कमाउन मलेशिया गएका मानबहादुर विश्वकर्मा १९ वर्ष भेटिए ,घर फर्किन सहयोगको अपिल

विभेद बिरुद्ध अभियान - २० चैत्र २०७३, एउटा व्यक्ति आफ्नो घर–परिवारबाट कति वर्षसम्म अलग बस्न सक्छ ? दुई वर्ष, चार वर्ष वा यस्तै यस्तै । अनि एउटी महिला कति वर्षसम्म पति फर्किने आशमा बस्लिन् ? यसको निश्चित जवाफ नहुन सक्छ ।रुपन्देही रुद्रपुरका मानबहादुर विश्वकर्मा १९ वर्षदेखि परिवारबाट सम्पर्कविहीन हुँदा गंगाकुमारीले पर्खाइमा सिरानी धेरै भिजाइन् । तर, आशाको दियो कहिल्यै निभ्न दिइनन् ।१९ वर्ष भनेको चानचुने समय होइन । यसबीचमा गाउँका धेरै युवा विदेश गए । उनीहरु फर्किँदा गंगाले सोध्ने गर्थिन्–मेरो बूढालाई कतै देख्यौ कि ?
तर, सबैबाट निराश पार्ने जवाफ मात्रै पाइन् । रहरलाग्दो उमेरमा करिब २० वर्षसम्म पतिको पत्तो नहुनु एउटी अबला नारीका लागि कम्ती पीडादायी कुरा होइन ।कमाउन भन्दै विदेशिएका मानबहादुर विश्वकर्मा १९ वर्षदेखि परिवारसँग सम्पर्कविहीन भए । यसबीचमा गंगाले छोरालाई हुर्काएर प्लस टु सम्म पढ्ने बनाइन् । तर, छोरालाई बुबाको अनुहार याद छैन । यसबीचमा मानबहादुरले कमाएर पैसा त पठाएनन् नै, एक झल्को भेट समेत दिएनन् ।अन्ततः उनी १९ वर्षपछि परिवारको सम्पर्कमा आएका छन् । रित्तो हात भए पनि पति अब चाँडै घर फर्किने कुराले गंगाको मुहारमा खुसी छल्किएको छ ।
को हुन् मानबहादुर ?
रुपन्देही जिल्लाको रुद्रपुर २ पिपारीचामा मानबहादुरको घर छ । ६ भाइमध्ये बीचका उनी पढ्दापढ्दै मलेसिया जाने भए । गाउँमा त्यतिबेलासम्म विदेश जाने कमै थिए । जग्गा धितो राखेर साहुको ऋण काढ्दै उनी मलेसिया गएका थिए ।एजेन्टले मलेसियामा राम्रो कमाइ हुन्छ भन्दै उनीसहित ६५ जना युवालाई पठायो । मलेसियाको लागि रोजगारी नखुलेको त्यो बेला उनी अवैधानिक बाटो हुँदै थाइल्याण्डबाट मलेसियामा छिरे ।
मलेसिया आएकै दिन पक्राउ
एजेन्टले थाइल्याण्ड झारेपछि कुन–कुन ठाउँ लग्यो, मानबहादुरलाई पत्तो छैन । केही समय जंगलको बाटो पनि हिँडायो । अनि आएका कामदारलाई ११÷११ जनाको समूहमा छुट्यायो । करिब ६ घण्टा जति समुद्रमा डुंगा यात्रा गरायो ।डुंगाबाट ओर्लिएपछि बसमा चढाएर क्वालालम्पुर पु¥यायो । तर, जतिबेला क्वालालम्पुर झरे, त्यही दिन उनीहरु सबै जनालाई प्रहरीले पक्राउ गरयो । २२ दिनसम्म जेलमा परे । तर, पछि एजेन्टले कसरी छुटायो, उनले थाहा पाएनन् ।
काम खोज्दै हिँड्दै
२२ दिनको जेल बसाइपछि उनीहरुले काम खोज्न थाले । आएका साथीहरु पनि लाखापाखा लागिहाले । त्यतिबेला अहिले जस्तो नेपालीहरुको लागि कलिङ खुलेको थिएन । जहाँ काम पायो, त्यहीँ गर्ने चलन थियो ।कुनै कम्पनीमा एक वर्ष र कुनैमा पन्ध्र दिन गुजारे । यस्तै गरेर १९ वर्षको अवधिमा कति ठाउँमा काम गरे, मानबहादुरलाई यकिन छैन । तर, क्वालालम्पुरभन्दा बाहिर उनी कतै गएनन् मलेसिया त्यो बेला आज जस्तो विकसित भइसकेको थिएन । मोबाइल सेवाको पहुँच सीमित थियो । नेपालमा पनि आज जस्तो हात–हातमा फोन थिएनन् । त्यसैले परिवारसँग सम्पर्क गर्नेे उनको चाहना अधुरै रह्यो ।
‘बेला–बेलामा चिठी त पठाएँ, तर घरबाट जवाफ आएन’, मानबहादुरले भने ।मलेसिया आएको नौ वर्षपछि उनले पहिलो पटक घरमा सम्पर्क गरे । नौ वर्षपछि फोन आउँदा परिवार पनि निकै खुसी भयो । किनकि परिवारका सदस्यले त उनको आशा मारिसकेका थिए । परिवारले घर फर्कन आग्रह गरे, तर उनले परिवारको कुरा सुनेनन् । बरु पैसा कमाएर फर्कने भनेर परिवारलाई उल्टै झुलाइरहे । तर, पैसा कमाएर कहिल्यै पठाएनन् ।
के गरेर बिताए १९ वर्ष ?
मलेसियामा उनले १९ वर्ष क्वालालम्पुरको सेरोफेरो चहारेर बिताए । एउटा कम्पनी राम्रो भएन भन्यो अर्काेमा सर्‍यो, अर्काेमा भएन भन्यो फेरि अर्काेमा सर्‍यो । यसैगरी उनका दिनहरु बिते । पछिल्लो पटक मिनी क्यासिनो (जुवा) मा उनको लत बस्यो । कमाएको पैसा जति जुवा खेलेर सिध्याउने गरेपछि उनले परिवारलाई सम्पर्क गर्नै छाडिदिए ।मानबहादुरलाई नेपाल फर्काउन साथीहरु र घर–परिवारले निकै पहल गरे । तर, उनले सुनेनन् । तीन वर्षपछि घर फर्कने भनेर नेपाली दूतावास पुगेर यात्रा अनुमतिपत्र पनि बनाए, र पनि फर्किएनन् । फर्किने आशामा बसेको परिवारलाई उनले निराश बनाए ।
परिवारको अवस्था
मानबहादुर विदेश जाँदा लिएको सयकडा तीनका दरकोे ऋण चुलिँदै गयो । अन्ततः केही भएको जग्गा समेत बेच्नुपर्ने भयो । सुकुम्बासी अवस्थामा रहेकी गंगाले छोरो हुर्काउन निकै मिहिनेत गरिन् ।अर्काको घरमा काम गरेर छोरा पढाउन थालिन् । घरमा केही नहुँदा माइतमा समेत बसिन् । कहिले कता, कहिले कता । जता काम पायो उतै काम गर्न थालिन् । यतिबेला भने उनी नन्दले ‘आउनुस् भाउजू यहीँ बसौं’ भनेपछि नन्दसँग बसिरहेकी छिन् ।
छोरालाई बाबु चिनाइदिने रहर
गंगाको जीवनमा अब धेरै रहर मरिसकेका छन् । छोरालाई उच्च शिक्षा पढाउने रहर भए पनि आर्थिक अभावका कारण उनको इच्छा अधुरै रहेको छ । श्रीमान् फर्किएर आएपछि छोरालाई ‘यही हो तिम्रो बाबा’ भनेर चिनाउने र हामीलाई किन सम्झिएनन् भनेर सोध्न लगाउने उनको इच्छा छ ।उनी भन्छिन्– ‘मलाई त बिर्सियौ बिर्सियौ, छोरालाई पनि बिर्सियौ है भनेर भन्न मन लागेको छ ।’
जीवनमा ठूलो भूल भयो, अब गल्ती गर्दिनँ
उमेर ढल्किँदै गएपछि मानबहादुरमा पनि अब पहिलेको जस्तो जोश छैन । करिब तीन महिनादेखि उनको एकापट्टिको हर बिस्तारै चल्न छाडेको छ । शरीरले साथ दिन छाडेपछि साथीहरुको सहयोगमा उनी क्वालालम्पुरबाट नेपाल फर्कने तयारी गरिरहेका छन् ।मानबहादुरले यतिबेला आफूले जीवनमा ठूलो गल्ती गरेको महसुस गरेका छन् । परिवारलाई किन बिर्सिएको ? अनि किन पैसा नपठाएको ? उनीसँग कुनै जवाफ छैन ।‘मेरो जीवन के भयो के, आफैंलाई थाहा छैन’, आँखाभरि आँसु टलपल पार्दै उनी भन्छन्, ‘म जस्तै कसैले परिवारमा सम्पर्क गर्नुभएको छैन भने सम्पर्क गर्नुस् । म अब नेपाल फर्किएर नयाँ जीवन जिउँछु ।’
सहयोगी हातहरु
मानबहादुरलाई नेपाल फर्काउन उनलाई चिन्ने साथीहरुले सहयोग गरिरहेका छन् । उनकै गाउँका बाबुराम चौधरी र बाग्लुङ खुगाका कर्णबहादुर बुढाथोकीले उनलाई सघाइरहेका छन् ।उनीहरु भन्छन्, ‘परिवारको आग्रह र उनको अवस्था देखेर सहयोग गरिरहेको अनलाइन खबरमा समाचार छ  । नेपाल पठाउने सबै प्रक्रिया पूरा भएको छ । अब टिकटको खोजी गरिरहेका छौं ।’

No comments:

Post a Comment