अति पिछडिएको मुसहर समुदायले देशव्यापी रूपमा ‘जग्गा आन्दोलन’ सुरु गरे

विभेद बिरुद्ध अभियान - फागुन १०, तराई मधेसमा बसोबास गर्ने अति पिछडिएको दलित मुसहर समुदायले भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।मुसहर समुदायले फागुन ८ गतेदेखि देशव्यापी रूपमा नै ‘जग्गा आन्दोलन’ सुरु गरेर आफूले भोगचलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनु पर्ने भन्दै माग गरेका हुन् ।देशभर १२ लाखभन्दा बढी जनसङ्ख्या रहेकामा ९५ प्रतिशत मुसहर अहिले पनि भूमिहिन रहेको बताइएको छ । मुसहर समुदायले भोग चलन गर्दै आएको जग्गाको लालपूर्जा पाउनु पर्ने माग राख्दै फागुन ८ गते देशका १५ वटा जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको हो ।
उनीहरूले महोत्तरी, धनुषा, सिरहा, सर्लाहीऽ सप्तरी, सुनसरी, पर्सा, बारा, रौतहट, उदयपुर, सिन्धुली, मोरड., झापा, नवलपरासी र काठमाडौँलगायत १५ वटा जिल्लाका जिल्ला प्रशासन कार्यालयमा ज्ञापन बुझाउँदै भोगचलन गर्दै आएको जग्गाको लालपुर्जा माग गरेका हुन् ।
मुसहर समुदायले जग्गा उपलब्ध गराउन सरकारसँग माग गरेतापनि बेवास्ता गरेकाले नेपाल राष्ट्रिय मुसहर सङ्घको अगुवाइमा जग्गा आन्दोलन सुरु गरेको सङ्घका अध्यक्ष चन्देश्वर सदा मुसहरले बताए ।
त्यस्तै गरि पुस्तौँदेखि जग्गाविहीन रहेका सप्तरीका विभिन्न गाविसबाट आएका मुसहर समुदायका प्रतिनिधिले फागुन ८ गते जग्गा माग्दै राजविराजमा प्रदर्शन गरेका छन् ।मुसहर समुदायले वर्षौँ देखि घर बनाई भोगचलन गरिरहेको जग्गाको लालपुर्जा आफ्नो नाममा दर्ता गरिदिन, दिनाभद्री र शबरीमाताको नाममा रहेको जग्गा उपलब्ध गराउन र मुसहर आयोग गठन गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।
राष्ट्रिय जनगणना ०६८ ले सप्तरीमा मुसहरको जनसङ्ख्या ३ लाख देखाएको छ । नेपालको २४ जिल्लामा बसोबास गरिरहेका ९५ प्रतिशत भूमिहिन मुसहरहरूको जनसंख्या १२ लाख रहेको नेपाल राष्ट्रिय मुसहर सङ्घले दावी गरेको छ । दैनिक ज्याला मजदुरी गरेर जीवन निर्वाह गर्ने अधिकांश मुसहरहरू नागरिकता र जग्गाविहीन रहेको सङ्घका जिल्ला संयोजक रामेश्वर सदाले बताए ।

No comments:

Post a Comment