसँग सरकार चलाउने अनुभव छ ।’ आफू निर्वाचित भएपछि महाकाली नगरपालिका दोधाराचाँदनीमा बन्ने भनिएको सुक्खा बन्दरगाह निर्माणको काम अघि बढाउने उनले बताए ।
महाकाली र जोगबुढा नदीमा चारलेनको पक्की पुल निर्माण गरेर भारतसँग सीधै जोड्ने उनको योजना छ । यस क्षेत्रको गरिबी, बेरोजगारी अन्त्यका लागि सुक्खा बन्दरगाह निर्माण, औद्योगिकीकरणका योजना अघि बढाउनुपर्ने उनको भनाइ छ । महाकाली जोगबुढाको कटानी नियन्त्रणका लागि समेत गुरुयोजना बनाएर अघि बढ्ने उनले बताए ।-नयाँपत्रिका

No comments:

Post a Comment