दुई हजार विपन्न दलित परिवारका लागि घर निर्माण गरिने

विभेद बिरुद्ध अभियान- फागुन ४ , नेपालगन्जः सरकारले बाँके र बर्दिया जिल्लाका विपन्न दलित परिवारका लागि जनता आवास कार्यक्रम शुरु गरेको छ । कार्यक्रम अन्तर्गत यस वर्ष बर्दिया र बाँकेका दुई हजार विपन्न दलित परिवारका लागि घर निर्माण गरिने भएको छ ।जनता आवास कार्यक्रम अन्तर्गत बर्दियामा एक हजार र बाँकेमा एक हजार गरी विपन्न दलित परिवारका लागि दुई हजार घर निर्माण गर्न लागिएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय नेपालगन्जका सूचना अधिकारी जयराम चौधरीले जानकारी दिए ।
सूचना अधिकारी चौधरीका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत मापदण्ड पुगेका घर परिवार छनौटका लागि बर्दियामा क्षेत्र नम्बर २ का सांसद सञ्जय गौतमको संयोजकत्वमा क्षेत्र नम्बर १ का सांसद श्याम ढकाल र सांसद गोपाल दहितसहितको समिति गठन गरिएको छ ।
बाँकेमा सांसद आशा विकको संयोजकत्वमा क्षेत्र नम्बर १ का सांसद देवराज भार र सांसद गीता सिंहसहितको समिति गठन गरिएको सहरी विकास तथा डिभिजन कार्यालयले जनाएको छ । अघिल्ला वर्षमा निश्चित जाती छनौट गरी घर निर्माणका लागि रकम उपलब्ध हुँदै आएकोमा यस वर्ष समग्रमा दलितका लागि रकम उपलब्ध गराइएको हो ।
जनता आवास कार्यक्रम अन्तर्गत एक घर निर्माणका लागि विगतमा एकलाख ६१ हजार पाँच सय रुपैयाँ उपलब्ध गराइएकोमा गत आर्थिक वर्षदेखि सो रकम बढाएर दुईलाख १५ हजार रुपैयाँ पु¥याइएको छ । छनौटमा परेका परिवारले झण्डै १० हजार रुपैयाँ जनश्रमदान लगायतबाट व्यहोर्नुपर्नेछ । जनता आवास कार्यक्रम अन्तर्गत बर्दिया र बाँकेका गरिब तथा विपन्न परिवारका लागि सरकारले वार्षिक रुपमा बजेट छुट्याउँदै आएको छ ।
यो कार्यक्रमले बाँकेका विपन्न तथा घर नभएका एक हजार दलित परिवारको आफ्नै घर हुने जनाउँदै बाँकेको समितिका संयोजक सांसद आशा विकले यस कार्यक्रमले दलितलाई घर मालिक बनाउने बताइन् ।
उनले यो कार्यक्रमबाट आगामी दिनमा थप विपन्न दलितका लागि घर निर्माण गरिने जनाउँदै यसबाट धेरै विपन्न दलितहरु लाभान्वित हुने पनि जनाइन् ।

No comments:

Post a Comment