कस्तो बिडम्बना जन्मदै कोहि अछुत वा कलुषित बन्ने : आर पी श्रमिक

तस्बिर गुगल बाट 
विभेद बिरुद्ध अभियान - फागुन ४-  यो केवल भावना वा भावुकताको मात्र प्रस्तुती होईन । यो त यहि कथित सभ्यसमाजको यथार्थता हो जसले आफ्नैलागी झुटको खेती ग¥यो । यी सम्झदै कहालिलाग्दो सभ्यताको सानो प्रयास मेरो मानस्पटलको अन्तस्करणबाट असैह्य भई पीडा, बेदना, रोदन, प्रतिरोध, प्रतिप्रश्न अनि प्रतिउत्तरको रुपमा प्रस्फुटित इमान्दारीता र सत्यको अनि चेतनमनबाट निस्किएका यथार्थता हुन् । जसको उदय मेरा आँखाले देख्न सक्ने भएपमिछ भयो होला । सामाजिक विखण्डनलाई मानव भन्नुको सर्वश्रेष्ठताले सायद अझै पुनरावृतिको निरन्तरता दियो होला तर मानवताको सर्वश्रेष्ठताले यसलााइ कहिल्यै चाहेन । त्यसैले होला यी मेरा शब्दहरु केवल अशिक्षित होइनन् अधिकांश धनी अनि शिक्षित वर्गको अव्यवहारिक नियत माथिको प्र्र्रश्न हुन् । जसले अझै मानवलाई जातपातको विभेधलाई बढवा दिइ भोका, गरिब, नाङ्गा, माथी शोषण थिच्दै मिच्दै ढुङ्गासरि अबुझपनलाइ निरन्तरता दिईरहेको छ । 

विवशताको झिनो आडमा आफु मानव सर्वश्रेष्ठततलाइ नस्वीकारी आफै परिवर्तनको लागि तयार नहुनेहरु विल्कुल मुर्ख हुन, जो आफुलाई ज्ञानवान र मानवताको प्रतिविम्ब सम्झन्छन । भौतिक दुनियाँको रमिते बन्ने नाममा मानवता र अरुको अस्तित्व कसैले न्वारन गरिदिएको तल्लो–उपल्लो, गर्न हुने–नहुने, यो काम–त्यो काम अनि यो जात–त्यो जात भन्दै अरुको स्वाभिमान र हामी पनि मानव हौँ भन्ने जीवन निर्वाहाको आधारलाई कुल्चिएर ठूला ठूला कुरा गर्नेहरु माथी घृणा नभएपनि आफु को हुँ भन्ने अपरिचिततालाई भने मैले दयाको भावले सम्झाउनुलाई कर्तव्य सम्झें । जो आफु गर्दैन अनि अरुमाथी बखान गर्दछ तिनिहरु विल्कुल मानव दर्जाको लायक रहन्नन् । तर विवशता ! अझै महान सम्झनेहरु, अरुलाई देख्दैनन् अनि नदेख्दासम्म जति ठूलै कुरा गरेपनि जातपातको नाममा शोषीत पीडित प्रतिको सम्मान सायदै नगन्य हुन्छ । 

यो कुरो सुनाउँदा मलाई लाज लागेर आउँछ । अझै यहि निरन्तरता अनि यथास्थितिको संस्कृतिबाट भावी पुस्तामाथि आश राख्नुपनि मुर्खता सहि हुन्छ । यो मानव सर्वश्रेष्ठताको अन्तिम विन्दु हो । म यसलाई परिभाषित गर्नु आवस्यक ठान्दिन किनकी यो सर्वश्रेष्ठतामा ति व्यक्ति, समुदाय वा वर्गको पसिनाको सम्बन्ध छ । जसको सीप, परिश्रम तथा लगनको बेजाड अन्तरसम्बध रहेको छ । यो शब्द दलित केवल यसको स्वरुप हो जहाँ पशुसमान शोषण, लुट अनी विवेकहिन पराकाष्टाको सीमाङ्कन हुन्छ । जहाँ मानव मानवको सम्बन्ध केवल औपचारिकातामा छ, त्यो हो जसलााई छुर्दैमा अर्को सर्वश्रेष्ठ अपवित्र हुन्छ । त्यो कति दर्दनाक, भयानक, कारुणिक, अनी अमानविय शब्द बन्यो जसले यसलार्ई जातपात ’दलित’ को नामले सिकायो । ति पुरोहितहरुलाई धिकार्ने हरुको बाबजुत मेरो दयाको सानो हिस्सा भएपनि यस्तो खाडल खनिदिन सक्नुको अर्थंमा महानताको दोसल्ला आढाउनुलाई आवश्यक ठानें । जसको अझै निरन्तरता र ज्ञानवान, बुद्धिजिवी, शिक्षित वर्गको समेत अगुवा बनायो । 

म यथार्थतामा बग्दै छु । यो कस्तो अचम्म अरुहरु यसलाई सानो वा बिषयवस्तु नसम्झुन् तर मेरा यी अन्तस्र्करणको चित्कार रोकिदैन । यो अस्वभाविक, साथमा बाँच्नुको सम्बन्ध र नियतलाई समेत सान्दर्भिकताको आलेख बनेको छ । योे विल्कुल विवेकशुन्यता, नमानविय र नारकिय प्रवृतिको क्रमिकता हो । यो चेतनमनको सैह्य सिमाको उल्लङ्गघन हो, रसिला आँखा अनी उराठलाग्दो अकल्पनिय प्रस्तुती हो जो आफैमा असम्भाव्यताको दस्तावेज भने होइन् विल्कुल प्रयास विहिन मात्र हुन । तर वस्तुगत धरातल चाहि यसको निरन्तरता हो । 

कुनै एउटा मान्छे जन्मन्छ अनी उहि समाज, उहि गाउँ, अनि सँगै आमुन्नेसामुन्ने बस्ती, एउटै मूलको धारो अनि त्यहि धारोको पानी परबाट थापेर ल्याउने तर कोहि त्यसमा समेत बन्देज अनि त्यो अपवित्र सायद विषको उन्माद उत्सर्ष । उ पनि मानव हो, रगत पनि रातो, दुबै हिड्छन, काम गर्छन दुबै, खान्छन एकै तर फरक नजिकताको छ, आत्मीकताको छ । जहाँ उसलाइ दलित सम्बोधन गरिन्छ । अनि पानी, पानी भन्दा फरक छ । अरुहरु पिउँदैनन् कस्तो अपवित्रता । उनिहरु लुगा सिउँछन्, भाडाँकुडाँ बनाउछन्, माछा मार्छन बेच्नको निम्ती, दराज, सोफा, खाने टेबुल, बस्ने कुुर्सी, सुत्ने खाट पनि बनाउँछन्, पाइखाना बनाउँछन्, पुजा गर्ने ठाउँ बनाउँँछन्, अनि सालिग्राम राख्ने ठाउँ पनि बनाउँछन्, साथै शुभकार्यमा बाजा बजाउँछन्, विवाह, वर्तबन्ध, पास्निमा समेत गुञ्जायकमान बनाउँछन्, अनि मरेपछि स्वर्ग पनि तारिदिन्छन्, खुट्टामा लगाउने जुत्ता देखि शिरमा लगाउने टोपी सम्म बनाउँछन्, अनि अझै हलि बस्ने, कमारा कमारी बस्ने, होटल रेष्टुराँमा भाडाँकुडाँ माझ्ने समेत पनि गर्छन् । अरुहरु धर्तिमा जन्माइदिन्छन् अनि उनिहरु हुर्काइदिन्छन् । यो अती अझ अरु झन कति सबै अनिहरुकै कृति यी सबै कृति अरुहरुको वृती बन्दछ । तर यि सबै चल्छन्, अपशोच ! यी चल्दैनन्, सँगै बस्न, सँगै खान, घर भित्र पस्न, सार्वजनिक धारो, कुवामा समेत बन्देज, अनि आफै बनाउँछन् तर ति मन्दिर, स्कुल, हस्पीटल, चौतारा, पाटी समेत निषेध, साथमा भोजभतेर, विवाहा, वर्तबन्ध, कर्मकाण्डादीमा समेत अपमानित क्रमबद्दताको बाध्यात्मक अनुभुती, अनि बैवाहिक सम्बन्ध बन्धनको ठुलो पहाड आदि अनेकैं । यसरी अरुकै कोट लगाएर मन्दिर–मन्दिर, चर्च–चर्च, गुम्बा–गुम्बा, अनी चैत्य–चैत्य धर्म र मुक्तिका लागि धाउनेहरु म निसंकोच देखिरहेको छु । म ऊनीहरुलाई परिचित गरिदिनु पर्छ म मान्दिन । जसले औपचारिकताको खोल ओढेर आत्मीक अमानविय व्यवहारको पराकाष्ट र झुटको होलि खेलोस् । सँगै यसमा रोचक पक्षहरुपनि छन् । यथार्थतामाथि विश्वास गर्नेहरु उनिहरुलाई मुक्तकण्ठले प्रसंसा गर्छन् । यहाँ अर्को लुकेको पक्ष उनिहरुको सहनशिलता, दृढविश्वास, लगनशिलता, र इमान्दारिता साथमा जिम्मेवारीपुर्णता अनि समझदारीता र सधै्र झुकेका ती मानविय सम्मानता अनि हेपिएर बाँच्नुलाई पनि कति संयमतापूर्ण तवरबाट बीना कुनै रोकावटरहित मुस्कान र बेचिएका वा सुम्पिएका आफ्नो अस्तित्व माथि झिनो सहानुभुति सम्म नरहनुलाई र सम्पुर्ण जिम्मेवारी तर्फ डोरिनुलाई विल्कुल मेरो आत्माको कुनाबाट सायदै अस्वभाविक तर वास्तविकताको सम्मान गरिरहेछु । 

अरुहरुको व्यवहारलाई म अझ उदाङ्गो पारेर मानव परिभाषाको अर्को आविष्कार गर्न सक्दिन । अति अचाक्लीमा पनि उनिहरु विवशता भनुँ वा शहनशिलताले सामान्यीकरण गर्छन । यहाँ सम्म की आफु सर्बश्रेष्ठ महान् मानव सम्झनेहरु सबै कुरा त्याग्न तयार छन् तर पनि ती दलित बस्ति अछुत कहिएका माथि मोजमस्ति र अस्मिताको दिवालीयामा रम्छन्, यो चाहिँ बिल्कुल पवित्र अनि चल्छन् । उनिहरुको इज्जत प्रतिष्ठाको शुन्य सम्झिदा पनि वा पानी छोएको सम्म पनि खान नहुदा पनि उनिहरुको चेलिबेटीको कुमारित्व माथि मुख लगाउन भने छेक्दैन त्यो जातको सिमाङ्कनले । यो कस्तो मानव जो जन्मदै यी अधिकारहरु लिएर आउँछ अनि उनिहरु जन्मजात यी जिम्मेवारी पूरा गर्न बाध्य हुनुपर्ने । कस्तो अचम्म ? यी सबै पनि सम्पूर्ण होइनन् । यी त साना उदाहरण मात्र हुन । ठूला आँखा भएका आधारमा, एक्लो र विधुवा र गरिब भएको आधारमा, अन्तरजातिय विवाहा गरेको आधारमा, कहिँ नभएका छुुद्र शब्दहरु ‘बोक्सी’ प्रयोग गरेर अछुत बनाएर तातो फलामले डामेर, मलमुत्र खुवाएने सम्मका घटनाक्रमहरु यहाँ स्वभाविक र विना रोकतोक चलिरहेका छन् । केबल जातपातको चरमविद्रुपता मात्र छैन यहाँ कयौ विसंगतीहरु छन् जसले मानिसलाई अछुतको दर्जा दिने क्रमबद्धता अझसम्म भत्केकोे छैन । 

म राष्ट्रियतालाई पर राखेर हेर्दा, व्यक्तिगत स्वतन्त्रताको पक्षमा छु तर यो भन्नुको मतलब अरुको अस्तित्व सम्म पनि नस्वीकार्ने र अरुको अभिमान माथि नाच्न भने पक्कै होइन । स्वतन्त्रतासँगै छुट, लुट र आमाचकारी मात्र आउँदैन यसमा त गहन जिम्मेवारी पनि जोडिएको हुन्छ । स्वतन्त्र बन्न चाहनेले जिम्मेवारी पनि बहन गनुपर्छ । र यो औपचारीकताको देखाओटी खोल होइन, यो त मानव हुनुको दर्जामा मिलेको विशाल सम्मान हो । अर्काे कोही व्यक्तिलाई कसैले शोषण गर्ने र उनिहरुको गरिबी, इमान्दारीता, कडा परिश्रम गर्न सक्ने क्षमता र असाहायपनको फाइदा लिई आफ्नो उपस्थितिलाई ससक्त बनाउन कोरिएका यी जातपातको नाटकिय महाकाव्यको इतिहासलाई धुलोमा मिलाउन उनिहरुलाई प्रतिस्पर्धी र समान अस्तित्वको दायरामा ल्याउनु पर्छ । यी कुराहरुलाई कथानक बनाएर यी कुराहरु लेख्नुपर्ने बाध्यता नै मानव समाजको कलङ्क हो । म यो लेखिरहदा जो एउटा म जस्तै स्वरुपको मानवको अस्तित्वका लागि म निकै लज्जाबोधले पतित भएको महशुस गरिरहेको छु । यी विल्कुल अमानविय व्यवहारहरु हुन जसले मानव भन्ने नारी पुरुषको स्वरुपलाई टुक्राएर जातपात नामको भ्रमित इतिहास खडा ग¥यो । एक्काइसौ शताब्दीको विज्ञान प्रविधिको मध्ययुगमा पनि एउटा मान्छेको जीवनको भिन्न स्वरुपमा परिभाषित गर्ने क्रमले तिनीहरुको अस्तित्व पनि एकदिन नासिनेछन् किनकी तिनीहरु यहि भिन्न मानवको सृजना हुन । यो भिमकाय भेद एउटा मानव अर्को मानवले छोएको खान नहुने धरातलमा अडेको छ म ति मानवहरुलाई मानव समाजको कलङ्क र नरपशु मान्छु । यो निर्दयी व्यवहार नै मानव समाज पतन र मानवविहिन बन्दै जाने तिव्र प्रतिक्षाको मृत्युसूचका हो । 

यसरी यी मानव अस्तित्व इतिहासका सर्जकहरुलाई अपमानित गर्नु भन्दा सोच्नोस् त देशद्रोहीहरु जसले तपार्इंको पसिनाको मुल्यलाई लुटेर इमान्दारीताको झ्याली पिटिरहेका छन् । तपाईंहरुलाई ठूला ठूला आस्वासनमा भुलाएर देशको स्वतन्त्रता र तपाईंहरुको निरिहतालाई समेत बलिको बोका बनाइरहेका छन् । अनि देशको अस्मिता माथि समेत प्रहार गरी उजाड बनाईरहेका छन् । तपाईंको रगत पसिनामा होली खेल्नेहरुलाई भनिदिनुस् –दलित । उनिहरु हुन अछुत जसलाई तपार्इंहरुले हुर्काइरहनु भएको छ, त्यो साँप दिनहँु तपाई दुध पिलाउदै हुनुहुन्छ तर तपाईंलाई त्यसले प्रत्येक पल पाइला–पाइलामा डसिरहेको छ । यी असली हकदार हुन यसको अनि ती व्यवहारहरुका सेवाग्राहीहरु । गरिबी, असाहाय हुनुको अस्तित्वलाई अपमानित गरी आफुलाई कमजोर बनाउनु भन्दा पहिचान गर्नोस ती धमिराहरु जसले यो सामज अनि सिङ्गो राष्ट्रलाई प्वाल पारिरहेको छ । यी बस्ती भित्रका आन्तरिक द्वेश, मनमुटाव, बैमनस्यता, रिसराग, भेदभाव र सम्पूर्ण बाहुनवादलाई समेत त्यागेर जुटौ एकचोटि जसले प्रत्येक पल जन्मिरहने नयाँ गन्दगी इतिहासलाई सदाका लागि अन्त्य गर्नेछ । त्यो सिप तथा लगनशिलताको खानिलाई पनि समान अस्तित्वमा व्यतिगत स्वार्थलाई छोडी राष्ट्रिय मानविय हित प्रति समर्पित बनौँ । अझ भनौँ मानविय सभ्यता लाई प्रगतिशिल अभिबृद्धि तर्फ उन्मुख गराउन तथाकथित राष्ट्रिय सिमाङ्कनलाई समेत तुच्छ मानौँ र आचरण गरौँ । 

एउटा अबोध बालक जन्मन्छ अनि जन्मदै उ अछुत हुन्छ । कस्तो बिडम्बना जन्मदै कोहि अछुत वा कलुषित बन्ने । यो यस्तो प्रकारको परम्परा, सभ्यता र मानव नामको नाटकिय मञ्चनको अन्त्य जरुरी छ । बुलन्द पारौँ समानता अनि सहअस्तित्वको बोली अनि बनाउँ राष्ट्र । म त अझ भन्छु सबै जुटौँ, कोही नफुटौँ, मानविय स्वरुपलाई कुरुप नबनाऔँ, स्वभिमान नबेचौँ, अस्मिता नसुम्पौँ, तब बन्छ मान्छेहरु बस्ने उच्च र शुन्दर देश । यहि नै सत्य हो । म अझ बढी यो नराधामको करतुतको बारेमा र ती मौरी झैँ मेहनती वर्गका आवाजहरुलाई बुलन्द पारेर ति सर्बश्रेष्ठ कहलिएका समूदाय जसले डिग्रीको प्रमाणपत्र हातमा बोक्छ र आफु विशिष्ट भएको ध्वाँस पिट्छ एकपटक भित्रैदेखी मानव हृदयको चित्कारलाई सुन्न र आफ्ना पाइलाका डोबहरुलाई सधैँका लागि पुजन योग्य बनाउन उनिहरु आफैँ यसको नेतृत्व लिउन भन्छु । भौतिक दुनियाँको रमिते बन्ने नाममा आत्माका पुकारहरुलाई र आफ्नो भागमा परेको कर्तव्यहरुलाई आत्मसाथ गर्न गुहार दिनुहोस्, कुण्ठित नबनाउँनुहोस् । जसलाई मात्र एक मानव आत्माले जिन्दगीभर बटुलेका स्नेह समर्पण गर्छ अन्यथा ति तिम्रा नियतमा म सिँगान, रगत र पित्तयुत्त थुक थुक्नेछु । 

मान्छे हाँसेको धर्ती हाँस्छ 

स्वतन्त्र र समान अस्तित्व भएको स्वभिमान र अभिमान रहन्छ 

सबै जातजाती मिलेर देश बन्छ 

फुटेर भन्दा जुटेर गन्तव्य सहज बन्छ 

र हामी समुन्नत र वैभवशाली बन्छौ । 

जय मानववाद !!!!!!!!!

No comments:

Post a Comment