विदेश गएका श्रीमानको मृत्युपछि रोल्पाकी बुद्धमाला विकको बिचल्ली

विभेद बिरुद्ध अभियान - रोल्पा, २० चैत । श्रीमान्ले विदेशबाट पैसा कमाएर ल्याएपछि सुखको जीवन बिताउने आशामा रात काटिरहेकी घर्तीगाउँ–७ रोल्पाकी बुद्धमाला विकलाई २०७३ कात्तिक २० गते अकल्पनीय बज्रपात आइलाग्यो । पैसा कमाउन गएका श्रीमान्ले खाडीमै मृत्युवरण गरे भन्ने अशुभ समाचार सुनेपछि उनी मुर्छित भइन् ।तीस वर्षीय श्रीमान् हरिप्रसाद कामी रोजगारीको सिलसिलामा २० महिना पहिले कतार गएका थिए । कति पटक त पैसा पनि पठाए उनले । मृत्यु हुनुभन्दा केही दिन पहिले आफू बिरामी परेको खबर त गरेका थिए उनले श्रीमतीलाई । बिरामी सामान्य रहेकाले चाँडै निको हुने भन्दै नआत्तिनु भनेपछि उनी श्रीमान् छिट्टै सञ्चो हुने आशामा दिन पर्खिरहेका थिइन् । अस्पताल भर्ना भएको दिनदेखि उनको फोन पनि स्विच अफ भयो । त्यही दिन नै रहेछ उनले श्रीमान्सँग अन्तिम पटक कुरा गरेको ।

“फुसले छाएको सानो घर छ बुद्धमालाको । श्रीमान्ले पैसा कमाएर ल्याएपछि राम्रो घर बनाउने सपना थियो । पैसा कमाएर आउँछु भनेर गए, आउँदा बाकसमा लास बनेर फर्के,” बुद्धमालाले रुँदै भनिन् । घरको आर्थिक अवस्था कमजोर रहेका रोल्पा घर्तीगाउँका हरिप्रसाद रोजगारीको सिलसिलामा कतार पुगेका थिए । कामीको रक्त क्यान्सरका कारण गत कात्तिकमा सोही ठाउँमा मृत्यु भएपछि घरमा श्रीमती बुद्धमालाको बिचल्ली भएको छ ।

यसैगरी, रोल्पा जंकोटका ४१ वर्षीय तुलसीविक्रम पुन मलेसियाको क्वालालाम्पुरमा रहेको एक इन्डियन कम्पनीमा काम गर्थे । गत कात्तिक २४ गते उनी आप्mनै कोठामा मृत भेटिए । कारण थियो उच्च रक्तचाप । शिक्षित रहे पनि देशमा रोजगारी पाउन नसक्दा उनी २ वर्ष पहिले खाडी गएका थिए । घरमा श्रीमती मीना पुनसहित तीन छोरी, एक छोराको भविष्य उज्ज्वल बनाउन भन्दै खाडीमा पसिना बगाउन पुगेका उनी पनि बाकसमै लास बनेर नेपाल भित्रिए ।

श्रीमान्को मृत्युपछि मीना पुनको सहारा बनेका छन् साइला जेठाजु नौलसिं पुन । मृतक भाइको परिवार आफूसँग आश्रित रहेको नौलसिं पुनले बताए । “छोराछोरीले अध्ययन गर्दैछन्, बुहारीको आम्दानीको अन्य स्रोत छैन त्यसकारण मैले हेर्नु परेको छ,” पुनले अगाडि थपे । लिवाङ नगरपालिका–९ गुरुङगाउँकी कमला गुरुङ डेढ वर्षअघि साउदी अरबमा मृत्यु भएका श्रीमान्को शवको पर्खाइमा रहेकी थिइन् । श्रीमान्को शव हेर्न नपाउँदै उनको मृत्यु भयो ।

वैदेशिक रोजगारीको सिलसिलामा साउदी पुगेका श्रीमान् खुमबहादुर गुरुङको मृत्युपछि तनावमा रहेकी गुरुङको गत पुस २७ गते आफ्नै घरमा रहस्यमय तरिकाले मृत्यु भएको हो । दिउँसो दाँत माँझ्दै गरेकी बुहारी एक्कासि बेहोस भई लडेको देखेर मृतककी सासूले छिमेकीलाई खबर गरेकी थिइन् । बेहोस भई लडेकी गुरुङको छमेकीले खुट्टा मालिस गर्दै गर्दा निधन भएको छिमेकीले बताए । श्रीमान्को मृत्युपछि लामो समयसम्म निकै तनावमा रहेकी गुरुङको हृदयघातबाट मृत्यु भएको बताइएको छ ।

साउदी अरबको एक कम्पनीमा काम गर्ने मृतक कमलाका श्रीमान्लाई कम्पनीकै गाडीले ठक्कर दिँदा मृत्यु भएको थियो । कमलाको मृत्यु भएको लामो समयपछि मात्रै मृतकको लास नेपाल आएको थियो । मृतकका चार नाबालिका छोरी रहेका छन् । वृद्धा हजुरआमासँग बस्दै आएका उनीहरुको पालनपोषणमा निकै समस्या रहेको छिमेकंी हरिजङ्ग गुरुङले बताए । खासगरी खाडी मुलुकमा गई ज्याला मजदुरी गर्ने रोल्पाली युवाको बाहुल्यता छ । आंशिकरुपमा दक्षिण कोरिया, जापान, अमेरिका, अस्ट्रेलियाजस्ता देशमा पनि केही रोल्पाली रोजगारीका लागि पुगे पनि झन्डै ९० प्रतिशत सङ्ख्या खाडी मुलुकमा छन् ।

जिल्ला प्रशासन कार्यालय रोल्पाको तथ्याङ्कअनुसार दैनिक करिब १५ देखि २० जना रोल्पाली युवा वैदेशिक रोजगारीमा जान राहदानी लिने गर्दछन् । चालु आर्थिक वर्षको माघ मसान्तसम्म जिल्लाबाट राहदानी लिने पाँच सय ७५ जना छन् । काठमाडाँैबाट राहादानी लिनेको सङ्ख्या भने दुई हजार चार सय ७३ जना रहेको जिल्ला प्रशासन कार्यालय रोल्पाका राहदानी फाँटका नासु डिल्लीराज रेग्मीले बताए ।

अघिल्ला वर्षको तुलनामा यो सङ्ख्या बढी हो । खासगरी देखासिकी, युवाको सङ्ख्या बढ्दै जानु, विदेशमा छिटो पैसा कमाइन्छ भन्ने धारणाले यो सङ्ख्या बढेको हुन सक्ने उनको भनाइ छ । घरेलु कामदार, कृषि मजदुर, कारखाना मजदुरजस्ता जोखिमयुक्त काममा जानेको सङ्ख्या अधिक रहेका कारण बर्सेनि थुप्रै रोल्पालीको मृत्यु हुने गरेको छ ।

विदेश गएका नागरिकको कार्यस्थलमै मृत्यु भएर घरमा श्रीमती र छोराछोरीको बिचल्ली हुने गरेपनि राज्यले उनीहरुको हेरचाह नगर्नु लोककल्याणकारी राज्यको मान्यता विपरीत भएको महिला नेत्री पुष्पा श्रेष्ठले बताइन् । 

No comments:

Post a Comment