रीता बुढाथोकी, विभेद बिरुद्ध अभियान - १ फाल्गुण २०७३-सामान्य ज्ञानका पुस्तकमा सधैँ सोधिने एउटा प्रश्न हो, अन्टार्कटिकामा पुग्ने पहिलो नेपाली को होला ? उत्तरमा सबैले कण्ठ पारेको एउटै नाम हो– भुवनसिं विश्वकर्मा । हो, उनै भुवनसिं विश्वकर्मा अन्टार्कटिका महादेशमा पुग्ने पहिलो नेपाली हुन् । उनको यो वीरतापूर्ण इतिहास पढ्नेहरुले सोझो अड्कल गरेका हुन्छन्, भुवनसिं विश्वकर्मा नाम गरेको कुनै व्यक्ति इतिहासको कुनै काल खण्डमा अन्टार्कटिका पुगेको थियो होला, जो अहिले यो संसारमा जीवित छैन । तर आम मानिसहरुको यो सतही अड्कल गलत सावित हुन्छ । किनभने भुवनसिं विश्वकर्मा अहिले पनि नेपाल र नेपालीको मुटुको ढुकढुकी बनेर मुक्ति र परिवर्तनका लागि सङ्र्घषरत एक जीवित व्यक्तित्व हुन् ।
अन्टार्कटिका हिउँ नै हिउँले भरिएको मानवरहित महादेश हो । त्यहाँ जाडो याममा माइनस ८९ डिग्री र गर्मीमा माइनस २९ डिग्री सेल्सियस तापक्रम हुने गर्छ । प्रतिघण्टा २ सय किलो मिटरको रफ्तारमा आँधी र हुरी चल्ने उक्त क्षेत्रमा हिउँमा बस्ने प्राणी पेइन्गुन र ह्वेल माछाबाहेक अरु कुनै जीवित प्राणी भेट्न सकिँदैन र अहिलेसम्म मानव बस्तीसमेत पाइएको छैन । ६ महिना दिन र ६ महिना रात हुने यो महादेशमा सन् १९११ मा मानिसले पहिलो पटक पाइला टेकेको थियो । विभिन्न विकसित मुलुकहरुले वैज्ञानिक खोज र अनुसन्धानका लागि त्यहाँ आफ्नो टोली पठाउने गर्छ । त्यहाँ पुग्नु आफैमा अत्यन्तै जोखिम र साहसिक कदम मानिन्छ । अत्यधिक चिसोका कारण अनुसन्धानका लागि त्यहाँ जानेहरु कैयौँको जीवन उतै समाप्त भएको छ ।
आफ्नो जीवनलाई हत्केलामा राखेर भुवनसिँ विश्वकर्मा आजभन्दा करिब ३० वर्षअघि सन् १९८६ मा भारतीय बङ्गाल इन्जियनिरिङ ग्रुप रुड्कीबाट छनौट भई अन्ट्रार्कटिका गएका थिए । अन्टार्कटिकाका लागि शरीरिक रुपमा तन्दरुस्त, निरोगी र जस्तोसुकै परिस्थितिमा पनि सहजताका साथ अघि बढ्न सक्ने योग्य व्यक्तिलाई मात्र छनौट गरिन्थ्यो । यी सबै मापदण्ड र विशेषताले निपुण भुवनसिं विश्वकर्मा त्यहाँ जानका लागि पहिलो नम्बरमै छनौट भए ।
भारतीय भूमिबाट अन्ट्रार्कटिका यात्रा सुरु गरेको भए पनि उनी नै पहिलो नेपाली थिए जो अन्ट्रार्कटिका पुगेर नेपाली माटो र नेपाली पहिचानलाई विश्वसामु चिनाउन सफल भए । अन्टार्कटिका पुग्ने पहिलो नेपालीका रुपमा ख्याति कमाएका विश्वकर्मा दलित समुदायका प्रतिनिधि पात्र मात्र होइनन् सिङ्गो नेपालका एक कर्मठ योद्धा पनि हुन् ।
भारतीय अनुसन्धान टोलीमा समावेश भई अन्ट्रार्कटिका गएको भए पनि उनले नेपाली माटो र ढाकाटोपीलाई कहिल्यै बिर्सिएनन् । अन्ट्रार्कटिकामा पहिलो पटक पाइला टेक्दा उनको मात्र होइन, अनुसन्धानका लागि त्यहाँ पुगेका सम्पूर्ण अनुसन्धान टोलीको शिरमा नेपाली ढाका टोपी ढल्किरहेको थियो ।
अन्टार्कटिकामा पुग्ने बित्तिकै नेपालबाट लिएर गएको नेपालको माटो चढाएर नेपाली माटोप्रति सम्मान गर्ने उनी नै पहिलो नेपाली थिए । एउटा नेपाली हुनुको गौरव त छँदै थियो । त्यसमाथि नेपाल र नेपालीको प्रतिनिधित्व गर्दै त्यहाँ पुगेर नेपाली माटो र नेपाली पहिचान विश्वसामु चिनाउन पाउँदा उनको खुशीको सीमा रहेन ।
एक जना विदेशी नागरिकले उनको शिरमा नेपाली ढाका टोपी देखेर “आर यू नेपाली म्यान ?” भनी प्रश्न गरेको थियो । त्यति बेला उनलाई नेपाली भनी चिनाउने त्यही ढाका टोपी थियो, जसले उनलाई विश्वसामु चिनाएको थियो ।
पहिलो पटक ६ महिना अन्टार्कटिका बितएपछि दास्रो पटक सन् १९९० मा १ वर्षका लागि पुनः अन्टार्कटिका जाने अवसर पाएका उनले २ पटक गरी करिब डेढ वर्षको लामो अवधि त्यहीँ बिताए । हिउँसँग पौँठेजोरी खेल्दै जीवन र मरणको दोसाँधमा आफूलाई उभ्याएर लक्ष्य प्राप्तिका लागि अनवरत रुपमा खटिने विश्वकर्माले नेपालीहरुको वीरताको सङ्खघोष अन्टार्कटिका पुगेर गरे ।
सर्वोच्च शिखर सगरमाथा आरोहण गर्नुभन्दा सयौं गुणा कठिन र जोखिमपूर्ण थियो अन्टार्कटिका यात्रा । फलाामको चिउरा चपाउनुभन्दा पनि कठिन त्यो यात्रा उनका लागि कत्ति सहज थिएन । त्योभन्दा पहिले चिसोका कारण कैयौँ मानिसको मृत्यु भइसकेको थियो । जहाज डुबेर मर्नेको सङ्ख्या अत्यधिक थियो । जस्तोसुकै कठिन र असहज परिस्थितिमा पनि आफ्नो लक्ष्यबाट कहिल्यै विमुख भएनन् उनी ।
कठिन यात्राको सरल अनुभूति सुनाउँदै भुवनसिं विश्वकर्मा भन्छन्,“केही प्राप्त गर्नु छ भने दुःख त गर्नै पर्छ”। त्यहाँ गइसकेपछि जिउँदो फर्किने आशा कमैलाई हुन्छ । चिसोले मर्ने स्थिति उनको पनि नभएको होइन । तर सहास र आत्मबलले जस्तोसुकै परिस्थितिलाई जित्न सकिने कुरामा उनी दृढ थिए ।
अत्यधिक चिसोका कारण पुरुषहरु नपुँशक हुने, शरीरले कामै गर्न नसक्ने र अन्त्यमा अङ्गभङ्ग भई मृत्यसमेत हुन सक्ने खतरा उत्तिकै हुन्छ । जीवन र मरणको दोसाँधमा आफूले अत्यन्तै कष्टपूर्ण डेढ वर्ष विताएको अनुभव सुनाउछन् भुवनसिं विश्वकर्मा ।
कतिपयले उनलाई यो संसारमा छैन होला भनेर अड्कलसमेत गरेका हुन्छन् तर आफूलाई जिउँदो भेट्दा मान्छेहरुले बढो आश्चर्य मान्ने गरेको उनको अनुभव छ । अहिले पनि उनी नेपालीको ढुकढुकी बनेर बाँचिरहेका छन् । यति बेला उनले भारतीय सेनाको जागिरबाट समेत अवकास लिइसकेका छन् । बाग्लुङको सामान्य परिवारमा जन्मिएका विश्वकर्मा बुटवल उपमहानगर पालिका वडा नं १३ योगिकुटीमा स्थायी रुपमा बसोबास गर्दै आएका छन् र त्यहीँबाटै समाज सेवामा समेत सक्रिय छन् ।
अन्टार्कटिकाको डेढ वर्ष लामो बसाइपछि जब नेपाल फर्किए उनलाई सम्मान र पुरस्कारको ओइरो लाग्न थाल्यो । २०४९ सालमा तत्कालीन राजा वीरेन्द्रको जन्म जयन्तीको अवसरमा राजाको हातबाट ‘प्रसिद्ध प्रबल गोरखा दक्षिण बाहु दोस्रो’ पुरस्कारबाट सम्मानित भएपछि उनको खुसीको सीमा रहेन । यो नै उनको जीवनको सबैभन्दा ठूलो र विशिष्ट सम्मान थियो । राजाबाट सम्मान पाएपछि आफूले जीवनमा केही प्रशंसनीय काम गरेको रहेछु भन्ने अनुभूति भएको बताउँछन् उनी । राजाको हातबाट सम्मान पाउनु अत्यन्तै गौरवको विषय मानिन्थ्यो त्यति बेला । “जीवनमा केही न केही राम्रा काम गर्नुपर्ने रहेछ सम्मानित त आफै भइँदो रहेछ”, सम्मानित हुँदाको उनको अनुभव थियो । “अन्टार्कटिकामा नेपाली माटो” नामक वृत्तचित्रमा भुवनसिं विश्वकर्माको नेपालप्रतिको माया र उनको जीवन सङ्र्घषको बारेमा उल्लेख गएिको छ ।
अहिले पनि उनलाई विभिन्न सामाजिक सङ्घ संस्थाले सम्मान गरीरहेका छन्् । उनको सम्मान स्वरुप हेटौँडामा उनको नाममा भुवनसिं पथ नामक बाटो बनाइएको छ । उक्त बाटोको उद्घाटन भुवनसिं विश्वकर्मा आफैले गरेका थिए । बुटवल उपमहानगरपलिकाले आफ्नो ५५औँ स्थापना दिवसको अवसरमा योगीकुटीदेखि होराइजन चोकसम्मको २ किलो मिटर बाटो ‘भुवनसिं विश्वकर्मा मार्ग’ निर्माण गरेर उनलाई सम्मान गरेको छ । उक्त बाटो बुटवलकै नमुना र उत्कृष्ट मार्ग मानिएको छ । उनको सम्मान स्वरुप पाल्पाको सामुदायिक बन उपभोक्ता समितिले दुई वर्ष पहिले विशिष्ट दुत नियुक्ति गरेको छ भने रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीले सम्मानित सदस्यको रुपमा उनलाई नियुक्ति गरेको छ ।
भनिन्छ इतिहास रचना गर्नका लागि त्याग र बलिदानको कोटा चुक्ता गर्नैपर्छ र लक्ष्यमा पुग्नका लागि सङ्घर्षको महासागर तर्नैपर्छ । एउटा दलितको छोरा, जो समाजबाट अपहेलित र तिरस्कृत हुँदाहुँदै पनि राष्ट्रको स्वर्णिम इतिहास रचना गर्नका लागि सङ्र्घर्षको महासागर तर्न कहिल्यै पछि परेनन् । हो, उनै भुवनसिं विश्वकर्माले गरेको त्याग र सङ्र्घषका कारण आज नेपाल र नेपालीको शिर उँचो भएको छ । इतिहासका पानामा सुनौलो अक्षरले लेखिएको त्यो नाम जसले नेपाल र नेपालीको गौरवमय इतिहास कोर्न सफल भयो ।-रातोपाटी बाट
No comments:
Post a Comment