सामाजिक रुपमा अपमानित हुन थालेपछि गन्धर्वको पेसा सङ्कटमा

विभेद बिरुद्ध अभियान - २ चैत । पाल्पा । गन्धर्व समुदायले सारङ्गी रेटेर नागरिकलाई सचेत बनाउने परम्परागत पेसा अहिले लोप हुँदै गएको छ ।रेडियो र टेलिभिजन नागरिकको घरमा नहुँदा बस्तीमा सङ्गीतको माध्यमाबाट सूचना, सन्देश र मनोरञ्चन प्रवाहका निम्ति सारङ्गी सञ्चार प्रवाह गर्ने गतिलो साधन थियो ।
व्यक्तिको हातहातमा मोबाइल, घरघरमा रेडियो र टेलिभिजनलगायत सामाजिक सञ्चालको प्रयोगका कारण सारङ्गी बजाउने परम्पराको अन्त्य हुने अवस्था देखिएको छ । जातीय छुवाछूत, आर्थिक, सामाजिक, सांस्कृतिक रुपमा विभेद् र गाउँवस्तीमा घुमफिर गर्नुपर्ने बाध्यताले युवा पुस्ताको आकर्षण हुन नसक्दा सञ्चार प्रवाह गर्ने सीप नै सङ्कटमा परेको छ ।तानसेन नगरपालिका–६ का ६५ वर्षीय रामबहादुर गन्धर्व १० वर्षको उमेरदेखि सारङ्गी बजाउन थालेका हुन् । उनले सारङ्गी बजाएरै छोरा छोरीलाई शिक्षादिक्षा दिए । सारङ्गी रेट्दै गीत गाएर तानसेन बसर्पाक क्षेत्रमा जीविकोपार्जन गर्दै आएका गन्धर्व परिवारले सरकारबाट आफूहरुलाई कुनै सहयोग नभएको गुनासो गरेका छन् ।
तानसेन, भैरवस्थान, ताहुँमा गन्धर्व समुदायको बस्ती रहेको छ । तानसेन बसपार्क क्षेत्रमा अहिले २५ घर गन्धर्व समुदायको रहेको छ । परम्परागत सारङ्गी बजाउने क्षमता भएका बलबहादुर गन्धर्व र रामबहादुर गन्धर्व मात्र हुन । बलबहादुर व्यापार र समाजसेवातर्फ आकर्षित भए । उनले २०४७ सालपछि गन्धर्व पेसा त्यागे ।पहिला इतिहास सम्बन्धी गीत गाउने चलन थियो । तर अहिले लोकगीत गाउने चलनको विकास भएको छ । रेडियो, टेलिभिजन घर घरमा बज्न थालेपछि सारङ्गी पेसा लोप हुँदै गएको हो । अहिले गन्धर्वहरु बाख्रापालन, बङ्गुरपालन, अदुवा खेतीतर्फ लागेका छन् ।
“सारङ्गीको धुन सुन्न रेडियो र टेलिभिजन खोल्नुपर्ने स्थिति आएको छ,” गन्धर्व टोलविकास समितिका अध्यक्ष दिनेश गन्धर्वले भने । विसं २०६८ को जनगणना अनुसार तानसेनमा ९८ पुरुष र ९५ महिला गरी कुल एक सय ९३ जना, रिब्दीकोट गाउँपालिकाको भैरवस्थानमा ११ महिला र ११ पुरुष तथा रम्भा गाउँपालिकाको ताहुमा आठ पुरुष र १९ महिला गन्धर्वको बसोबास रहेको छ ।
गन्धर्व समुदायको बस्ती रहे पनि सारङ्गी बजाउनेको अभाव भएको छ । सामाजिक रुपमा अपमानित हुन थालेपछि यस पेसाप्रतिको आकर्षण घटेको हो । गन्धर्वहरु अहिले व्यापार, खेतीपाती, पशुपालनलगायत पेसाबाट जीविकोपार्जन गर्न थालेका छन् । 

No comments:

Post a Comment