दोधारा-चाँदनीको सुनार परिवारले इतिहास बनाए

विभेद बिरुद्ध अभियान, पुस ११  - ।महेन्द्रनगर, ७ पुस दोधारा चाँदनीका सुनार परिवारले नयाँ संरचनाको अनुसार राज्य व्यवस्थामा इतिहास रचेका छन् । दोधारा उद्यमी व्यवसायी मान बहादुर सुनारको परिवारले नयाँ संरचनाका अनुसार दुई ओटा निर्वाचनमा जित हात पारेका छन् । पाँच महिनाको अन्तरमा सुनार परिवार काका र भतिजा स्थानीय र प्रदेश सरकारमा पुगेका छन् ।
मंसिर २१ गतेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनबाट दोधाराका मान बहादुर सुनार प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । यस अघि स्थानीय तह निर्वाचनमा उनका काका विर बहादुर सुनार माहाकाली नगरपालिकाको मेयरमा निर्वाचित भएका थिए । प्रदेश सभा सदस्य सुनार माओवादी केन्द्रबाट प्रदेश सभा सदस्य भएका हुन् । वाम गठबन्धनका साझा उम्मेदवार सुनारले काँग्रेसका बेल बहादुर रानालाई पराजित गरेका हुन् । उनीहरु दुबै जना माहाकाली नगरपालिका वार्ड नं. ७ का वासिन्दा हुन् । माहाकालीका १० र भीनपाका ७ वडा पर्ने प्रदेश सभा क्षेत्र नं. २ मा सुनारले १३ हजार ७ सय मत ल्याएका छन् ।
सुनारका काका भने काँग्रेसबाट मेयरमा निर्वाचित भएका हुन् । उनले एमालेलाई चार सय मतले पराजित गरेका थिए । उनीसित एमालेका किशोर कुमार लिम्बू पराजित भएका हुन् ।
काँग्रेस छाडेर २०६५ मा माओवादी केन्द्र प्रवेश गरेका सुनारमा २४ वर्ष अघि साँसद हुने इच्छा जागेको थियो । काँग्रेसका वागी भएर लडेका उनले काँग्रेसका एनपी साउँदलाई पराजित गरी दोस्रो भएका थिए । माछो चुनाव चिन्ह लिएर लडेका सुनार अहिले २४ वर्षपछि एमाले र माओवादीको संयुक्त उम्मेदवार प्रदेश सभा सदस्य निर्वाचित भएका हुन् । काका भतिजा दुबैले जनजातिसंग प्रतिस्पर्धा गरेका छन् । दोधारा चाँदनीमा दलित र जनजाति मत बढी छन् । दोधाराका उद्यमी व्यवसायी सुनार यस अघि २०४९ मा तत्कालिन दोधारा गाविसको अध्यक्ष भएका थिए । उनका प्रतिस्पर्धी काँग्रेसका राना उनीपछि २०५४ मा अध्यक्ष भएका थिए । २०६५ मा काँग्रेस छाडेका उद्यमी व्यवसायी सुनार अहिले नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार समिति सदस्य छन् ।
दोधाराका सुनार परिवारले स्थानीय तह निर्वाचनबाट नयाँ व्यवस्थाको खुसी भित्र्याएका थिए । सुनारका काका विर बहादुर सुनार गत असारमा माहाकाली नगरपालिकाको नगर प्रमुखमा निर्वाचित भएका थिए । काँग्रेसका सुनारले एमालेलाई चार सय मत अन्तरले पराजित गरेका थिए ।
दोधारा चाँदनीबाट काका भतिजाले एकपछि अर्को जित हात पारेका छन् । काकाले जितेको पाँच महिनामै सुनारले प्रदेश सभा सदस्य जितेर परिवारमा अर्को खुसी थपेका छन् ।
सुनारका काका भतिजालाई जितलाई समाज रुपान्तरणको संकेतका रुपमा समेत हेर्न थालिएको छ । नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ कञ्चनपुरका अध्यक्ष दिलराम टमटाले स्थानीय तह निर्वाचनदेखि प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा देखिएको नतिजाले समाज रुपान्तरणको बाटोमा गएको देखिएको बताए । ‘यी दुई निर्वाचनले दलितमाथि समाजको दृष्टिकोण फेरिएको देखिएको छ, यो समाज रुपान्तरणको संकेत हो’ उनले भने । दुईटै निर्वाचनबाट राजनीतिमा दलितलाई अवसर चाहिएको देखिएको उनको भनाई छ ।
स्थानीय तह निर्वाचनमा दलित समुदायका उम्मेदवार वार्ड अध्यक्षदेखि मेयरसम्म निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा बेदकोट नगरपालिका वार्ड नं। ५ मा माओवादी केन्द्रका नेता गणेश बहादुर विक निर्वाचित भएका थिए । प्रदेश नं। ७ को एक मात्र धनगढी उप महानगरपालिकामा दलित समुदायका नृप ओडा मेयरमा निर्वाचित भएका छन् । काँग्रेसका ओड निर्वाचित भएको क्षेत्रमा अहिले प्रतिनिधि सभामा प्रधानमन्त्री आरजु राणा पराजित भएकी छन् ।
प्रदेश सभा सदस्य मान बहादुर सुनार माहाकाली नगरपालिकाका १० र भीमदत्त नगरपालिकाका ७ वार्डका मतदाताको मतले निर्वाचित भएका छन् । माहाकालीका १० र भीमदत्तका ७ वडामा बराबरी हाराहारी मतदाता छन् । सुनारले १३ हजार ७ सय मत पाएका छन् । ठिक २४ वर्षपछि माओवादी केन्द्र र एमालेको साझा उम्मेदवार भएर सुनारले जित हात पारेका छन् । यो जितसंगै उनले प्रदेश नं। ७ मा दलित समुदायबाट प्रदेश सभामा प्रत्यक्षमा चुनाव जित्ने रेकर्ड बनाएका छन् । नेकपा माओवादी केन्द्रमा प्रभावशाली मानिने सुनार प्रदेश सरकारमा मन्त्री बन्न सक्ने सम्भावना बढी छ । उनी मन्त्री बनेपछि देशभर अर्को नयाँ रेकर्ड कायम हुने छ ।

सुनारको निर्वाचन परिचालन प्रचार समितिका सदस्य नविन चन्दले भने,‘दलित समुदायमाथि वर्र्षौदेखि गरिएको विभेद र छुवाछुतको क्षतिपूर्ति वापत पनि वहाँलाई पहिला कुरा त मुख्य मन्त्री नै बनाउनु पर्छ, नत्र मन्त्री त दिनु नै पर्छ ।
सुनार परिवारलाई विजयको रथमा बसाउन गैर दलित समुदायका नेताले सबैभन्दा बढी भूमिका निर्वाह गरेका छन् । माओवादी केन्द्रका नेता कृष्णदत्त जोशी बक्सर सुनारका चुनावी कमाण्डर थिए । जोशीका काका यज्ञराज जोशी काँग्र्रेसबाट क्षेत्र नं। ३ ९१० मा उम्मेदवार थिए । उनी एमालेका प्रकाश रावलसित पराजित भएका छन् । ‘काका र मेरो राजनीतिक सिद्धान्त मिलेन भने मैले वहाँलाई सहयोग गर्नु पर्ने अवस्था आउँदैन’ जोशीले चुनाव प्रचारका क्रममा भनेका थिए । प्रदेश सभा सदस्य सुनारले गैर दलित समुदायलाई विश्वासमा लिन समुदायभन्दा माथि उठेर प्रचार गरेका थिए । गैर दलित उम्मेदवारले समेत एजेण्डा नबनाएको ज्येष्ठ नागरिक भत्ता सबैलाई समान उमेरमा दिने सुनारको प्रचार थियो । अहिले दलितलाई ६० र अन्यलाई ७० वर्षमा भत्ता दिइने गरिएको छ । दलित र गैर दलित सबैले भत्ता पाउने उमेर घटाएर ५५ सम्म बनाउनु पर्ने उनको प्रचार थियो । सबै समुदायको मतदाताका साझा समस्या लिएर चुनावी प्रचारमा खटिएका उनी काँग्रेससित भने आक्रामक देखिएका थिए । उनले विभिन्न वडाका चुनावी प्रचारमा आफूले उठ्दा काँग्रेसको रुख ढलेको भाषण गरेका थिए ।
सुनारले दोधारा चाँदनीमा सुख्खा बन्दरगाह सञ्चालन, मझगाउँ विमानस्थल सञ्चालन, जोगबुडा नदीमा पक्की पुल, महाकाली तटबन्ध, बाटोघाटो, शिक्षा स्वास्थ्य, विद्युत विकास लगायतलाई प्राथमिकता दिएका छन् । उनी भन्छन्, ‘अब राजनीतिक लडाई सकिएको छ, आर्थिक लडाई लड्नु परेको छ , त्यस विरुद्ध सबै जना मिलेर लड्छौ ।

No comments:

Post a Comment