सुर्खेतमा भान्छा छोएको आरोपमा नौ वर्षीय भीमबहादुर बिकलाई निर्घात कुटपिट

विभेद बिरुद्ध अभियान, चैत १९ गते- बराह गाँउपालिका-८ कुम्भिकोटका नौ वर्षीय बालक भीमबहादुर बिकलाई कथित माथिल्लो जातिको भान्छा छोएको आरोपमा स्थानीय बाटु शाही र उनका छोरा भरत शाहीले कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ ।पीडित बालकलाई भान्छा छोएको भनी आरोपितद्वयले लाठीले निर्घात कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको हो ।

बाटुका छोरा एवम् पीडित बालकका सहपाठी चक्र शाहीले टर्चलाईट लिन भान्छाकोठामा पठाएलगत्तै बाटु र भरतले लाठीले बेहोश हुनेगरी कुटपिट गरेको पीडितले बताए । कुटपिटका कारण पीडित बालकको शरीरभरी निलडाम परेकाले क्षेत्रीय अस्पताल सुर्खेतमा उपचार भइरहेको छ ।‘म गोठालो गएको थिएँ । घरमा आँउदा छोरालाई देखिनँ । खोज्दै जाँदा बेहोश अवस्थामा बाटुको घरमा छोरालाई फेला पारेँ ।’-भीमबहादुरकी आमा जैसरा बिकले भनिन्-‘बाटु र उनका छोरा भरतले छोरालाई बेस्सरी कुटेर बेहोश बनाएका रहेछन् ।’

जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम आरोपितद्वयलाई हदैसम्मको कारबाहीको माग गर्दै ०७३ चैत १८ गते जिल्ला प्रहरी कार्यालय सुर्खेतमा उजुरी दिइसकेको पनि जैसराले जानकारी दिइन् ।पीडितले उजुरी दर्ता गरेपछि आरोपितद्वयको खोजी भइरहेको र गिरफ्तार गरेलगत्तै नेपालको संविधान र जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन २०६८ बमोजिम कारबाही प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय सुर्खेतका एसपी मोहन आचार्यले बताए ।

No comments:

Post a Comment