ऋषिकेश मन्दिरमा बाजा बजाएको वार्षिक १५ सय तलब

विभेद बिरुद्ध अभियान-रूपन्देही, ११ वैशाख । देशकै चारधाममध्येको एकधाम मानिने रुरुधाम क्षेत्रको प्रसिद्ध ऋषिकेश मन्दिरमा चरम जातीय विभेद र श्रम शोषण हुँदै आएको पाइएको छ । त्यस मन्दिर परिसरमा रहेका कुनै पनि मन्दिरभित्र दलित समुदायलाई प्रवेश गर्न दिनु त परै जाओस् पूजा व्यवस्थापन समितिमा समेत दलितलाई राख्ने गरिएको छैन । त्यस मन्दिरमा दुई पुस्तादेखि दैनिक बिहान–बेलुका बाजा बजाउँदै आएका एक परियार परिवारलाई वर्षभरिको जम्मा १५ सय मात्रै दिने गरेको पाइएपछि श्रम शोषण भएको पुष्टि भएको हो ।
पाल्पा अर्गेलीका ६१ वर्षीय रामबहादुर परियारले हरेक दिन बिहान बेलुकी बाजा बजाएको वार्षिक १५ सय तलब पाउने गरेको बताए । उनले भने, ‘पहिला वर्षको साढे तीन सयमा बिहान बेलुका बाजा बजाउँदै आएको थिएँ, पछि १५ सय बनाइयो, धेरै वर्षदेखि समितिसँग तलब बढाइदिन भने पनि कतैबाट सुनुवाइ भएको छैन ।’ उनले आफ्नो पाँचजनाको परिवार रहेको बताउँदै जीविका चलाउनै मुस्किल परेको गुनासो गरे ।
बिहान ५ देखि ६ बजेसम्म र साँझ पनि एक घण्टा बाजा बजाउने परियारको तलब बढाउन स्थानीय दलित अगुवाहरूले आवाज उठाउँदै आएका छन् ।५ सय वर्ष पुरानो ऋषिकेश मन्दिरमा अर्घेलीका भट्टराई वंशले पूजा चलाउँदै आएका छन् । गुठी जमिनसमेत प्रशस्तै पाएका र वर्षेनी लाखौं रकम दानदक्षिणाबाट संकलन हुने भए पनि त्यो वंशभन्दा बाहिरका व्यक्ति पूजा व्यवस्थापन समितिमा नहुने भएकाले अरूलाई जानकारी नहुने स्थानीय राजनीतिक दलका नेताहरू बताउँछन् ।यसअघि रामबहादुरका बाबुले पनि ६५ वर्षको उमेरसम्म बिहान बेलुका त्यही मन्दिरमा बाजा बजाउँदै आएका थिए ।

No comments:

Post a Comment