कसले पछि पार्‍यो दलितलाई ? - सुुजित मैनाली

विभेद बिरुद अभियान -फागुन १४, २०७३  -नेपालको दलित आन्दोलनबारे अध्ययन गर्नुपर्‍यो भने सन्दर्भ सामग्रीको अभाव खड्किन्छ । मधेस आन्दोलन र जनजाति आन्दोलनजस्तै गरी दलित आन्दोलन नचर्किनु यसको कारण हो । आन्दोलन नचर्किएकाले दलित समुदायले राष्ट्रिय स्तरको एउटै नेता अझैसम्म पाउन सकेको छैन, जबकि मधेस आन्दोलनले उपेन्द्र यादव र राजेन्द्र महतोलाई जन्माएको छ, जनजाति आन्दोलनले अशोक राई र गोपाल किराँतीलाई अनि तराईमा चलेको पहिचानको आन्दोलनले रामचन्द्र झालाई जन्माएको छ ।
मधेसी (मधेसी दलितबाहेक) र जनजातिले पनि दलितले झैं आफूहरूलाई उत्पीडित बताइरहेका बेला मधेसी र जनजातिको आन्दोलन उत्कर्षमा पुग्ने, दलितको आन्दोलन चाहिँ पानीको फोकाजस्तै हुने किन भयो होला ? जबकि पूर्वका राई (२.३ प्रतिशत) र पश्चिमका थारू (६.६ प्रतिशत)को कुरै छोडौं, नेपालको दोस्रो ठूलो जाति ब्राह्मण (१२.२ प्रतिशत) भन्दा दलित समुदाय (पहाडी दलित ८.६ प्रतिशत र मधेसी दलित ४.५ प्रतिशत गरी कुल १३.३ प्रतिशत) जनसांख्यिक हिसाबले ठूलो छ (कारे भोलान, नेपालमा चुुनावः राजनीतिक रूपले वञ्चित समूहको पहिचान, पृ. १५) ।
राई अथवा थारू समुदायले जस्तै दलित समुदायले आन्दोलन चर्काउन नसक्नुको मूल कारण हो, देशभरि छरिएको उनीहरूको आवाद । राईहरू पूर्वी नेपालमा बस्छन् । थारूहरू मूलतः पश्चिम तराईमा बस्छन् । तर, दलितहरू पूर्वदेखि पश्चिमसम्म हिमाल, पहाड, तराई सबैतिर छरिएका छन् । छरिएर रहेकाले दलितहरूलाई आन्दोलनका निम्ति आवश्यक पर्ने संगठन र निरन्तर अन्तक्र्रिया गर्न कठिन भयो । त्यसमाथि अन्य मधेसी र जनजाति समुदायमाझैं आन्दोलन गर्न सक्ने मध्यमवर्गको उदय दलित समुदायमा हुन सकेन ।
यसै कारणले बौद्धिक क्षेत्रमा पनि दलितहरू पछाडि भए । जनजाति समुदायका वैरागी काइँलादेखि डा.जगमान गुुरुङसम्म बौद्धक क्षेत्रमा छाएका छन् । मधेसी समुदायअन्तर्गतको उपल्लो जातका ब्राह्मण र कायस्थहरू राष्ट्रियस्तरकै विद्वान कहलिएका छन् । दलित समुदायमा विद्वानहरूको कमी छ । एकाध छन्, तर ती पनि दलितभित्रको उपल्लो जात कामी समुदायका छन् ।
०००
जनजाति अभियन्ताहरू आफूहरूलाई मूला भन्छन्, जमिनमा गाडिएर बस्न रुचाउने । जनजाति समुदायलाई आफ्नो जमिनको बढी माया हुन्छ । त्यही भएर लिम्बू समुदायमा किपट व्यवस्था हुन्छ, पपुवान्युगिनीका जनजातिमाझैं । दलितहरू चाहिँ प्वाँख लागेका चरा हुन्, माथिल्लो भनिएका जातका मानिससँगै डुली हिँड्ने । त्यही भएर उनीहरू नेपालभरि छरिएका छन् ।
बसाइँसराइसम्बन्धी अर्थ–सामाजिक सिद्धान्तले भन्छ– धेरै बसाइँ सर्ने समुदायले बढी उन्नति गर्छ । उदाहरणको रूपमा यस्तो सिद्धान्तले आर्थिक, राजनीतिक र बौद्धिक जगत्मा कब्जा जमाएर बसेका यहुदी समुदायलाई देखाउने गर्छ । यो सिद्धान्तलाई आधार मान्ने हो भने दलितहरूको हैसियत ब्राह्मण अथवा क्षेत्रीको जस्तै हुनुपर्ने हो किनकि ब्राह्मण र क्षेत्रीकै साथ लागेर दलितहरू विभिन्न ठाउँमा बसाइँ सरेका थिए । पृथ्वीनारायण शाहले काठमाडौं विजय गरेपछि ब्राह्मण, क्षेत्री, मगर र गुुरुङसँगै गोरखाका दलित पनि पृथ्वीनारायणसँगै काठमाडौं आएका थिए (एचए ओल्डफिल्ड, स्केचेस फ्रम नेपाल, पृ.४४) । दलितहरूले छुवाछूतयुक्त वर्णव्यवस्थाद्वारा निर्मित सामाजिक श्रेणी विभाजन (हाइरार्की) बाट मुक्त भएर बसाइँ सर्न पाएनन्, जसकारण बसाइँसराइको लाभ उनीहरूको पोल्टामा पर्न सकेन ।
०००
तथ्यांकले देखाउँछ, नेपालमा सबैभन्दा बढी उत्पीडनमा परेको समुदाय हो– दलित । त्यही भएर सामाजिक न्यायको सबैभन्दा प्रमुख हकदार दलितहरू हुन् । दलितमात्रै त्यस्तो समुदाय हो, जसले एकसाथ दुई प्रकारको दमन समानान्तर रूपमा खेप्नुपर्‍यो । पहिलो, राज्य उनीहरूप्रति सहिष्णुु भएन । दोस्रो, आफूलाई उत्पीडित भनिरहेका समुदायबाट पनि उनीहरूले प्रताडना सहनुपर्‍यो ।
सन् २००१ को जनगणनाअनुसार, मधेसीहरू (मधेसी दलितबाहेक) नेपालको कुल जनसंख्याको १५ प्रतिशत थिए । त्यतिबेलाको संसद्का कुल सदस्यमध्ये उनीहरू १४.१ प्रतिशत थिए । अर्थात्, मधेस आन्दोलन चर्किनुअघि पनि उपल्लो जातका भनिने मधेसीले समानुपातिक प्रतिनिधित्व हासिल गरेको थियो । तर, यसबाट मधेसका दलितहरू रक्तिभर पनि लाभान्वित भएका थिएनन् । ४.२९ प्रतिशत जनसंख्या भएका मधेसी दलितहरूको प्रतिनिधित्व संसद्मा शून्य थियो ।
दोस्रो जनआन्दोलनपछि समावेशीकरण र उत्पीडित समुदायमा उन्मुक्तिको लहर चल्यो । यसको असर पहिलो संविधानसभा निर्वाचनको नतिजामा पनि देखापर्‍यो । सन् २०११ को जनगणनाअनुसार, उपल्लो जातका मधेसीहरू नेपालको कुल जनसंख्याको १५ प्रतिशत थिए । संविधानसभामा उनीहरूको प्रतिनिधित्व जनसंख्याको अनुपातभन्दा बढी अर्थात् २०.३ प्रतिशत थियो । जबकि मधेसी दलितहरूको प्रतिनिधित्व उनीहरूको जनसंख्याको करिब आधा मात्र थियो (मधेसः फ्याक्ट्स एन्ड र्‍युमर्स, साउथ एसिया चेक) । आफूलाई उत्पीडित बताउने एउटा समुदायले सबैभन्दा उत्पीडनमा परेको अर्को समुदायको भाग खोसेर खाएको त्यो भद्दा दृश्य थियो । दलितहरूले सबैभन्दा पुछारमा रहनुपर्ने र माथिका सबैको मार खेप्नुपर्ने अवस्था आखिरमा किन आयो ?
०००
पृथ्वीनारायण शाहको पालामा दलितहरूलाई अछूत मान्ने चलन संस्थागत भइसकेको थियो । तथाकथित तल्लो जातका मानिसको हातबाट तथाकथित उपल्लो जातको मानिसले झुुक्किएर भात अथवा पानी खाएमा ऊ अपवित्र हुन्थ्यो र दोषमुक्त हुन उसले धार्मिक कर्मको निश्चित मापदण्ड पूरा गर्नुपर्थ्र्यो । त्यतिबेला जातपातमा आधारित छुवाछूतको मारमा पर्नेमध्ये गैरहिन्दु जनजाति र उपल्लो जातका भनिएका हिन्दुहरू पनि थिए । तर पनि छुवाछूतको सबैभन्दा निर्मम घन दलितहरूकै थाप्लामा बजारिएको थियो ।
त्यतिबेला तागाधारीलाई मद्य पिउन कडाइका साथ प्रतिबन्ध लगाइएको थियो । मद्य पिउने तागाधारीको जनै झिकेर उसलाई मतवाली जात (जनजाति समुदाय, जो रक्सी पिउँछन्) मा खसालिन्थ्यो । झुुक्किएर मद्य खाने तागाधारी नरनारीले ‘पतिया’ पाउँथे । त्यस्तालाई धर्माधिकारी पण्डितले निश्चित विधिद्वारा शुद्ध गराइदिन्थे, जसलाई ‘पतिया’ भनिन्थ्यो ।कुनै तागाधारीलाई मतवाली जातका मानिसले झुुक्याएर मद्य ख्वाएमा ख्वाउनेहरूलाई दासदासी बनाएर बिक्री गरिन्थ्यो । बिक्रीबाट उठेको रकम अदालतको कोषमा जम्मा गरिन्थ्यो । (बाबुुराम आचार्य, श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी, पृ. ४५४) । यसरी जम्मा भएको कोषमा दोष हुने र यस्ता दोषले दरबारमा संक्रमित हुन सक्ने भन्दै कोषमा जम्मा भएको पैसा दरबारमा लगिँदैनथ्यो । पृथ्वीनारायणले आफ्ना सन्ततिलाई पनि अदालतमा जम्मा भएको पैसा दरबार नछिराउनू भन्ने उपदेश दिएका थिए । ‘अदालथको पैसा दरबारभित्र नहाल्नु...फकीर फकिडा अतित जोगि सन्यासि ब्राह्मणहरू इनलाई दक्षिणा भोजन चलाइ दिनु । उप्रेको पैसा दक्षिण चलाई धोती रुमाल चलाइदिनु । यस्व भया असत्यको दोस् लाग्दैन,’ उनले भनेका थिए (दिव्य उपदेश, नेपाल ल कमिसन, पृ. ८–९) ।
जातपातमा आधारित छुवाछूत पृथ्वीनारायणको शासनकालभन्दा निक्कै अघिदेखि यस क्षेत्रमा अभ्यास हुँदै आएको थियो । पृथ्वीनारायणभन्दा अघि आफूलाई हिन्दुपति भनी चिनाउने सेन राजा, काठमाडौंका नेवार राजा, तिरहुतका मैथिल राजा आदिले पनि जातपातमा आधारित छुवाछूतलाई आ–आफ्ना शरहदभित्र कडाइका साथ लागू गरेका थिए । लिच्छवि राजाहरूले त हिन्दु वर्णा श्रमभित्रको तल्लो जातलाई मात्र होइन, मगरहरूलाई पनि अछुत बनाएका थिए (बाबुुराम आचार्यको अन्तर्वार्ता, रेग्मी रिचर्स कलेक्सन, अं ३६, पृ. ६–७) ।
०००
केही दलित अभियन्ताहरू जंगबहादुर राणालाई नेपालका दलितहरूको दुर्गतिका एकमात्र कारक मान्छन् । तर, जातपातमा आधारित छुवाछूतलाई नेपाली सन्दर्भमा प्रवद्र्धन गर्ने पात्र जंगबहादुर होइनन् । उनले जातपातमा आधारित छुवाछूतजन्य अपराधलाई लिपिबद्ध गर्ने काममात्रै गरेका हुन् । उनीभन्दा अघि नै नेपाली समाज तागाधारी, मतुवाली र पानी नचल्ने तहमा विभक्त भइसकेको थियो ।
दलितहरू किन आज दिनहीन अवस्थामा छन् भन्ने कुरा बुुझाउने दस्तावेज भने अवश्य हो, जंगबहादुरले जारी गरेको मुलुकी ऐन– १९१० । त्यसमा नेपाली समाजलाई तागाधारी (ब्राह्मण, राजपुत, क्षेत्री), मासिने मतुवाली, नमासिने मतुवाली, पानी नचल्ने छोइछिटो हाल्नु नपर्ने, पानी नचल्ने छोइछिटो हाल्नुपर्ने गरी पाँच तहमा विभाजन गरिएको थियो । मुलुकी ऐनमा जातका आधारमा अपराधको दण्ड तोकिने व्यवस्था थियो ।
उपाध्याय ब्राह्मणले अर्काकी श्रीमतीको मुखमा विर्यपात गरायो अथवा झरेको विर्य खुुवायो भने र यदि पीडित उपाध्याय ब्राह्मण जातकै पर्‍यो भने पीडकले पाँच सय रुपैयाँ जरिवाना तिर्नुपथ्र्यो । यदि पीडित पानी नचल्ने छोइछिटो हाल्नुपर्ने जातको छ भने उसले सय रुपैयाँ तिरे पुग्थ्यो । यदि छोइछिटो हाल्नुपर्ने जातले तागाधारीलगायत पानी नचल्ने छिटो हाल्नु नपर्नेसम्मका जातका मानिसका श्रीमतीको मुखमा विर्यपात गरायो अथवा झरेको विर्य ख्वायो भने उसलाई मासिदिनु (दास बनाउनु) भनी ऐनले भनेको थियो (मुलुकी ऐन, १९१०, पृ. २६२, नेपाल ल कसिमन) ।
त्यस्तै तागाधारीलगायत सबैले आफ्नै जातको अथवा आफूभन्दा घटी जातको मुखमा अपानवायु छोड्यो भने पाँच रुपैयाँ जरिवाना तिराउने र छोइछिटो हाल्नुपर्ने जातले पानी चल्ने ठूला जातका मानिसको मुखमा त्यसो गर्‍यो भने २० रुपैयाँ जरिवाना तिराउने व्यवस्था मुलकी ऐनमा थियो (पेज. २६३) ।
मुलुकी ऐनअनुसार, नियतपूर्वक ज्यान मार्नेलाई दिइने सजाय पनि जातैपिच्छे फरक थियो । उपाध्याय ब्राह्मण, जैसी ब्राह्मण र तिरहुतका भट्ट देसी ब्राह्मण (तराईका ब्राह्मण) कसैले मानिस मार्‍यो भने ऐनबमोजिम उसको अंश सर्वस्व गरी दामल गर्नुपर्ने व्यवस्था गरिएको थियो । दामल भन्नाले ‘कुनै ठूलो अपराधी वा विद्रोहीलाई शरीरमा ‘दामल’ तीन अक्षर खोपेर वा डामेर छोड्ने वा मुडी जन्मकैदसमेत गर्ने काम वा त्यस्तो सजाय’ हो (बृहत् नेपाली शब्दकोश) । ब्राह्मणभन्दा तलका जातले नियतपूर्वक कसैको हत्या गरे भने ज्यानको बदलामा ज्यान लिनुपर्ने व्यवस्था मुलकी ऐनमा थियो (पेज. २६७) ।
तथाकथित तल्लो जातका मानिसले छोएको कुन कुरा बिटुलो हुन्छ र कुन हुँदैन भन्ने पनि मुलुकी ऐनमै किटान गरिएको थियो । क्रिश्चियन, मुसलमान, कामी, सार्की, दमाई, पानी नचल्ने र छोइछिटोसमेत हाल्नुपर्ने जातका मानिसले छोएको अन्न उसिनेको र भुुटेको छैन र यदि यसरी छोएका सामान कुटेको, पिसेको, छोड्याको अन्न हो भने बिटुलो नहुने व्यवस्था गरिएको थियो । त्यस्तै पानी नपरेको काँचो माछा–मासुु, तमाखुु, अत्तर, गुुलाफपानी, मसला, सुुगन्ध आउने फलफूल पनि बिटुलो हुँदैन भनिएको थियो । पानी नचल्ने र छोइछिटोसमेत हाल्नुपर्ने जातले छोएको माटाका भाँडामा पानी छ भने भाँडो बिटुलो हुने, तर पानी नपरेको माटाको भाँडा बिटुलो नहुने व्यवस्था गरिएको थियो । त्यस्तै तल्लो जातका भनिएकाहरूले छोएको काठका भाँडा, चिनियाँ भाँडा, बोतल, सिसी धोइपखाली सुुकाएपछि चोखो हुने कुरा जाहेर गरिएको थियो (पृ. ३५२) ।
०००
संस्कृतिको आडमा राष्ट्रको आन्तरिक जीवनमा दलितहरूलाई उठ्न नदिनेगरी थिचेको राज्यले वैदेशिक रोजगारीमा जाने उनीहरूको सम्भावनालाई पनि निमोठ्न खोजेको इतिहासमा देख्न पाइन्छ । विदेशी लाहुरे भएर जनजाति समुदायका धेरैले वर्गोन्नति गरे । यसबाट जनजाति समुदायमा मध्यवर्गीय एउटा तप्काको उदय पनि भयो, जुुन जनजाति आन्दोलनको आधार सिद्ध भयो । तर, वैदेशिक रोजगारीमा गएर वर्गोन्नति गर्ने अवसर दलितहरूलाई दिइएन । यस हिसाबले दलितहरू जनजातिहरूभन्दा बढी वञ्चित भए । धेरै ठाउँमा जनजाति समुदायकाले पनि दलितहरूलाई छुवाछूतलगायत प्रताडना दिने काम भयो ।
पहिलो विश्वयुद्धमा नेपालले बेलायतलाई लगाएको गुुन तिर्न ब्रिटिस इन्डियाका परराष्ट्र सचिव कर्णेल हल्यान्ड नेपाल आएका थिए । उनीसमक्ष चन्द्रशमशेरले दलित समुदायका मानिसलाई बेलायतले जागिर दिएको भन्दै आपत्ति जनाएका थिए । ‘तपाईंहरूले जुुन जातको मानिस आए पनि पल्टनमा भर्ना गरिदिनुभयो, लडाकु जातबाहेक अरूलाई फौजमा राख्नाले गोर्खाली पल्टनको इज्जतमा दाग लाग्ला, त्यसमाथि सार्की, कामी अत्यादि छोटा जातकालाई तपार्इंहरूले नोकरीमा लिइदिनाले रैतीहरूलाई व्यवहार चलाउनै अप्ठेरो परिरहेको छ’ भन्ने आशयको असन्तुष्टि चन्द्रशमशेरले हल्यान्डसमक्ष व्यक्त गरेका थिए (ज्ञानमणि नेपाल, अंग्रेजको ढिपी, हिमाल, पुस १७–२३) ।
०००
जंगबहादुरको पालामा जारी मुलुकी ऐनलाई राजा महेन्द्रको पालामा जारी भएको मुलुक ऐन १९६३ ले प्रतिस्थापन गरिदियो । नत्र त्योभन्दा अघि प्रजातन्त्र नआउञ्जेल जंगबहादुरकै पालाको कानुनअन्तर्गत नेपाल शासित थियो ।प्रजातन्त्रका लागि प्रजा परिषद्को नेतृत्वमा मच्चिएको १९९६ को काण्डमा संलग्न चार नेवार आन्दोलनकारीलाई सहिद बनाइयो । ब्राह्मण भएकाले विद्रोहीका शीर्ष नेता टंकप्रसाद आचार्य र उनका ब्राह्मण सहयोगी रामहरि पाण्डेलाई चारपाटा मुडेर जातिच्युत गर्नुका साथै सर्वस्वहरण गरी जन्मकैद गरियो ।
जातिच्युत गरिएका टंकप्रसादलाई जेलमा सजातीयहरूले पनि अछूतलाई झैं व्यवहार गर्न थाले । जेलको भान्छा छुनबाट उनलाई रोकियो । टंकप्रसाद तमाखुु भरेर चिलिममा आगो थाप्न जाँदा ‘ए छोइएला, परैबाट थाप्नुस्’ भनेर भान्छेहरूबाट तर्किने काम भयो (गणेशमान सिंह, मेरो कथाका पानाहरू–१, पृ. ९५) । यसरी राणाकालको अन्त्यताका पनि क्षेत्री शासकद्वारा ब्राह्मणहरूको जात खारेज गर्ने काम भयो ।
छुवाछूत पीडादायक भएपछि टंकप्रसाद र रामहरि पाण्डेले श्री ३ महाराजसमक्ष पतियाको निम्ति बिन्ती पठाए । पतियापछि जात फिर्ता आउने व्यवस्था त्यतिबेला थियो । महाराजबाट जवाफ नआउञ्जेल जेलका चौकीदारले उनलाई सबैसँग कम संसर्ग गर्न र छुवाछूत नगरी चोखोनिधो गर्न सल्लाह दिए । केही दिनपछि श्री ३ महाराजको हुकुम आयो, ‘तिनीहरूलाई छोइछिटो हाल्नुपर्ने मतवाली जातमा मिलाइदिनू ।’ त्यसै भयो (पृ. ९७) ।छुवाछूतले राज्यको अहोरात्र निगरानी पाउने जेलमा मात्र नभई अन्यत्र पनि प्र श्रय पाएको थियो । देशका दुरदराजमा पनि राज्यले छुवाछूतलाई बलपूर्वक लागू गरेको थियो ।
राणाशासनताका जेलमा परेका गणेशमान सिंह ‘जेल ब्रेक’ गरेर भागेपछि भक्तपुर हुँदै पूर्वी नाकाबाट उपत्यकाबाहिर निस्किएर भारततिर लाग्न भनेर हिँड्छन् ।
तर, त्यताबाट सम्भव नभएपछि पश्चिमकै नाकाबाट निस्किन खोज्छन् । थानकोट–भीमफेदी–वीरगन्ज रुटमा राज्यको निगरानी हुने भएकाले उनी सीतापाइला, नुवाकोट, गोरखा, पाल्पा, बुुटवलहुँदै भारत पुग्छन् । यात्राका क्रममा विभिन्न ठाउँमा भोगेको छुवाछूतबारे उनले उल्लेख गरेका छन् ।यात्राकै क्रममा गोरखाको फुुजेल डाँडाभन्दा चार कोश वरको गाउँबाट गणेशमान एक दिन बिहान चारैबजे हिँड्छन् । प्रचण्ड गर्मीमा घन्टौं लामो यात्रापछि लखतरान भएका उनी अन्ततः एउटा चौतारमा पुग्छन् र रूखको छहारीमा उत्तानो परेर पल्टिन्छन् । बिहान हिँडेदेखि केही नखाएकोले, नपिएकोले उनको ज्यान तातो कराईमा ओइरेको पालुङ्गोजस्तै गलेको हुन्छ ।त्यतिकैमा दुईटी महिला घाँसको भारी बिसाउन त्यही चौतारीमा आइपुग्छन् । चौतारीमा एउटा युवक लडेको देखेपछि एउटीले भन्छिन्, ‘भोकले लडेको होला ।’
अर्कीसँग पोल्टामा मकै हुन्छ । लडेको युवकलाई मकै दिउँभन्दा पहिलीले फेरि भन्छिन्, ‘दमिनी भएर कहाँ मकै दिनु, ऊ माथिल्लो जातको होला ।’भोकले मर्न लागेको मानिसलाई खाने कुरा दिन जातले छेक्दैन भन्ने निष्कर्ष निकाल्दै उनीहरूले भुुइँमा सालको पात राखेर त्यसमा मकै राखिदिन्छन् । उपल्लो जातका मानिसलाई ख्वाउनबाट रोक्ने गरी एकलासको चौतारीमा राज्यको उपस्थिति हुँदैन । भोक असाध्यै लागेको हुन्छ, गणेशमानलाई । त्योभन्दा बढ्ता प्यास लागेको हुन्छ । आँत सुुकेकाले मकैको फाँको हाल्ने साहस जुुटाउन उनी सक्दैनन् । चौताराबाट उनी भोकै हिँड्छन् ।त्यहाँबाट हिँडेको केही घन्टापछि फुुजेल डाँडा पुग्नुअघिको एउटा गाउँ आउँछ । पानी खान पाइने भयो भन्ने सोचेर खुुसी हुँदै उनी एउटा घरमा पुग्छन् र घरभेटीलाई सोध्छन्, ‘पानी खान पाइन्छ कि ? ’
घरभेटीले बटुवाको जात सोधेपछि गणेशमानले ढाँट्छन्, ‘क्षेत्री हुँ ।’घरभेटीले आफू कामी भएकाले पानी दिन नसक्ने बताएपछि गणेशमान भन्छन्, ‘म जातपात मान्दिनँ ।’ ‘अहँ हुँदैन, तिमीलाई पानी ख्वाएर हामी जेलमा किन जानु ? मलाई यस्तो बुुढेसकालमा जेल किन पठाउँछौं ? ’गणेशमानले पानी खान पाउँदैनन् । तिर्खाएको गणेशमानलाई छुवाछूत प्रथा कडाइका साथ लागू गर्ने राज्यले पानी खान दिँदैन । उनी अघि बढ्छन् । बाटोमा रहेको अर्को एउटा घरमा पनि उनले पानी पाउँदैछन् ।
हिँड्दै गाएपछि अन्ततः फुुजेल पौवा आउँछ, जहाँ एकजना कसाइको पसल हुन्छ । पसलअघि करुवामा पानी हुन्छ । कसैलाई नसोधी हतारहतार गएर उनी करुवाको पानी कलकल पिउँछन् । भोको पेटमा एकसाथ कलकल पानी खाँदा रिंगटा लागेर उनी ढल्छन् र क्षणभर बेहोस हुन्छन् (पृ. १५८–६१) ।
०००
शाह र राणाहरूले दलितलाई आजको अवस्थामा पुर्‍याएको विश्लेषण गर्नेहरूलाई शाह र राणाहरूले शासन नगरेको भारतका दलितहरूलाई चाहिँ कसले पछाडि पार्‍यो भनी सोध्यो भने सायद अकमक्क पर्छन् । व्यक्ति प्रमुख होइन । प्रमुख हो संस्कार, जसले हिन्दु समुदायका सबै शासकलाई छुवाछूत प्रथा लागू गर्न प्रेरित गर्‍यो/बाध्य बनायो ।
भारतमा दलितहरूले सबैभन्दा बढी जलाएको किताब हो, ‘मनुस्मृति’ । ‘मनुस्मृति’का दलितप्रति असहिष्णुु हरफहरू पढ्दा दलित छौडौं, गैरदलितको पनि आङ सिरिङ हुन्छ, कन्पारो तात्छ । यसमा भनिएको छ– शुद्रको उच्चतम कार्य भनेको ब्राह्मणको सेवा हो (१०ः१२३–१२८) । शुद्रले कुनै द्विज (आफूभन्दा माथिल्लो जातका मानिस)को मानहानी गर्‍यो भने उसको जिब्रो काटिदिनुपर्छ (८ः२७०) । शुद्रले द्विजहरूको समुदायको मानहानी गर्न खोज्यो भने द्विजहरूले उसको मुखमा तातो फलाम कोचिदिनुपर्छ (८ः२७१) । रुखो स्वरमा शुद्रले ब्राह्मणलाई उसको दायित्व सम्झायो भने राजाले त्यस शुद्रको मुखमा तातो तेल खन्याउने आदेश दिनुपर्छ (८ः२७२) । ब्राह्मणलाई चिनाउन मंगलसूचक शब्दको नाम राख्नुपर्छ (उदाहरणका लागि पुुुष्पकमल दाहाल), क्षेत्रीलाई चिनाउन सौर्य जनाउने नाम राख्नुपर्छ (अमरसिंह थापा), वैश्यले सम्पत्तिसूचक नाम राख्नुपर्छ (रतनकुमार शाह तेली) र शुद्रले चाहिँ सामान्य नाम मात्रै राख्नुपर्छ (२ः३१–३२) ।
शुद्रको जुुठो खानेले मरेपछि तीन दिनसम्म भकभक उम्लेको पानी खानुपर्छ (११ः१४९) भनि मनुस्मृतिमा लेखिएको छ । शुद्रलाई भोकै मर्ने अवस्था नभएसम्म पकाएको खाना खानमा पनि यसले रोक लगाएको छ (४ः२२३) । त्यस्तै उपल्लो जातका मानिसको मृत्यु भएको छ र उसको लाशलाई काँध दिने उपल्लो समुदायका मानिसहरू उपलब्ध छन् भने शुद्रले शवलाई छुन पाउँदैन (५ः१०४) भनि लेखिएको छ ।
‘सत्यार्थ प्रकाश’मा दयानन्द सरस्वती लेख्छन्– ‘मनुस्मृति’को मौलिक संस्करणमा पौराणिककालका लोभीपापी पण्डापुरेतले छुवाछूतसम्बन्धी प्रावधान थपेर यसलाई विकृत बनाए । छुवाछूतबारे उल्लेख गर्ने पुराणादीलाई पनि उनी वेदको अपव्याख्या मान्छन् र त्यस्ता ग्रन्थहरू च्यात्नुपर्ने पक्षमा पैरवी गर्छन् । उनी भन्छन्– सनतान वैदिक धर्म (हिन्दु) को मूलस्रोत वेदमा छुवाछूतबारे उल्लेख छैन ।
दयानन्दको तर्कलाई सघाउ पुग्नेगरी चर्चित किताब ‘कास्ट्स अफ माइन्ड’मा निकोलास बि. ड्रिक्स लेख्छन्– ‘भारतमा उपनिवेश कायम गर्न आएका बेलायतीहरूले बंगालमा सरिया कानुनले जस्तै हिन्दु राजारजौटाहरूको राज्यमा लागू हुने कडाखालको छुवाछूतजन्य जातप्रथाले आफूहरूको उपनिवेशवादी ध्येयमा टेवा पुग्ने देखे । त्यही भएर उनीहरूले उपलब्ध ‘मनुस्मृति’का विभिन्न संस्करणमध्ये अहिले सबैले उद्धरण गर्ने शुद्रप्रति असहिष्णुु ‘मनुस्मृति’को संस्करणलाई प्रवर्धन गर्ने र भारतको हिन्दु समाजलाई यसैअनुरूप ढाल्ने प्रयन्त गरे ।’
यसो भनेर उनले दलित आन्दोलनले उद्धरण गर्ने ‘मनुस्मृति’ मूल कृति नभई छेपक मिश्रित संस्करण हो भन्ने तर्कलाई बल प्रदान गरेका छन् । जातसम्बन्धी अध्ययन गरेका अधिकांश अध्येताको निष्कर्ष पनि एउटै निष्कर्ष छ– हिन्दुहरूको मूल ग्रन्थहरूमा जातको जरो वर्णबारे उल्लेख अवश्य छ, तर छुवाछूतबारे उल्लेख छैन ।
०००
‘सोसोलोजी’मा एन्थोनी गिडेन्स लेख्छन्, ‘वर्णका चार भाग छन् । तीभन्दा तल अछुत छन् (पृ. २१३) ।’ पाँचौ वर्ण अर्थात् छुवाछूतसहितको पञ्चम वैदिक अवधारणा होइन । ऋग्वेद र यजुुर्वेदमा चतुवण्र्यं अर्थात् चार वर्णको चर्चा गरिएको छ । ऋग्वेदको १०औं मण्डलअन्तर्गतको पुरुष सुुक्तमा चतुवण्र्यंबारे उल्लेख छ, जहाँ ब्रह्माको मुखबाट ब्राह्मण, पाखुुराबाट क्षेत्री, जाँघबाट वैश्य र पाइतालाबट सुुद्रको उत्पत्ति भएको बताइएको छ (१०ः९०ः१२) । योसँग मिल्ने भाव युर्जेवेदको ३१औं अध्यायमा व्यक्त छ, ‘ब्राह्मण विराट पुरुष परमात्माको मुखसमान छन्, क्षेत्री उनका पाखुुरा हुन्, वैश्य उहाँका जाँघ हुन् र शुद्र उहाँका खुुट्टा हुन् ।’
वेदमा उल्लेख भएको चतुवण्र्यंबारे उपनिषद्हरूले विस्तृतमा व्याख्या गरेका छन् । वेद र उपनिषदहरूले वर्ण/जात परिवारबाट सन्ततिले ग्रहण गर्ने चिज होइन, यो हासिल गर्ने चिज हो भनेका छन् । छन्दोग्य उपनिषद्मा ब्राह्मण अथवा ब्रह्मत्व जन्ममा नभई चरित्र र गुुणमा आधारित हुन्छ भनिएको छ (४ः१ः४) । हिन्दुहरूले सर्वाधिक मानेको अर्को धर्मग्रन्थ ‘भागवत गीता’मा पनि वेद र उपनिषद्ले व्यक्त गरेका वर्णसम्बन्धी विचारलाई दोहो¥याइएको छ । ‘भागवत गीता’मा गुुण र कर्मका आधारमा ईश्वरले वर्णव्यवस्थाको सिर्जना गरे भनिएको छ (३ः३) । त्यस्तै वर्णव्यवस्थाअन्तर्गत हासिल गरेको पेसामा कर्म गरेर व्यक्तिले मोक्ष प्राप्त गर्न सक्छ भनिएको छ (१८ः४१–४५) ।
हिन्दु धर्मका मूल ग्रन्थमा जातपातमा आधारित छुवाछूतसम्बन्धी व्यवस्था नभए पनि हिन्दु समुदायमा अमानवीय छुवाछूत अभ्यास थियो/छ । हिन्दु धर्मको मूल ग्रन्थमा उल्लेख भएको कर्मका आधारमा जात निर्धारण हुने व्यवस्थाअनुसार बौद्धिक कर्ममा सक्रिय अम्बेडकर र आहुतिहरू ब्राह्मण हुनुपर्ने हो, तर उनीहरूलाई दलित कसले र किन बनायो ? दलित आन्दोलनमा चासो राख्ने विद्वत् वर्गले उत्तर खोज्नुपर्ने हो– वेद र उपनिषदमा उल्लेख नभएको छुवाछूत प्रथाले कसरी हिन्दु समुदायलाई गाँज्यो, जसकारण दलित समुदायले आजपर्यान्त विभेद र चरम गरिबी भोग्नु परिरहेछ ?
(लेखक ‘साउथ एसिया चेक’मा आबद्ध तथ्य जाँचकर्ता हुन् ।)

अन्पुर्ण पोस्ट बाट साभार 

No comments:

Post a Comment