गाउँपालिकामा जमानत नै जफत भएको आशा स्वर्णकार, समानुपातिकबाट सांसद बन्दै

विभेद बिरुद्ध अभियान -रुकुम (पूर्व) पुष, १४   — भूमे गाउँपालिका–७, गुनामकी ढाँटी सुनार भनिने आशा स्वर्णकार नेकपा एमालेका तर्फबाट ५ नम्बर प्रदेशसभा सदस्य बन्दै छिन् । एमालेले समानुपातिक सूचीबाट उनलाई प्रदेशसभा सदस्य बनाउने निर्णय गरिसकेको छ । निर्वाचन आयोगले केही दिनपछि उनलाई प्रदेशसभा सदस्य घोषणा गर्नेछ ।पार्टीले निर्णय गरिसकेपछि उनी सांसद हुनेमा ढुक्क छिन्। उनै स्वर्णकार गत असार १४ गते भएको स्थानीय तह दोस्रो चरणको निर्वाचनमा पराजित भएकी थिइन्। भूमे गाउँपालिकामा नेकपा एमालका तर्फबाट उम्मेदवारी दिएकी उनी तेस्रो मात्र भइनन्, जमानत नै जफत भयो। स्वर्णकारको पक्षमा ४ सय ४२ मत मात्रै आएको थियो।

उक्त गाउँपालिकामा खसेको ६ हजार १ सय ६९ मतको १० प्रतिशत मत उनको पक्षमा आएन। ६ सय १६ मत नपुगेपछि उनको जमानत जफत भएको थियो। माओवादी केन्द्रले जितेको उक्त गाउँपालिकामा कांग्रेस दोस्रो बनेको थियो।

गाउँपालिका अध्यक्षमा पराजित भए पनि प्रदेशसभा सदस्य पाएकी उनले राजनीतिको ठेगान नहुने प्रतिक्रिया दिइन्। ‘हो, मलाई पार्टीले जे गर भन्यो, त्यही गर्दै आएकी छु, स्थानीय तहमा भूमे गाउँपालिकाको अध्यक्षको टिकट दियो, चुनाव लडें र हारें पनि,’ उनले भनिन्, ‘अहिले पार्टीले प्रदेशसभा सदस्यका लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ।’

उनले प्रदेशसभा सदस्य हुनुलाई जिम्मेवारी पाएका रूपमा बुझेकी छन्। ‘पार्टीले जिम्मेवारी दिएको छ, खुसी पनि छु, चुनौती पनि छ, म लामो समयदेखि राजनीतिमै भएकीले चुनौती चिर्न सक्छु भन्नेमा ढुक्क छु,’ उनले भनिन्। उनले विशेष गरी पछाडि पारिएको क्षेत्र र समुदायका लागि आफू डटेर लड्ने बताइन्। ‘म पनि पछाडि पारिएको क्षेत्र र समुदायकै भएकाले मेरो विशेष प्राथमिकता त्यसैमा हुने भइहाल्यो,’ उनले भनिन्, ‘मेरो कार्यकालभरि उत्पीडनमा परेका र पारिएकाहरूको पक्षमा लड्नेछु।’

२०२६ सालमा जन्मेकी सुनार सुरुदेखि नै एमालेको राजनीतिमा छिन्। अन्य कुनै भ्रातृ संघसंगठनमा आबद्ध नभई उनी २०४६ मा सीधै पार्टीको वडा कमिटीमा बसेकी थिइन्। त्यसयता उनी निरन्तर राजनीतिमा छिन्। महिला र दलित संगठनमा उनी क्रियाशील छिन्। हाल रुकुम पूर्वको जिल्ला उपसंयोजक, अखिल नेपाल महिला संघ र नेपाल जातीय उत्पीडित मुक्ति समाजको पनि केन्द्रीय सदस्य छिन्। सबै राजनीतिक दलका महिलानेत्रीहरूको साझा संगठन अन्तरपार्टी महिला सञ्जालमा पनि उनले काम गरेकी थिइन्। उनले साविकको रुकुम जिल्लामा दलित तथा महिला अधिकारकर्मीका रूपमा पनि राम्रो छवि बनाएकी छन्।

No comments:

Post a Comment