आफूखुसी भोट हाल्न पाउँदैनन् दलित

विभेद बिरुद्ध अभियान - (यज्ञराज थापा) मङ्सिर १८ , दैलेख: स्थानीय तह निर्वाचन २०७४ मा दुल्लु नगरपालिका ८ भुकांहाका १८ घर दमाई समुदायको बस्तीलाई आफ्नो उम्मेदवारलाई भोट हाल्न भन्दै कांग्रेस कार्यकर्ताले २५ हजार रुपैयाँ र खानपिनको बन्दोबस्त गरिदिए । तर वडाध्यक्ष भने एमालेका खगेन्द्र थापाले जिते ।

वडामै निर्णायक मानिएको सो दलित बस्तीका मतदाताले आफ्नो उम्मेदवारलाई भोट नदिएको भन्दै आक्रोशित कांग्रेस कार्यकर्ताहरूले बस्तीमै पुगी ज्यान मार्ने धम्की दिए अनि पैसा पनि फिर्ता मागे । दमाई परिवारलाई बालीघरेबाट हटाए पनि । गैरदलितका घरमा गई कपडा सिलाउने अनि अन्न लिने बालीघरे कामबाट हटाएपछि बस्तीका दमाई परिवार केही दिन संकटमा परे ।

आफूखुसी भोट हाल्न नपाउने र दबाब सहनुपर्ने बाध्यता बेहोरेको भन्दै दलित बस्तीका खड्गे दमाईले भोट नदिएको आरोपमा धेरै दिन गाउँमा बस्न गाह्रो परेको दुखेसो सुनाए । ‘गाउँमा ढुक्कसँग हिँड्न सक्ने अवस्था रहेन, उनले भने, ‘पैसा फिर्ता गर्दा पनि जहाँ भेट्यो त्यहीँ हातपात र गाली गर्छन् ।’

निर्वाचित वडाध्यक्ष खगेन्द्र थापाले त्यतिबेलाको दिन सम्झँदै भने, ‘दलित बस्तीले भोट नदिएकोले चुनाव हारेको भन्दै उनीहरूका घरमै पुगेर धम्की दिएपछि त्यतिबेला उनीहरूले आफूलाई असुरक्षित महसुस गरेका थिए ।’
जुनसुकै निर्वाचनमा पनि दलित समुदायलाई पैसा दिएर भोट लिन खोज्ने प्रवृत्ति कांग्रेसले मात्र नभई एमाले, माओवादीलगायत दलका उम्मेदवारहरूले गर्दै आएका छन् ।

सदरमुकाम नजिक रहेको नारायण नपा १ मा रहेको वादी बस्तीमा पनि निर्वाचन नजिकिँदै गर्दा आफ्नो पक्षमा भोट लिन पैसा र चामल बाँड्न उम्मेदवारहरू जाने गरेको पाइएको छ । विगतमा चामल मात्र दिने गरेको तर गत स्थानीय तह निर्वाचनमा पैसा नै पाएको मजदुरी गरेर जीवन चलाउँदै आएका बस्तीका मतदाता बताउँछन् ।

‘नगरपालिकाको चुनावमा बस्तीका एक सय २० जना मतदातालाई एमालेका नेताहरू आएर ५÷५ सय रुपैया दिनुभाको थियो,’ बस्तीका एक मतदाताले भने, ‘उहाँहरूले जित्नुभो र राम्रै भो, नत्र हामी समस्यामा पर्ने थियौं ।’

विगतदेखि अहिलेसम्म उम्मेदवारहरू गैरदलित समुदायमा पहिला भोट माग्न जाने र निर्वाचनको मुखमा दलित समुदायमा समय खर्चिने देखिएको कारणले उनीहरूलाई लोभलालचमा पार्न खोजिएको प्रस्ट देखिने जानकारहरू बताउँछन् ।

निर्वाचनका बेला दलित समुदायलाई लक्ष्य गरी हुने यस्ता घटना नौलो नभएको बताउँछन् पुराना राजनीतिकर्मी खड्गबहादुर सिजापति । उनी भन्छन् ‘पञ्चायतकालदेखि नै दलितहरूको भोट पैसाले किन्न खोज्ने चलन थियो, अहिले पनि यो परम्परा हट्न सकेको छैन ।’

निर्वाचनमा आफूलाई मन परेको उम्मेदवारलाई निर्धक्क भोट हाल्न पाउनु दैलेखका दलितहरूका लागि देखावटी मात्र भएको बताउँछन् अधिकारकर्मी अमर सुनार । ‘गरिबी र विपन्नताका कारण कसैको दबाबमा पर्नु बाध्यता हो,’ उनी भन्छन, ‘तर दलितहरूको मताधिकारमा दलहरूले नै हस्तक्षेप गरेका छन् ।’

दलित मतदातालाई विभिन्न प्रलोभन र दबाबमा भोट हाल्न लगाउनेहरूलाई आवश्यक कारबाही गरिने मुख्य निर्वाचन अधिकृत सनतचन्द्र लवटले जानकारी दिए । ‘अहिलेसम्म लिखित उजुरी आएको छैन’, उनले भने, ‘ त्यस्तो लिखित उजुरी आए अनुगमन गरी प्रक्रिया अगाडि बढाउँछौ ।”अन्नपूर्ण पोस्ट बाट 

No comments:

Post a Comment