मन्दिरमा पुजा गरेको आरोपमा दलितलाई ५ हजार तिराउने पक्राउ


विभेद बिरुद्ध अभियान, रामेछाप ,माघ २४- दलितले मन्दिरमा पुजा गरेको भन्दै ५ हजार जरिवाना तिराउने बेताली रामेछापका २ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय रामेछापले सोमबार बेताली गाविस वडा नम्बर ३ मा रहेको सेरकाली मन्दिरका पुजारी द्धोय छत्र बहादुर बुढाथोकी र भिम बहादुर बुढाथोकीलाई पक्राउ गरि सहदरमुकाम मन्थली ल्याएको छ । माघ २२ गते बेताली–३ मा रहेको शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार सोही वडाका कृष्णकुमार विकले पूजा गरेको भन्दै मन्दिरका पुजारीद्वय वेताली–३ का छत्रबहादुर बुढाथोकी र भीमबहादुर बुढाथोकीले ज्यानै मार्ने सम्मको धम्की दिई उक्त रकम असुलेका हुन् ।
स्थानीयवासीले मन्दिरमा प्रत्येक शनिबार र मंगलबार निःसन्तान मानिस सन्तान प्राप्तिका लागि, युवा विदैशिक रोजगार फलदायी बनाउन र बोली नआएका बालबच्चाको बोली फुराउन उक्त मन्दिरमा गएर भाकल गर्ने गर्दछन् । भाकल अनुसारको बलि चढाई पूजाआजा गरेपछि समस्या समाधान हुने जनविश्वास रहेको छ ।

सोही जनविश्वासअनुसार विकले पनि आफ्नो छोरी दुई वर्षको हुँदा पनि बोली नआएकाले उनकी श्रीमतीले उक्त मन्दिरमा गई पाठी पूजा गर्ने भाकल गरेकी थिइन् । भाकल गरेअनुसार कृष्ण पाठी पूजा गर्न शनिबार मन्दिर पुगेका थिए ।विक मन्दिरभित्र प्रवेश गर्नासाथ दलित किन मन्दिरभित्र पसेको भन्दै पुजारीले बाहिर निकाली गालीगलौज गर्न थाले । पीडित कृष्णकुमारले 'हामी चाहिँ पस्नै नमिल्ने भनेर आफ्ना कुरा राख्दै गर्दा खुरुक्क पाँच हजार जरिवाना तिर नभए तेरो ज्यान लिन्छौँ' भन्दै पुजारीले नै दुर्व्यवहार गरेका थिए ।

त्यतिबेलासम्म विकले पैसा तिर्न मानिरहेका थिएनन् । पुजारी छत्रबहादुरले मन्दिर व्यवस्थापन समितिका अध्यक्ष जगतबहादुर कार्की र स्थानीय सामाजसेवी गुञ्ज ब. कार्कीलाई फोन गरेर सोधे । गुञ्जबहादुरले फोनमार्फत नै 'कामीहरुलाई कुनै हालतमा पनि त्यतिकै नछाड्नू पाँच हजार जरिवाना तिराएर मात्र छोड्नु र सो रकमले मन्दिरमा रुद्री लगाएर मात्र अरू पूजा गर्नु' भनेर आदेश दिएपछि सोही बमोजिम पुजारीले जरिवाना गरेका थिए
अहिले घटनाको छानविन भैरहेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । पिडकलाई कानुन् अनुसार कार्वाहि हुने र त्यसका लागी मुद्दा जाहेरीको तयारी भैरहेको प्रहरीको भनाई छ । यता पक्राउ परेको दुईजना पँुजारीले भने आफुहरुले अरुको आदेशमा यस्तो काम गरेको बताएका छन् । उनिहरुले आफुहरुलाई यस्तो कार्य गर्नका लागी उक्साउने अरु नै भएको बताएका छन् । मन्दिर जस्तो ठाउमा आफुमाथी अमानबिय ब्यवहार भएको भन्दै पिडित बिश्वकर्माले कानुन् अनुसार कार्वाहि गरि पाउँ भनि माघ २२ गते प्रहरीमा उजुरी दिएका थिए ।
यस्तै रामेछाप जिल्लाका दलित अधिकारकर्मीहरुले जिल्लामा यस्तो घटना हुन दुखद भएको प्रतिक्रिया दिएका छन् । उनिहरुले अहिलको २१ औ शताब्दीमा पनि यस्तो घटना हुनु मुलुकमा कानुनै नभएको जस्तो महशुस भएको बताए । उनिहरुले घटनामा मुछिएका पिडकलाई कार्वाहि र पिडितलाई न्याय दिलाउनका लागी आफुहरु लागीपर्ने प्रतिबद्धता जनाएका छन् । 

No comments:

Post a Comment