दार्चुलामा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग

विभेद बिरुद्ध अभियान-माघ २१,-खरकडा गाविसमा अझै पनि दलित र गैरदलितको मन्दिर नै अलगअलग छन् । मन्दिर नै अलग भएपछि पूजापाठ पनि दलित र गैरदलितले छुट्टाछुट्टै मन्दिरमा गर्ने गरेका छन् । खरकडा गाविस-९ झलातीमा रहेका दुई वटा मन्दिरमा दलित र गैरदलित छुट्टाछुट्टै पूजा गर्ने गरेका हुन् ।उक्त वडाको कैलपाल मन्दिरमा दलितले मात्र पूजा गर्ने गरेका छन् । कैलमाल मन्दिरमा पूजारी पनि दलितकै अलगै रहेका छन् । दलित बस्ती भन्दा तल बस्ने गैरदलितले तमैराज मन्दिरमा पुजा गर्ने गरेका छन् ।

‘वर्षौँदेखि नै हामीलाई छुट्टै रूपमा पूजागर्न लगाइएको छ ।’-दलित अगुवा दानीराम पार्कीले भने-‘पहिले देखिकै संस्कार अझै कायमै छ ।’ पुरानो संस्कार रहेको कारण हटाउन पनि सकिएको छैन ।परम्परागत रूपमा रहेको कुसंस्कारको कारण अहिले पनि मन्दिर प्रवेश हुन नसकेको हो । दलित समुदाय मन्दिर नजिक पुगेपनि मन्दिरको प्रसाद गैरदलितले छुट्टै दिने गरेको पार्कीको भनाइ छ । विभेदको महसुस भएपनि प्रचलन हटाउन समस्या रहेको उनले बताए ।

औपचारिक रूपमा मन्दिर प्रवेश गर्न रोक लगाइएको नभएपनि पुरानो संस्कारका कारण मन्दिर प्रवेश गर्न दलित समुदाय आफैँ पनि डराउने गरेको आनसिंह बगालले बताए ।

लेकम क्षेत्रका अधिकांश मन्दिरमा अझै पनि दलितले सहजै मन्दिरसम्म पहुँच रहेको छैन । मन्दिर प्रवेश गर्न संकोच मान्ने गरेको उनीहरू बताउँछन् । नेपालको संविधानले जातीय विभेदलाई प्रोत्साहन गर्न नपाइने उल्लेख भएपनि यो क्षेत्रमा भने अझैसम्म पनि यो क्षेत्रमा दलित गैरदलितले एकै ठाउँमा सहभोज जस्ता कार्यक्रम गर्न सकेका छैनन् ।

No comments:

Post a Comment